लागुऔषधका भरियामात्रै पक्राउ

दाङ, ५ जेठ । ‘प्याकेटभित्र के छ, मलाई थाहा छैन,’ लागुऔषध चरेससहित पक्राउ परेर जेलजीवन बिताइरहेकी घोराही मसिनाकी थमी विकले भनिन्, ‘धेरै पैसा पाउने लोभमा चरेसको झोला पो बोकिएछ ।’

दाङबाट नेपालगन्ज हुँदै भारतको सीमा कटाएबापत १० हजार रुपियाँ पाइने भएपछि विक चरेस राखिएको झोला बोक्न तयार भएकी थिइन् । सुकुम्बासी परिवारकी विकलाई झोलामा चरेस छ भन्ने थाहै थिएन । चरेससहित पक्राउ परेर प्रहरीले सार्वजनिक गर्दा बेहोसजस्तै भएकी विक अहिले लागुऔषध ओसारपसार मुद्दमा जेलमा छिन् ।
‘दिनभर काम गरेर एक छाक जुटाउन मुस्किल थियो,’ उनले भनिन्, ‘दाङबाट नेपालगन्ज हुँदै भारतीय सीमा कटाएबापत १० हजार रुपियाँ पाउने लोभ देखाएर चरेस बोकाएर जेलमा सडाइदिए ।’ पतिले छाडेपछि तीन छोराछोरी पाल्ने चटारोमा विकले यो काम गरेको बताइन् ।
लागुऔषध कारोबारमा पक्राउ पर्ने, जेल जाने, मुद्दा खेप्नेमा विकजस्तै निम्नवर्गका महिला बढी छन् । प्रहरीका अनुसार लागुऔषध कारोबारमा पक्राउ पर्ने भरियामात्र हुन् । ‘अहिलेसम्म ओसारपसारमा संलग्न मात्र पक्राउ परेका छन्,’ एसपी गणेशबहादुर ऐर भन्छन्, ‘उनीहरूमार्फत नै मुख्य कारोबारीसम्म पुग्ने प्रयास गरिरहेका छौँ ।’
पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संख्यामा वृद्धिसँगै कारोबार पनि बढेको छ । कारोबारसँगै लागुपदार्थ ओसारपसारमा महिला, बालबालिका र वृद्धको प्रयोग पनि बढेको छ । ‘ओसारपसारमा बढीजसो महिला र बालबालिका प्रयोग भएका छन्,’ इन्स्पेक्टर प्रकाश मल्ल भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएका वृद्ध र महिलालाई प्रयोग गरेर लागुऔषध ओसारपसार भइरहेको छ ।’
धर्ना–३ का ४९ वर्षीय कृष्णबहादुर घर्ती दुई किलो चरेससहित घोराहीमा समातिए । आर्थिक अवस्था कमजोर भएका घर्ती पनि भरियामात्र थिए । आफूले बोकेको वस्तु कुन ठाउँ पुग्छ र के गरिन्छ उनलाई थाहा थिएन । लागुऔषध नियन्त्रण ऐन–२०३३ का अनुसार एक सय ग्रामभन्दा बढीमा ओसारपसारमा संलग्न हुनेलाई आजीवन कैद र पाँचदेखि २५ लाख रुपियाँसम्म जरिवाना हुन्छ । २५ ग्रामभन्दा कममा संलग्नलाई पाँच वर्षसम्म मात्रै कैद सजायको व्यवस्था छ तर कानुनले तोकेअनुसार जेल पर्नेमा भरिया बनेका वृद्ध र महिलामात्र छन् ।
दाङमा प्रहरी लागुऔषधका मुख्य कारोबारीसम्म पुग्न सकेको छैन । गाँजा, चरेसलगायत लागुऔषध रुकुम, रोल्पा, प्युठान र सल्यानमा उत्पादन हुने गरेको प्रहरीको दाबी छ । त्यहाँ उत्पादित लागुऔषध भरियामार्फत दाङ हुँदै भारत पुग्ने गरेको छ । भारतबाट यिनै भरिया खैरो हिरोइनलगायत लागुऔषध नेपालमा ल्याउने काममा प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया