चमेलियाबाट फर्कर्ने चिनियाँ कामदारको चेतावनी

काठमाडौं, ५ जेठ । चमेलिया जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ नागरिकले खाद्यान्न र काम गर्नका लागि कच्चापदार्थको अभाव भएको भन्दै आयोजना छाड्ने चेतावनी दिएका छन् ।

अखण्ड सुदूरपश्चिम र थारू प्रदेशको माग गर्दै विगत २० दिनदेखि सुदूरपश्चिम बन्द भएको कारण खाद्यान्न संकट पर्न थालेपछि उनीहरूले आयोजनाको काम छाडी फर्कने चेतावनी दिएका हुन् । नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखी छाड्ने चेतावनी दिएको प्राधिकरण उत्पादन निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डेले जानकारी दिए ।
‘खाद्यान्न र कच्चापदार्थ अभावका कारण केही काम गर्न नसकेपछि आयोजना छाड्ने गरी पत्र नै लेखेका छन्,’ उनले थपे, ‘आयोजनाका लागि आवश्यक कच्चापदार्थ र खाद्यान्नसमेत पठाउन सकिएको छैन ।’
चमेलिया जलविद्युत् आयोजनामा मुख्य सिभिलको काम गरिरहेको चाइना गेजुवा वाटर एन्ड कम्पनीमा पाँच सयभन्दा बढी चिनियाँ नागरिक कार्यरत छन् । बन्दका कारण २० दिनदेखि कुनै सामान उनीहरूले लान पाएका छैनन् । ‘सामान्य खानेकुराको समेत हाहाकार भइसक्यो, खाद्यान्न र कच्चापदार्थ लैजानका लागि गरिएको प्रयास पनि सफल भएको छैन,’ आयोजना प्रमुख गोपालबाबु भट्टराईले भने, ‘उनीहरूले बारम्बार हामीलाई खानेकुरादेखि कच्चापदार्थको व्यवस्था गरिदेऊ भनिरहेका छन् तर हामीले व्यवस्था गर्न सकेका छैनौँ ।’ उनका अनुसार आयोजनास्थलमा खाना पकाउने ग्यास सकिएकाले दाउरामा पकाउन थालिएको छ भने बिहान बेलुकाको खानेकुरा पनि सकिने अवस्थामा पुगेको छ । बन्दकै कारणले चिनियाँ कम्पनीलाई दिने रकमसमेत आयोजनाले दिन सकेको छैन ।
डिजेल, सिमेन्ट, छडलगायत कच्चापदार्थ अभावले आयोजनाको काम ठप्प भइसकेको छ भने खाद्यान्न अभावले भोकमरीको समस्या बढ्ने सम्भावना देखिएको छ । चिनियाँसहित करिब दुई हजार कामदार आयोजनामा सक्रिय छन् । काम ठप्प हुन थालेपछि केही नेपाली कामदार भने आ–आफ्ना घर फर्किसकेका छन् । फर्कने मनस्थितिमा पुगेका चिनियाँलाई जानका लागि समेत समस्या देखिएपछि उनीहरूले प्राधिकरणसँग गुहार मागेका हुन् ।
‘विदेशबाट काम गर्नका लागि आएका नागरिकले समेत खाद्यान्न र कच्चापदार्थ अभावले आयोजना नै छाडेर हिँड्छु भन्नु गम्भीर कुरा हो,’ प्राधिकरणका एक उच्च कर्मचारीले भने, ‘एकातिर बन्दले काम ढिलो हुँदा लाखौँ घाटा छ, अर्को विदेशी नागरिकले समेत नेपालको बेथितिको शिकार बन्नुपरेको छ, यो बिडम्बना हो ।’
धनगढीबाट डडेल्धुरा, बैतडी, डोटी हुँदै सामान दार्चुला लैजानुपर्छ । ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी खाद्यान्नलगायत सामान लैजाने प्रयास भए पनि सफल नभएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार डिजेल अभावमा विद्युत् गृहमा जम्मा भएको पानी फाल्न नसक्दा विद्युत्गृह डुब्ने अवस्थामा पुगेको छ भने टनेलभित्र जमेको पानी पनि बाहिर निकाल्न सकिएको छैन । निर्माणमा २८ महिना ढिला र विभिन्न बाधाअवरोधका कारण चमेलिया जलविद्युत् आयोजनाको लागत ४ अर्ब रुपैयाँ बढेको छ । जनवरी २००७ मा सुरु भएको आयोजना २०११ मा निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । काम ठप्प हुँदा आयोजनाको कार्यतालिका नै प्रभावित हुने देखिएको छ । आयोजनाका अनुसार सुरुङ निर्माण सकिएको छ भने विद्यृत् गृहको निर्माण कार्य ८७ प्रतिशत र बाँध निर्माण ५२ प्रतिशत सकिएको छ । सुदूरपश्चिमको एक मात्र निर्माणाधीन ३० मेगावाटको सो आयोजना दार्चुलाको शिखर गाविसमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया