द्वन्द्वको समाजशास्त्र र द्वन्द्वोत्तर समाजका चुनौती

भनिन्छ द्वन्द्व मानवीय स्वभाव हो । तर, कुनै पनि मानवशास्त्रीय वा समाजशास्त्रीय सिद्धान्त एवं विचारधारासँग यो भनाइ मेल खाँदैन । बरु समाजशास्त्रीहरूको विचारमा द्वन्द्व एक सामाजिक प्रवृत्ति हो । किनभने कुनै पनि व्यक्तिले जन्मदैँ युद्ध गर्न सिकेर आएको हुँदैन, जसलाई उन्नाइसौं शताब्दीका प्रसिद्ध विचारक कार्ल माक्र्सलगायत अन्य समाजशास्त्रीहरूले आफ्ना सिद्धान्तमार्फत अझ बढी प्रस्ट्याएका छन् । सामाजिकीकरणको प्रक्रियामा कुनै पनि व्यक्तिले विविध प्रवृत्तिहरू जस्तै: रिसाउने, खुसी हुने, दु:खी हुने, अरूलाई हानि पुर्‍याउने काम आदि समाजमै बसेर सिक्दै जान्छ । त्यसैले मानिसलाई समाज र संस्कृतिको निर्माण वा उपज पनि भनिन्छ । यसर्थ प्रकृतिसँग मानवीय स्वभावको साइनो गाँस्ने काम त्यति सजिलो छैन ।
हिंस्रक हुनु वा हिंसा रुचाउनु मानिसको जन्मजात स्वभाव होइन, यो त समाज र संस्कृतिको व्यक्तिमा पर्ने छाप हो । यदि यस भनाइलाई सत्य मान्ने हो भने मान्छेलाई मायालु तथा हिंस्रक दुवै बनाउन सकिन्छ । जस्तै पुरुषको स्वभाव हिंस्रक हुने अनि महिलाको चाहिँ मायालु हुने यो जन्मसिद्ध कुरा होइन, बरु संस्कारजनित हो । यो सबै लालन–पालनका कारणले हुने गर्छ । किनभने कुनै व्यक्ति आफू बस्ने समाजका मूल्य एवं मान्यताहरूका अधीनमा हुने गर्छ । त्यसैले समाजले महिला र पुरुषका लागि फरक–फरक मूल्य मान्यताको विकास गरेको हुन्छ र सोहीअनुरूपका भूमिकाहरूको अपेक्षा गर्दछ, जसलाई हामी लैंगिक विभेद पनि भन्छौँ, जुन पूरा गराउनका लागि विविध संयन्त्र जस्तै प्रथा, परम्परा, रीतिरिवाज, भाषा, धर्म, भेषभूषा आदिमार्फत उनीहरूलाई सोहीअनुरूपका संस्कारहरूमा अभ्यस्त गराइन्छ । यो समाज र समूहपिच्छे फरक हुन सक्छ । जस्तो पूर्वीय समाजमा भन्दा पश्चिमा समाजका महिलाले बढी स्वतन्त्रताको उपभोग गर्न पाउनु पनि संस्कारजनित नै हो । प्रसिद्ध मानवशास्त्री मार्गरेट मिडले संस्कृति र मानवीय स्वभावको सम्बन्धका बारेमा अध्ययन गर्ने क्रममा प्रशान्त महासागरीय टापुमा बस्ने केही आदिवासी समुदायहरूमा पुरुषभन्दा महिला बढी हिंस्रक, सार्वजनिक सम्बन्धहरूमा अगाडि रहेका तथा बन्द व्यापार आदि कार्यमा पनि महिला नै एक टापुबाट अर्को टापुमा जाने गरेको पाएकी थिइन् ।
