भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं, ४ जेठ । नेपाल भलिबल संघले वुधबार वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संघको पांचौ साधारणसभामार्फत गत २७ चैतमा दानबहादुर तामाङको अध्यक्ष्यतामा निर्वाचित नयाँ कार्यसमितिले वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले वर्षभरि विभिन्न आठ कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रमअन्तर्गत दोस्रो राष्ट्रिय महिला बीच भलिबल प्रतियोगिता
(२७–२९ जेठ), एनभिए कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता (भदौ अन्तिम साता), भलिबल महोत्सव (युथ फेस्टिबल) पाँचै विकास क्षेत्रमा (२० असोज), २७आंै पुरुष तथा १७आं महिला राष्ट्रिय भलिबल प्रतियोगिता (मंसिर पहिलो साता), राष्ट्रिय लिग भलिबल प्रतियोगिता
(माघ पहिलो साता), अन्तरकलेज राष्ट्रव्यापी खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता (फागुन पहिलो साता) र वर्षखेलाडी घोषणा एवं सम्मान कार्यक्रम (वर्षको अन्त्यमा) छन् ।
‘निर्धारित कार्यक्रम जसरी पनि गरेर छाड्छौं,’ संघका महासचिव जितेन्द्रबहादुर चन्दले भने, ‘विगतकै कतिपय कार्यक्रमको निरन्तरता भए पनि कार्यान्वयन भएको अवस्थामा अहिले पनि यी कार्यक्रम उत्तिकै महत्त्वपूर्ण हुन् ।’ यसका लागि संघले राखेपसँग करिब सवा दुई करोड रुपियाँको बजेट पेस गरेको छ । ‘प्रस्तावित सबै रकम पाइँदैन, यसमा ५०/६० लाख रुपियाँ पाइए पनि त्यसले धेरै राहत दिनेछ,’ संघका अध्यक्ष दानबहादुरले भने ।
यति धेरै कार्यक्रम एक वर्षमा सम्पन्न भएको भलिबल संघसँग ‘रेकर्ड’ नै छैन । राष्ट्रिय लिग भलिबल पहिलोपटक आयोजना हुन लागेको हो जसमा नयाँ, पुराना बलिया क्लबहरूको सहभागिता रहनेछ ।
संघको पहिलो प्राथमिकता राष्ट्रिय टिम तयार गर्नु रहेको महासचिव जितेन्द्रले बताए ।
‘अहिले हाम्रो पहिलो लक्ष्य राष्ट्रिय टिमलाई तयारी अवस्थामा राख्नु हो,’ उनले भने । यसका लागि नेपाल आर्मीका खेलाडीलाई समेत सहभागी गराउने गरी एनभिए कप आयोजना गर्न लागेको र त्यसबाट आर्मीका खेलाडीलाई पनि राष्ट्रिय टिममा राख्ने बताए । ‘छैटौं राष्ट्रिय खेलकुदमा आर्मीका खेलाडी सहभागी भएनन्,’ जितेन्द्रले भने, ‘तर आर्मीमा पनि राम्रा भलिबल खेलाडी छन् ।’
तर आसन्न दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन छैटौं राष्ट्रिय खेलकुदमा अनिवार्य सहभागी हुनुपर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको थियो । अध्यक्ष दानबहादुरले नयाँ कार्यसमिति बैठकले केही दीर्घकालीन योजनासमेत बनाएको जानकरी दिंदै ६ वर्षभित्र सार्कस्तरमा पदकको दाबेदार हुने, पाँच वर्षभित्र सार्कक्षेत्रमा महिला बीच भलिबलमा बलियो उपस्थिति देखाउने, ५–७ वर्षमा छुट्टै कभर्डहल बनाउने लक्ष्य रहेको बताए । केन्द्रसँगै क्षेत्र र जिल्लाले गर्ने कार्यक्रमलाई भलिबल संघले वार्षिक क्यालेन्डरसहित बाहिर ल्याएको छ ।

प्रतिक्रिया