आदिवासी जनजाति सडकमा

काठमाडौं, ४ जेठ । मुख्य तीन दलले नामांकन र सीमांकन थाती राखेर गरेको ११ प्रदेशको सहमतिको विरोध गर्दै आदिवासी जनजाति सडकमा उत्रिएका छन् । उनीहरू बुधबार दिउँसो सबै जिल्लामा सिठीजुलुस र साँझ मसालजुलुस निकालेर तीनदलीय समझदारीको विरोध गर्दै सडकमा उत्रिएका हुुन् ।

काठमाडौं उपत्यकामा सिंहदरबारको पूर्वी–दक्षिणी क्षेत्र हनुमानस्थानबाट निस्केको सिठीजुलुस संविधानसभा भवनअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई आदिवासी जनजातिसम्बद्ध विभिन्न संघ–संगठनलगायत ठूला तीन एकीकृत नेकपा (माओवादी), कांग्रेस र एमालेका आदिवासी जनजाति नेता तथा सभासद्हरूले सम्बोधन गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले ठूला तीन दलबीचको समझदारी षडयन्त्रपूर्ण भएको आरोप लगाउँदै आफूहरू प्रतिरोधमा उत्रिएको बताए । ‘पुष्पकमल दाहाल, सुशील कोइराला र झलनाथ खनाल संघीयताविरोधीका रूपमा चित्रित हुनुभएको छ, यो देश उहाँहरूको विर्ता होइन,’ अध्यक्ष लेखीले भने, ‘त्यसकारण चेतावनीस्वरूप सिठी र मसाल जुलुस निकालेर प्रतिरोध आन्दोलनमा उत्रिएका छौँ ।’ जातीय पहिचानसहितको प्रदेशको सुनिश्चितता नभएसम्म आन्दोलनबाट विश्राम नलिने भन्दै लेखीले प्रत्येक साँझ मसालजुलुस निकालिने बताए ।
कांग्रेस सभासद् जिपछिरिङ लामा शेर्पाले नामविनाको ११ प्रदेशको सहमतिलाई बाबुविनाको सन्तानको संज्ञा दिँदै तिनीहरूको तत्काल न्वारान गर्नुपर्ने बताए । उनले भने, ‘अहिले तीन दलले ११ छोरा जन्माएका छन्,’ उनले भने, ‘तत्काल न्वारान नगरेसम्म हामी चुप लाग्दैनौँ ।’ एमाले सभासद् पासाङ शेर्पाले यसअघि मधेसी र आदिवासी जनजाति सभासद्ले प्रेस विज्ञप्ति निकाल्दा तीन दलका नेताहरू अत्तालिएर आफूहरूलाई धम्क्याएको खुलासा गर्दै षड्यन्त्र गरिरहे ‘लाठीमुंग्रो’को विज्ञप्ति निकाल्ने चेतावनी दिए । माओवादी सभासद् सुरेश आलेमगर र सावित्री दुरा गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई फसाएको गुनासो गर्दै अब अधिकारप्राप्तिका लागि सभासद् पद छाड्न तयार रहेको बताए ।
तीन घन्टा थामीको धर्ना
थामी स्वायत्त राज्य माग गर्दै थामी समुदायले बुधबार संविधानसभा भवनअगाडि तीन घन्टा धर्ना दिएका छन् । नेपाल थामी समाजको नेतृत्वमा तीनकुनेबाट निस्किएको र्‍यालीमा सहभागीले संविधानसभा भवनको दक्षिण गेटनजिकै धर्ना दिएका थिए । कार्यक्रममा सभासद् चुनबहादुर थामीले वर्षौंदेखि पहिचानविहीन बनेका थामी जाति अब अधिकारका निम्ति एक भएको बताए ।

मसाल जुलुसमा प्रहरी हस्तक्षेप
काठमाडौं । सिटी जुलुसपछि आदिवासी जनजातिले बुधबार साँझ निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा सभासद्सहित १७ जनाभन्दा बढी घाइते भएको महासंघका अध्यक्ष लेखीले जानकारी दिए । अध्यक्ष लेखीका अनुसार गौशालामा मसाल जुलुसमा प्रहरीले लाठी चार्ज गरेपछि झडप हुँदा सभासद् आङदावा शेर्पासहितका प्रदर्शनकारी घाइते भएका हुन् । घाइतेमध्ये पाँचजनाको चाबहिलस्थित ओम अस्पतालमा, दुईजनाको बानेश्वरस्थित भरोसा अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । झडपपछि नियन्त्रणमा लिएका सात प्रदर्शनकारीलाई प्रहरीले केही बेरपछि छाडेको लेखीले बताए । उनका अनुसार रौतहट, कैलाली, सिरहालगायत ठाउँमा पनि मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । (सौस)

सरकार छाड्न मोर्चालाई दबाब 

भुवन शर्मा

काठमाडौं, ४ जेठ । सिंहदरबारभित्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक चलिरहेको बेला बुधबार बैठकस्थलबाहिर भने मधेसी दलका कार्यकर्ता नाराबाजी गरिरहेका थिए । उनीहरूले मोर्चाका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा गरेर आन्दोलनमा उत्रन दबाब दिँदै नाराबाजी गरेका हुन् ।
तराई–मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालयमा बैठक चल्दै गर्दा मधेसी दलका एक सयभन्दा बढी कार्यकर्ताले कार्यालयबाहिर सरकारबाट फिर्ता हुन मन्त्रीहरूलाई दबाब दिँदै नाराबाजी गरे । उनीहरूले आफूहरूलाई सरकार होइन, अधिकार चाहिएको भन्दै मधेसी एकताका लागि राजीनामा दिनुपर्ने माग गरेका थिए ।
मोर्चाको बैठक बुधबार दुईपटक बसेको थियो । बिहान बसेको बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ११ प्रदेश बनाउने मुख्य तीन दलको निर्णयको विरोध गर्दै मोर्चा सरकारबाट बाहिरिनुपर्ने प्रस्ताव राखेका थिए । ‘सहमतिका आधारमा यो सरकार निर्माण भएको हो, सहमति भंग हुन्छ भने हामी किन सरकारमा बसिरहने ? बैठकमा महतोले भनेका थिए । अपराह्न पुन: बस्ने गरी बिहानको बैठक स्थगन भएको थियो ।
बैठक स्थगन भएपछि उपप्रधान तथा गृहमन्त्री रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सिरहामा आगलागी भएको स्थान निरीक्षण गर्न गएका थिए । गच्छदार फर्किएपछि मोर्चाको बैठक फेरि बसेको थियो । बैठकमा मोर्चाले सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादबले घुमाउरो पारामा तत्काल सरकार छाड्न नहुने धारणा राखेका थिए । बिहीबार पुन: बैठक बस्ने नेताहरूले जनाएका छन् ।
‘मोर्चा सरकारबाट बाहिरिनुपर्छ भनेर मैले बैठकमा प्रस्ताव गरको छु । यस विषयमा छलफल भइरहेको छ । बिहीबारको बैठकले यो विषयमा निर्णय लिने सम्भावना छ,’ बैठकपछि सौर्यसँग महतोले भने, ‘मोर्चा सरकारबाट बाहिरिएन भने पनि हामी सरकारबाट बाहिरिन्छौँ ।’
यसैबीच, फोरम नेपालले ११ प्रदेशको निर्णय सच्याउन दबाब दिएको छ । फोरम महासचिव रामसहाय यादवले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी ११ प्रदेश बनाउने तीन दलको निर्णय मान्य नहुने बताए । निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी उनले दिए । बुधबार नै मधेस मिडिया हाउसले गरेको कार्यक्रममा मधेसी नेताहरूले मोचाका तर्फबाट सरकारमा सहभागी नेताहरू राजीनामा गरेर आन्दोलनमा आउनुपर्ने बताएका थिए । ‘११ प्रदेश बनाउने तीन दलको निर्णय मधेसलाई खण्डित गर्ने र कमजोर बनाउने षड्यन्त्र हो । यो कुनै पनि अवस्थामा लागू हुन सक्दैन,’ फोरम लोकतान्त्रिकका नेता शरत्सिहं भण्डारीले भने ।

प्रतिक्रिया