यिनले पाउने भए उपचार

काभ्रे, ४ जेठ । शरीरभरि रौँ उम्रने र गिजा सुन्निने रोग पालेर बसेका कुशादेवी–२ ओढारेका शालिकराम सुन्दासको परिवारले उपचार पाउने भएको छ । बुधबार सौर्यलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनपछि धुलिखेल सामुदायिक अस्पतालले सुन्दास परिवारका सबै रोगको नि:शुल्क उपचार गरिदिने भएको छ ।

अस्पतालका प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजूले भने, ‘समुदायबाट खोलिएको अस्पतालले रकम अभाव भएर उपचार गर्न नसकेकालाई उपचार गर्दै आएको छ र हामी सुन्दास परिवारको पनि उपचार गर्ने भएका छौँ ।’
उनले भने, ‘हामीले उनीहरूलाई अस्पताल बोलाएका छौँ, अवस्था हेरेर सम्भव भएसम्म सबै उपचार नि:शुल्क गरिदिन्छौँ ।’ यस्तै, यौन तथा चर्म रोग विभागका प्रमुख यौन तथा छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णले पुस्तामा सर्दै आएको रोग वंशाणुगत भएकाले अस्पतालले भित्र्याएको लेजर प्रविधिबाट उपचार सम्भव भएको बताए । ‘शरीरका सबै रौँ लेजर प्रविधिबाट हटाउन सकिन्छ तर नेपालमा कालो कपालबाहेक सेतो कपाललाई लेजरले काम गर्दैन,’ कर्णले भने, ‘गिजा सुन्निने रोग पनि निको हुने सम्भावना छ, जाँच गरेपछि मात्रै भन्न सकिन्छ ।’ धुलिखेल अस्पतालले दैनिक आठ सयभन्दा बढी बिरामीको नियमित उपचार गर्दै आएको छ ।
कुशादेवी–२ ओढारेका दलित परिवारले आर्थिक अभावका कारण उपचार गर्न सकेका थिएनन् । जन्मदै शरीरभर रौँ आउने र पछि गिजा सुन्निने रोगबाट चार पुस्ता पीडित बन्दै आएका थिए । पछिल्लोपटक जन्मिएकी ६ महिने छोरी आशिकामा समेत यो समस्या देखिएपछि दलित परिवार उपचारका खोजीमा जुटेको थियो ।
काठमाडौं गोलढुंगा मुड्कुढोका घर भएका झ्याप्रे सुन्दासमा देखिएको रोग उनकै छोरी कान्छीमा पनि देखा परेको हो । कान्छीका दुवै सन्तान ५६ वर्षीया गोमा र ३८ वर्षीय शालिकराममा देखिएको थियो । रोगकै कारण गोमा र शालिकरामको विवाह हुन सकेको थिएन । ललितपुरको सिस्नेरीमा गोमाभन्दा धेरै उमेरका व्यक्तिसँग विवाह गरी दुई छोरी जन्मिएपछि सामाजिक अपहेलनाका कारण गोमा कुशादेवीमै बस्न थालेकी थिइन् । उनीबाट जन्मिएका दुई छोरीमध्ये एउटीमा रोग देखापरेको छ ।
शालिकराम पनि सामाजिक समस्याबाटै पीडित थिए । घर छाडेर लामो समय काठमाडौं बस्ने क्रममा उनको विवाह भएको थियो । गोमा र उनको परिवारको उपचार हुने भएपछि गाउँमा खुसियाली छाएको छ । पीपलबोट सामुदायिक संस्था कुशादेवी–२ का सदस्यहरू खुसी भएका छन् । ‘साताको १५ रुपियाँ बचत गर्ने गोमाको खातामा १० हजार रुपियाँभन्दा बढी पैसा छैन,’ व्यवस्थापक मैयाँ सापकोटाले भनिन्, ‘सामाजिक अपहेलनाबाट दलित परिवारले मुक्ति पाउने भएपछि टोलमै खुसी छाएको छ ।’

प्रतिक्रिया