हिन्दू धर्मशास्त्रहरूमा हिंसालाई मानवताको शत्रु तथा आसुरी प्रवृत्तिका रूपमा वर्णन गरेको पाइन्छ । त्यसो त सबै धर्मका मूल ग्रन्थहरू हिंसाविरोधी नै छन् । मानव सभ्यताको चरम विकास पनि हिंसालाई त्यागेर अहिंसालाई अपनाएको क्षणदेखि सुरु हुने दार्शनिकहरूको मत रहेको पाइन्छ । र, सो लक्ष्य प्राप्तिको मार्गमा उद्यत रहनु नै हरेक सभ्य समाजको गुण एवं सौन्दर्य हो । सभ्य र सुसंस्कृत समाजमा कम हिंसा हुनु यही कारणले पनि हुन सक्छ । अब हिंसालाई प्रकृतिभन्दा बढी संस्कृति हो भन्नलाई कन्जुस्याइँ गरिरहनु पर्दैन । उसोभए युद्ध किन गरिन्छ त ? युद्ध त्यसमा सामेल हुने पक्षहरूको अहंको तुष्टिका लागि लडिन्छ । इतिहासले यही भन्छ । मानव सभ्यतामा आजसम्म हजारौं युद्ध लडिएका छन्, लडिँदै छन् र भोलि पनि लडिन सक्छन्, जसले करौडौं निर्दोषहरूको ज्यान लिएको छ । तर, आधुनिक समाजका शान्तिकामी अभियन्ताहरूको ध्येय युद्धलाई सकेसम्म रोक्नु, नसके युद्धबाट हुन सक्ने सम्भावित नोक्सानीहरूलाई कम गराउनु रहेको देखिन्छ । युद्धले जनधनको अपूरणीय क्षति त गराउँछ नै त्यसभन्दा बढी यसले बाँच्नेहरूलाई असीम र अकथ्य पीडा दिन्छ । मर्नेहरू मरेर गए पनि बाँच्नेहरूलाई मरीमरीकन बाँच्न बाध्य तुल्याउनु यसको सबैभन्दा घातक पक्ष हो ।
अब यति सबै हुँदाहुँदै पनि मानिस किन शान्तिको सट्टा युद्ध रोज्छ त ? किन आफ्ना बन्धु बान्धवहरूलाई सिध्याएर आफ्नो मात्रै सुखद् भविष्यको कल्पना गर्छ त ? यो पक्कै पनि सोचनीय पक्ष हो । समाजशास्त्रीहरूसँग पनि यसको जवाफ शायदै होला । तर, आजसम्म विकसित हाम्रो ज्ञानशास्त्रमा अरूलाई उचित स्थान नदिँदा वा आफूजस्तै नमान्दा त्यसले अपहेलित पक्षमा द्वेष पैदा गर्ने र त्यही द्वेषले पछि हिंसाको रूप ग्रहण गर्ने उल्लेख छ । त्यो धेरै हदसम्म साँचो पनि हो । तर, द्वेषलाई प्रेमले जित्न सकिने कुरा पनि उत्तिकै सत्यका रूपमा स्थापित छ अथवा हिंसामाथि अहिंसाको विजय सम्भव छ । युद्धको औचित्य प्रमाणित गर्न गाह्रो छ । तथापि युद्ध नाइकेहरू सो साबित गर्ने दुष्प्रयास गर्दछन् । युद्धको औचित्य किन पनि प्रमाणित गर्न सकिँदैन भने यसले कहिल्यै पनि चाहेको परिणाम दिँदैन तथा निर्दोष जनलाई दु:ख, पीडा र कष्ट मात्र दिन्छ । बहुसंख्यक जनता युद्ध चाहँदैनन् । तर पनि तिनीहरू नै युद्धको पीडा सहन बाध्य तुल्याइन्छन् । निर्दोष एवं निहत्था जनताले असह्य बेदनामा बाँच्नु नै हरेक युद्धको नियति हो ।
