परीक्षार्थी र पर्यवेक्षक एउटै उमाविका

बाग्लुङ, ५ जेठ । म्याग्दीको भानु उच्च माध्यमिक विद्यालय (उमावि)का कक्षा ११ का विद्यार्थीको परीक्षा केन्द्र बेनी सामुदायिक उमाविमा परेको छ । उक्त परीक्षा केन्द्रमा पर्यवेक्षकसमेत भानु उमाविकै शिक्षक भरत खत्री छन् ।

यति मात्र कहाँ हो र † म्याग्दीकै प्रकाश उमावि, बाग्लुङका विद्यामन्दिर उमाविलगायत पश्चिमाञ्चलका अधिकांश परीक्षा केन्द्रमा परीक्षार्थी र पर्यवेक्षक एउटै उमाविबाट रहेको पाइएको छ । उच्च माध्यमिक शिक्षा परिषद्को पोखरा कार्यालयको हेलचेक्रयाइँका कारण धेरै ठाउँमा यस्तो अवस्था आएको हो । पर्यवेक्षक र परीक्षार्थी एउटै उमाविका हुँदा पर्यवेक्षकले आºना विद्यार्थीलाई छुट र अरू विद्यालयकालाई कडाइ गर्ने गरेको केन्द्राध्यक्ष बताउँछन् । नियमानुसार पनि पर्यवेक्षक र परीक्षार्थी एउटै विद्यालयको राख्न पाइँदैन ।
बेनी सामुदायिक उच्च माविका केन्द्राध्यक्ष दीपक श्रेष्ठले कुनै पनि विद्यालयका विद्यार्थी सहभागी भएको परीक्षा केन्द्रमा सोही विद्यालयबाट पर्यवेक्षक राख्नु गलत भएको बताए । ‘एउटै विद्यालयका परीक्षार्थी र पर्यवेक्षक राख्दा भेदभाव हुने गरेको छ,’ केन्द्राध्यक्ष श्रेष्ठले भने ।
बाग्लुङको विद्यामन्दिर उमाविमा अमृत आदर्श उमाविको परीक्षा केन्द्र परेको छ । सो परीक्षा केन्द्रमा पर्यवेक्षकका रूपमा अमृत आदर्शकै शिक्षक भोजेन्द्र थापा खटिएका छन् ।
कतिपय ठाउँमा जटिल विषयमा ट्युसन पढाएका शिक्षकसमेत विद्यार्थीको केन्द्र परेको विद्यालयमा पर्यवेक्षकका रूपमा खटिएका छन् । ‘पैसा लिएर ट्युसन पढाएका शिक्षक पर्यवेक्षक र ट्युसन पढेका विद्यार्थी परीक्षार्थी भएको पाइएको छ,’ श्रेष्ठले भने, ‘यस्तो कुरालाई ख्याल नगर्नु परिषद्को पोखरा कार्यालयको लापरबाही हो ।’
परिषद्को पोखरा कार्यालय प्रमुख विजेन्द्र राईले परीक्षार्थी र पर्यवेक्षक एउटै विद्यालयबाट पर्नु त्रुटि भएको स्विकारे । ‘परीक्षार्थी र पर्यवेक्षक एउटै विद्यालयको राख्न पाइँदैन,’ कार्यालय प्रमुख राईले सौर्यसँग भने, ‘यो त्रुटि भयो ।’ राईले कक्षा १२ को परीक्षाका क्रममा यस्तै गुनासो आएका ठाउँमा पर्यवेक्षक परिवर्तन गरिएको जानकारी दिए । उनले भने, ‘यस्तो त्रुटि सच्याउनुपर्छ तर परिस्थिति जटिल छ ।’ काममा लापरबाही गरे पनि बन्द–हडताललाई कारण देखाउँदै उनले अवस्था जटिल रहेको उनको भनाइ छ ।
पोखरा कार्यालयले थोरै क्षमता भएको उमाविमा धेरै र धेरै क्षमता भएको उमाविमा कम परीक्षार्थी पारेको छ । कतिपय उमाविले आºनो भवनमा परीक्षार्थी नअटेपछि नजिकैका निजी विद्यालयमा राखेर परीक्षा लिइरहेका छन् ।
गत ३१ वैशाखमा सुरु भएको कक्षा ११ को परीक्षा १० जेठसम्म सञ्चालन हुनेछ । परीक्षामा देशभरबाट चार लाख ६२ हजार १५ परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया