मागपनि कस्ता कस्ता..? अपराधी रिहा गर्न आग्रह

काठमाडौं, ३ जेठ । कैदी बन्दीका आफन्तहरुले नेपाल भरीका सबै बन्दीलाई रिहा गरेर जेल खाली गर्न माग गरेका छन् ।
विभिन्न अपराधमा सजाय भोगी रहेका कैदी बन्दीका आफन्तले आज राजधानीमा पत्रकार सम्मेलन गरेर जेठ–१४ गते संविधान जारी गरेसँगै सबै कैदी बन्दीलाई आम माफी दिनुपर्ने माग गरेका हुन् । जेल खाली गर्नुपर्ने आफूहरुको माग पुरा नभए संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
आममाफीका लागि कैदी बन्दी पीडित संघले कैदीहरुको रिहाईका लागि माग गरेको हो । आधा भन्दा बढी कैदी निर्दोष भएको दाबी गर्दै संघले नयाँ संविधानसंगै आफूहरुको माग पुरा गर्नुपर्ने जनाएको छ ।
संघकी संयोजक सुरक्षा थापाले मुलुक नयाँ यूगमा प्रवेश गर्न लागेकाले सजाय भोगी रहेका सबै कैदी बन्दीलाई आम माफी दिनु पर्ने धारणा राखिन ।
नयाँ संविधान जारी गर्ने समय जेठ–१४ गते नजिकिदै गर्दा विभिन्न समूहले विविध माग गरिरहेका समयमा अपराधमा सजाय काटी रहेका सबै कैदी बन्दीको रिहाईको माग समेत उठेको छ ।

प्रतिक्रिया