कृषकलाई भगवान् मान्ने संगीतकार

गीतकार ज्ञानेन्द्र बरालको शब्द र गायिका रत्ना बरालको स्वर रहेको ‘कहीँकतै देखेजस्तो, कहीँकतै भेटेजस्तो गीतले जति सफलता पायो, त्यसभन्दा बढी चर्चा यसका संगीतकार राजु सिंहले कमाए । जति बेला उनी बिल्कुलै नयाँ थिए । सांगीतिक सिर्जना श्रोतामाझ पुर्‍याउने माध्यम रेडियो नेपालको विकल्प नभएको समयदेखि संघर्ष सुरु गरेका उनले हालसम्म २३ वटा एल्बम, एक दर्जन चलचित्र र फुटकर गरी आठ सयभन्दा बढी गीतमा संगीत दिइसकेछन् । २० वर्षदेखि सांगीतिक क्षेत्रमै लागिरहेका उनले संगीत भरेको पहिलो चलचित्र मालती हो ।  संगीतको नयाँ पुस्ताका लागि उनी ‘अग्रज’ बनिसके ।
संगीतमा नआएका भए कुन क्षेत्रमा हुन्थे होलान् यी संगीतकार ? उनले भने, ‘कुनै शंकै छैन, बैंकिङ क्षेत्रमा हुन्थेँ ।’  केही गरी बैंकिङ क्षेत्रमा तारतम्मे नमिलेर कृषिपेसा अँगाल्नुपरेको भए ? यो पेसाप्रति पनि उनको सद्भाव भने रहेछ । भने, ‘म किसान भए संगीतमा लागेभन्दा बढी भाग्यमानी हुन्थेँ, मैले गरेको उत्पादनले लाखौँ मान्छेको भोको पेट भरिन्थ्यो ।’ थपे, ‘हाम्रा पुर्खा सबै किसान थिए, उनीहरूलाई म भगवान्को दोस्रो रूप मान्छु । किसानी हातहरूमा भगवान्को बास हुन्छ ।’ ८० प्रतिशतभन्दा बढी नेपालीको पेसा यही रहेको सुनाए उनले ।
उनी साँच्चिकै कृषिमा आएर काउलीखेती गर्नुपर्‍यो भने कति रकमको लगानीबाट सुरु गर्दा हुन् ? ‘अब ठाउँ हेरेर लगाउने हो,’ भने, ‘सुरुमा त एक रोपनी जग्गामा मात्रै लगाउँथेँ होला ।’ जुनसुकै खेती गर्दा पनि लगानीभन्दा बढी मिहिनेत आवश्यक पर्ने उनको बुझाइ रहेछ । मिहिनेत गर्दागर्दै लगानी डुबे पनि उनी चिन्तामा परिहाल्ने भने रहेनछन् । ‘सुरुसुरुमा अनुभव हुँदैन, जे पनि हुन सक्छ । तर, डुब्छ भनेर डराउनुहँदैन, यससम्बन्धी थप अध्ययन अनुसन्धान गरेर अगाडि बढ्नुपर्छ,’ अहिलेसम्म काउलीखेती नगरेका यिनले आफ्नै पाराको आइडिया फुराए, ‘त्यसो त उत्पादन गर्दा ग्राहकको चाहना कस्तो छ भन्नेतिर पनि ध्यान दिनुपर्छ ।’
उनले अन्तर्राष्ट्रिय खेती प्रणालीबारे पनि थोरबहुत जानेबुझेका रहेछन् । विश्वमै कृषिउत्पादनका लागि परिचित इजरायल पुग्दा आधुनिक तरिकाहरू देखेछन् । त्यसका तुलनामा नेपालमा हातकै मिहिनेत र सीमित स्रोतसाधनका भरमा अर्गानिक तरकारी उत्पादन भएको देख्दा उनलाई गज्जब लाग्छ  । यसरी हेर्दा नेपाली भूमिलाई ‘उर्वर’ मान्नुपर्ने बताउँछन् यी संगीतकार । मानौँ– काउलीखेतीबाट मनग्गे आम्दानी गरेछन् राजुले । त्यो पैसा उनी केमा खर्चंदा हुन् ? बैंकमा जम्मा गरेर मात्र राख्लान् कि समाजसेवामा पनि लगाउलान् ? भने, ‘आफू पनि कृषक भएकै नाताले अन्य श्रमजीवी कृषकहरूका लागि आम्दानीको बाटो फैलाउने काममा केही लगानी गर्थें होला ।’ भूमिहीन सुकुम्बासीलाई पनि सहयोग गर्थें कि भन्छन् यी कल्पनाभित्रका काउली कृषक । त्यससँगै नेपाललाई काउलीखेतीको अध्ययन केन्द्र बनाउने कोसिस पनि गर्थे रे †
पूरै कृषिकल्पनामा डुबिरहेका यी संगीतकार त्यसबाट बाहिर निस्किए अनि सरकारलाई सुझाब दिन थाले, ‘कृषिमा लागेका व्यक्तिलाई कुनै किसिमको झन्झट बेहार्नु नपर्ने अवस्था सरकारले मिलाइदिनुपर्छ । उत्पादन गरिसकेपछि उचित मूल्य पाउन सक्ने वातावरण निर्माण हुनुपर्छ । उनीहरूलाई प्रोत्साहन  गरेर सबै कुरा आफ्नै भूमिमा उत्पादन हुने र विदेशबाट एक गेडो पनि ल्याउन नपर्नेतर्फ सरकाले व्यवस्था गर्नुपर्छ । बरु उल्टै विदेशमा निर्यात गरेर अर्थतन्त्र मजबुत बनाउनतर्फ लाग्नुपर्छ ।’ सरकारले यति बुद्धि पुर्‍याइदिए युवाहरू बिदेसिन कम हुने र उनीहरूको मिहिनेतको सहारामा कृषिक्षेत्रले नै देशलाई उँभो लगाउने ठहर्‍याए यी संगीतकारले ।

प्रतिक्रिया