नेपाली समाज पनि यही नियति भोग्दै छ । परिवर्तनको नाममा भएको दसवर्षे सशस्त्र द्वन्द्वपश्चात् मुलुक फेरि एकपटक शान्ति एवं विकासको बाटोतर्फ लम्कने जुन अपेक्षा आमजनतामा थियो त्यसमाथि तुषारापात हुने संकेतहरू दैखिँदै छन् । हजारौँ मानवीय धनको क्षति, अगणित सम्पत्तिको नाश, सयौँको स्थिति अझै अज्ञात आदि हामीले भोगिरहेको आजको यथार्थ हो । तर, विगतको द्वन्द्वकालमा राज्य एवं विद्राही दुवै पक्षबाट भएका निर्दोष व्यक्तिहरूको गैरन्यायिक हत्या, हिंसा, बलात्कार, बलपूर्वक बेपत्ता आदिजस्ता अमानवीय कार्यहरूको सत्यतथ्य पत्ता लगाइनुपर्छ, जसको वास्तविक अनुसन्धान तथा यथार्थपरक छानबिन, दोषीहरूलाई कारबाही र पीडितहरूलाई उचित क्षतिपूर्ति तथा परिपूरणबिना द्वन्द्वोत्तर समाजमा शान्ति स्थापना कार्य असम्भव प्राय: छ । भविष्यमा उक्त कार्यहरू नदोहोरिऊन् भन्नाका लागि पनि यी सबै कार्य अति आवश्यक छन् । पीडितले न्यायिक उपचार पाउने हकको सम्मान हुनुपर्छ । उनीहरूले आफूमाथि ज्यादती गर्ने दोषीलाई चिन्न पाउनुपर्ने साथै निजले उक्त कार्य किन र केका लागि गरेको हो समेत जान्न पाउनुपर्छ । अन्यथा समाज थप अराजकतातिर धकेलिने, पीडकहरूको मनोबल बढ्ने र हिंसा सामाजिक संस्कारकै
रूपमा स्थापित हुने खतरा रहन्छ । कुनै पनि समाजले दण्ड एवं पुरस्कारको माध्यमबाट आफ्ना
सदस्यमाथि नियन्त्रण कायम गरेको हुन्छ । यदि यसको सही अभ्यासमा कुनै पनि समाज चुक्यो भने त्यसले हिंसालाई जन्म दिन्छ र त्यो समाजको अधोगति निश्चित प्राय: छ । ‘बरु दसजना दोषी उम्किऊन् तर एक निर्दोषले सजायँ नपाओस्’ त्यसै भनिएको होइन ।
त्यसैले आपसी सद्भाव, करुणा, सहअस्तित्व, स्वतन्त्रता, अहिंसा, विश्वबन्धुत्व आदिजस्ता आधारभूत मानवीय मूल्य एवं मान्यताको यथोचित सम्मान, पालना तथा जगेर्नाबिना सभ्य, स्वस्थ एवं समुन्नत समाज निर्माणको कठिन साथै दीर्घकालीन यात्रामा हामीहरू कहीँ पनि पुग्ने छैनौँ । किनभने यी शताब्दीयौँको अभ्यासबाट खारिएका अनि कहिल्यै पुरानो नभएका सम्पूर्ण मानव जातिका निधि हुन् । अन्धकारमा बाटो देखाउने ज्योतिपुञ्ज हुन् । यिनै तत्त्वहरूलाई मापक तथा मार्गनिर्देशक मानेर मानवताको हाम्रो यात्रा यहाँसम्म आइपुगेको हो । मानिस पनि काँचो माटोजस्तै हो, जसलाई कुमालेले आफ्नो इच्छाअनुसारको आकारमा ढालेजस्तै संस्कारद्वारा चाहेको चरित्रमा ढाल्न सकिन्छ । अतएव अहिंसा एवं सद्भावको संस्कारद्वारा अहिले
विश्वमा परिरहेको मानवताको खडेरीलाई कम
गर्नेतर्फ हाम्रो ठोस पहलमा थप विलम्ब हुनु भनेको आफ्नै अस्तित्वलाई संकटमा पार्नु हो । हाम्रो बुद्धि चाँडै फिरोस् ।
(लेखक अधिवक्ता तथा मानवशास्त्री हुन् ।)

प्रतिक्रिया