मकवानपुरमा पाँच सवारी साधनमा तोडफोड

हेटौंडा, ५ जेठ । मकवानपुरमा राप्रपा नेपालका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै पाँच वटा सवारी साधनमा तोडफोड गरेर क्षती पुराएका छन् ।
बिहानैदेखि बन्द कर्ता सडकमा उत्रिदा जिल्लामा सञ्चालित विद्यालय, कलकारखाना, हेटौंडा बजार र यातायात पूर्ण रुपमा ठप्प बनेको छ । बन्दको अवज्ञा गरेर सवारी साधन सञ्चालन गरेको भन्दै बन्दकर्ताले पूर्व पश्चिम महेन्द्र राजमार्गको रातोमाटे चेकपोष्ट नजिकै एक ट्रिपर, दुई ट्याक्टर र ट्रकमा क्षती पुराएका छन् । हेटौंडा बजार क्षेत्रमा पनि बन्द समर्थकले एक मोटरसाईकलमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
बन्द कर्ता पूर्व पश्चिम महेन्द्र राजमार्गको रातोमाटे चेकपोष्ट, हेटौंडा बजार क्षेत्रका मुख्य चोंक र हेटौंडा नारायणगढ सडक खण्डको बसामाडी र सदरमुकाम हेटौंडा पस्ने चारै क्षेत्रका नाकामा बसेर सवारी आवागमनमा रोक लगाएका छन् ।
प्रहरीले रातोमाटे चेकपोष्टमा आईपुगेका २० वटा वसलाई स्कटिङ गरी हेटौंडा बसपार्कसम्म ल्याएको थियो । बसमा भारतीय तिर्थयात्री सवारी छन् ।
बन्दमा अराजक गतिविधि हुन नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया