नेपाली रुपियाँ अहिलेसम्मकै सस्तो

काठमाडौं, ४ जेठ । अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँ अहिलेसम्मकै सबैभन्दा कमजोर भएको छ । बुधबार भारतीय रुपियाँ (भारु) अमेरिकी डलरको तुलनामा कमजोर भएको र नेपाली रुपियाँको विनिमय दर भारुसँग स्थिर रहेकाले अमेरिकी डलर नेपाली रुपियाँको तुलनामा महँगो भएर नेपाली रुपियाँ कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलर बराबर ८७ रुपियाँ २८ पैसा विनिमय दर तोकेको छ ।
यसअघि गत वर्षको मंसिर अन्तिम साता डलरको भाउ ८६ रुपियाँसम्म पुगेको थियो । त्यसैगरी, सोही वर्ष मंसिर ७ गते डलरको भाउ सबैभन्दा बढी ८४ रुपियाँ २० पैसासम्म पुगेको थियो । त्यसैगरी, साउन १२ गते ७० रुपियाँ ७० पैसा रहेको डलरको भाउ मंसिर २७ सम्म आइपुग्दा तीन महिनाको अवधिमा करिब १५ रुपियाँले महँगो भएको छ ।
नेपालमा भारतीय रुपियाँको बजारको आधारमा डलरको भाउ तोक्ने गरिन्छ । मंगलबार अमेरिकी डलर बराबर ५४ रुपियाँ ४६ पैसा कारोबार भएको भारतीय न्युज एजेन्सीहरूले जनाएका छन् । यस वर्षको मार्च महिनादेखि भारतीय रुपियाँ एसियाली मुद्रा बजारमा सबैभन्दा खराब प्रदर्शन गर्ने मुद्राको रूपमा लिइएको छ । भारतको आर्थिक वृद्धिमा गिरावट, अत्यधिक आयात, विरोधाभाषपूर्ण कर नीति र अस्थिर नियमन प्रणालीका कारण गत वर्षदेखि भारतीय मुद्रामा गिरावट जारी छ । रिजर्भ बैंक अफ इन्डियाको लगातारको प्रयासका बाबजुद पनि भारतीय रुपियाँको गिरावटमा कमी आएको छैन । भारु गत फेब्रुअरीको तुलनामा १० प्रतिशतले गिरावट आइसकेको छ । सन् २०१३ को भारतीय बजेटमा नीतिगत सुधारमा अनिच्छा व्यक्त गरिएका कारण सन् २०१४ को भारतीय निर्वाचनअगाडि अमेरिकी डलरको तुलनामा भारुको गिरावट कायमै रहने बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । भारतीय सरकारले सन् २०१३ को मार्चमा सकिने आर्थिक वर्षका लागि बजेट घाटा कुल गार्हस्थ उत्पादनको ५ दशमलब १ प्रतिशत हुने अनुमान गरेको छ । ‘सरकारले वित्तीय एकीकरणको कुरा मात्र गर्ने गरेका छन् । बजेट घाटा कम गर्ने विषयमा कुनै कदम चालेका छैनन्,’ बैंक अफ बरोडाका प्रमुख अर्थशास्त्री रूपा रेगे नित्सुरेले भने ।
अमेरिकी डलरको मूल्य बढ्दा सामान्यतया नेपालमा आयात गरिने सामानको मूल्य बढ्छ । यसले भारतीय भूमिमा नै उत्पादन हुने सामग्रीमा भने खासै फरक पर्दैन । तर, भारतबाट सबैभन्दा बढी मात्रामा भित्रिने पेट्रोलियम पदार्थमा भारतले पनि तेस्रो मुलुकबाट आयात गरेर नेपालमा बिक्री गर्ने हुँदा नेपाल आयल निगमको घाटा झनै बढ्नेछ । नेपालको कुल निर्यातबाट आएको रकम मुलुकको पेट्रोलियम आयात धान्न पनि अपर्याप्त छ । महँगिदै गएकाले डलर मूल्यले निगमको घाटा अझै बढाउने विज्ञहरूले बताएका छन् ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गरेको खिम्ती र भोटेकोसीको बिजुली अझ महँगो हुनेछ । प्राधिकरणको कुल विद्युत्को ४० प्रतिशत आपूर्ति यी दुई आयोजनाले गर्दै आएका छन् । डलर महँगिदै जाँदा देशको बजेटमा पनि असर पर्नेछ । ऋणको सावाँ र ब्याज भुक्तानीका लागि छुट्याइएको रकम अपुग हुने हुँदा अन्य शीर्षकको बजेट रकमान्तर गरेर वा अन्य शीर्षकमा छुट्याइएको बजेट कटौती गरेर भए पनि खर्च गर्नुपर्ने स्थितिको सिर्जना हुन सक्ने ती विज्ञले जानकारी दिए ।
अमेरिकी डलर महँगो हुँदाको प्रत्यक्ष फाइदा भने वैदेशिक रोजगारमा गएका नेपाली दाजुभाइलाई हुनेछ । विदेशमा काम गर्दा सोही बराबरको डलर पठाए पनि नेपाल आउँदा ती रोजगारमा गएकाका आश्रितले बढी रुपियाँ पाउन सक्ने देखिएको छ । यसबाट नेपालको रेमिट्यान्स आप्रवाह अझ बढ्ने निश्चित छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकले २ सय १७ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्सका रूपमा मुलुकमा भित्रिएको छ । त्यसैगरी, पर्यटन क्षेत्रसँग सम्बन्धित होटल व्यवसायी, ट्राभल एन्ड टुर व्यवसायी भने डलर महँगिदा फाइदामा नै रहनेछन् । अर्थविद् डा. चिरञ्जीवी नेपाल डलर बढ्दा नेपालमा महँगी झन् बढ्ने बताउँछन् । नेपालमा उत्पादन एकदम न्युन भएकाले डलर बढ्दा आफ्नो प्रतिस्पर्धी क्षमता बढ्ने भए पनि त्यस्तो सुविधा नेपालले उपभोग गर्न नपाउने उनी बताउँछन् ।

प्रतिक्रिया