अञ्चल अस्पतालमै हुँदैन शल्यक्रिया

नेपालगन्ज, ५ जेठ । डाक्टरको राजीनामापछि भेरी अञ्चल अस्पताल नेपालगन्जले दुई सातादेखि शल्यक्रिया सेवा दिन सकेको छैन ।

बिरामीलाई बेहोस बनाउने चिकित्सक (एनेस्थेटिक) को व्यवस्था नभएपछि अस्पताल प्रशासनले २१ वैशाखदेखि शल्यक्रिया सेवा बन्द गरेको हो ।
सुत्केरी व्यथाका गर्भवती, पत्थरी, मृगौला र पेटसम्बन्धी जटिल रोगका शल्यक्रियाका लागि अस्पताल आएका बिरामीलाई अस्पतालले निजी अस्पतालमा रिफर गर्दै आएको छ । शल्यक्रिया हुन छाडेपछि भेरी अञ्चल अस्पतालका बेड खाली र कोठा रित्ता भएका छन् । अस्पतालमा गत साउनदेखि मंसिरसम्म पाँच सय ७१ बिरामीको शल्यक्रिया गरेको तथ्यांक छ ।
शल्यक्रिया गर्दा बेहोस बनाउने चिकित्सक डा. निर्मल ज्ञवालीले वैशाखमा राजीनामा दिएपछि अस्पताल प्रशासनले अर्को चिकित्सकको व्यवस्था गर्न नसकेको हो । अस्पतालमा बेहोस बनाउने तालिम लिएका तीन सहायक भए पनि उनीहरूको सीप उपयोग भएको छैन । सहायकले बेहोस गराउँदा अस्पताल प्रमुखले जिम्मा लिनुपर्ने भए पनि प्रमुख डा.नरेन्द्र रायले जिम्मा लिन नमानेपछि शल्यक्रियाको काम रोकिएको हो ।
अस्पतालका प्रमुख डा. रायले बेहोस बनाउने चिकित्सकको व्यवस्था गर्न प्रयास गरिएको र चाँडै शल्यक्रिया सेवा सुचारु हुने बताए ।

प्रतिक्रिया