चिनियाँ सेनाले सीमा उल्लंघन गरेको आरोप

नयाँदिल्ली, ५ जेठ । दुई वर्षभित्र चीनले भारतसँगको सीमा पाँच सयपटक उल्लंघन गरेको आरोप भारतले लगाएको छ । सन् २०१० को जनवरीयता चिनियाँ फौजले दुई देशबीचको चार हजार ५७ किलोमिटर लामो सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएओसी) पाँच सयपटक उल्लंघन गरेको आरोप भारतले
लगाएको हो ।
भारतीय गृहराज्यमन्त्री मुल्लापाल्ले रामाचन्द्रनले यस्तो आरोप लगाएका हुन् । चीनले ‘अन्तरसीमा आक्रमकता’ प्रदर्शन गरेको प्रसंग उठेपछि उनले सन् २०१० मा दुई सय २८, सन् २०११ मा दुई सय १३ र त्यसयता ६४ पटक चीनले सीमा उल्लंघन गरेको स्वीकार गरेको भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले बिहीबार जनाएको छ ।
‘चिनियाँ आक्रमकता’ प्रति भारत सरकार नरम भएको भन्दै भारतीय सञ्चारमाध्यमले आलोचना गरेका छन् । सीमावर्ती क्षेत्रमा चिनियाँ सैनिकको घुसपैठलाई भारत सरकारले ‘बुझाइको भिन्नता’को उपज दिएको भन्दै टाइम्स अफ इन्डियाले असन्तुष्टि पोखेको छ ।
चीनले सीमा मिचेको प्रसंग उठेपछि भारतीय रक्षामन्त्री एके एन्टोनीले बुधबार राज्यसभामा भारतीय फौजले पनि सीमावर्ती इलाकामा गस्ती जारी राखेको बताएका छन् । तर, विगत पाँच वर्षयता चिनियाँ सैनिकले सीमा उल्लंघन गर्ने क्रम स्थापितजस्तै भएको उनले पनि स्वीकार गरेका छन् ।
तिब्बतमा चीनले सैन्य पूर्वाधारको अभूतपूर्व विकास गरेकाले भारतीय भूमिमा घुसपैठ गर्न उसले हौसला पाएको भारतीय विश्लेषकहरूको बुझाइ छ । तिब्बतमा चीनले पाँचवटा हवाईअड्डा, बृहत् रेल सञ्जाल र ५८ हजार किलोमिटर लामो सडक निर्माण गरेको बताइन्छ । भारतमाथि सैन्य दबाब ‘लाद्ने’ उद्देश्यले चीनले यी पूर्वाधार विकास गरेको आरोप भारतीय विश्लेषकहरूको छ । यसबाहेक भारततर्फ लक्षित गरीे चीनले तिब्बतमा विभिन्न क्षेप्यास्त्र तैनाथ गरेको बताइन्छ ।
स्मरण रहोस्, भारतले एलएओसीलाई आधिकारिक चीन–भारत सीमा मान्दै आए पनि चीनले अस्वीकार गर्दै आएको छ । एलएओसीअनुसार कतिपय चिनियाँ भूभाग भारतमा गाभिएको भन्दै चीनले असन्तुष्टि व्यक्त गर्दै आएको छ । हाल भारतीय प्रशासनअन्तर्गत रहेको अरुणाचलप्रदेशमाथि चीनले सार्वभौमिकता दाबी गर्दै आएको छ । तर, भारतले भने चिनियाँ दाबी अवैधानिक भएको बताउँदै चीन अधीनस्त क्षेत्र अक्साई चीनले आफूबाट जबर्जस्ती हडपेको आरोप लगाउने गरेको छ । एजेन्सी

प्रतिक्रिया