लाजमर्दो अभिव्यक्ति

जति–जति १४ जेठ नजिकिँदै छ त्यही अनुपातमा नेपाल बन्द र आन्दोलनले तीव्रता पाउँदै गएको छ । विभिन्न समुदायबीच एकआपसमा जातीय, क्षेत्रीय र धार्मिक संकीर्णता बढ्दै छ । जात, धर्म र क्षेत्रका आधारमा संघहरू निर्माण गरिनुपर्ने आवाज घनीभूत बन्दै छन् । क्षत्री–ब्राह्मण समाज र जनजातिबीच फाटो गराएर आपसमा लडाउन खोजिँदै छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र जातीय मेलमिलापविरुद्ध सुनियोजित ढंगले लागेकाहरू आगोमा घिउ थप्ने काम गरिरहेका छन् । पछि सामाजिक सद्भाव खल्बलियो भने राष्ट्रमा अमनचैन कानुनी राज्य, प्रशासन सबै भत्कन र सम्हाल्न नसकिने अवस्थामा पुग्नेछ । यस्तो धर्मसंकट आउनबाट रोक्ने दायित्व राजनीतिक दलका शीर्ष नेताहरूको हो । भाँडभैलोको स्थिति सम्हाल्न सक्ने संगठित शक्ति पनि उनीहरूसँग नै छ । तर, एनेकपा (माओवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिएको अभिव्यक्ति भने सामाजिक सद्भाव खल्बल्याउन मद्दत पुर्‍याउने खालको छ । जुन अभिव्यक्तिले वितण्डा मच्चाउन चाहने तत्त्वलाई प्रेरणा मिलेको विश्लेषण गरिँदै छ ।
संविधानसभाको सबैभन्दा ठूलो दल एमाओवादीका अध्यक्ष पुपष्कमल दाहाल नेता मात्र होइनन् पूर्वप्रधानमन्त्री पनि हुन् । उनी आफैँ यो मुलुकको भावी राष्ट्रिपति हुने अभिव्यक्ति पनि दिन्छन् । तर, बोलीको ठेगान नभएको नेतामा पनि गनिन्छन् । उनले जनजातिका नेताहरूलाई क्षत्री–ब्राह्मणको प्रतिकारमा उत्रने निर्देशन दिइरहँदा आफू मात्र जनजातिको सबैभन्दा ठूलो नेता भएको अघोषित घोषणा गरिरहेका थिए । उनी क्षत्री–ब्राह्मण समाजका अगुवालाई भेट्दा पनि आफू यही समाजको पक्षमा रहेको हुँदा जातिवादीहरूको प्रतिकारमा उत्रनुहोस् भन्न सक्छन् । किनभने विभिन्न समयमा उनले व्यक्त गरेका विचार र कार्यले यसको पुष्टि गर्दै आएका छन् । वास्तवमा पुष्पकमल दाहालजस्ता नेता राष्ट्रकै नेता बन्न सक्नुपर्ने थियो । उनका अभिव्यक्ति र व्यवहार पनि सम्पूर्ण नेपालीका लागि हुन सक्नुपर्ने थियो । तर, त्यो महान् दायित्व बहन गर्ने विश्वासिलो आधार उनमा नरहेको प्रस्ट भयो । सबै जातजाति, भाषा–भाषी, सम्प्रदाय, क्षेत्र, लिंग र समूहलाई मेलमिलाप गर्दै सामाजिक सद्भाव कायम राख्न निर्देशन गर्नुपर्ने नेताले कुनै एक पक्षको वकालत गर्ने समूहलाई कुनै अर्को समूहविरुद्ध प्रतिकारमा उत्रन सल्लाह दिनु मुलुककै दुर्भाग्य हो ।
संविधानसभाको संवैधानिक समितिअन्तर्गत विवाद समाधान उपसमितिका संयोजकसमेत रहेका अध्यक्ष दाहालको पछिल्लो विवादित अभिव्यक्तिले उनी विवाद मिलाउनेभन्दा पनि विवाद चर्काउने काम गर्छन् भन्ने पुष्टि भएको छ । वर्गीय आन्दोलन र त्यसको उद्देश्यलाई त्यागेर जातीय आन्दोलनको नेतृत्व सम्हाल्न पुगेका दाहालको अभिव्यक्तिले सामाजिक सद्भाव खल्बल्याउने र एकअर्काप्रति असहिष्णु बन्न प्रेरित गर्नेछ । यस्तो अभिव्यक्तिको पछि लागेर वा उत्तेजित भएर एकले अर्काको विरुद्ध जाइलाग्ने काम गर्नुहुँदैन । विगतदेखि आपसमा मिलेर बसेका हाम्रो समाजका विभिन्न जातजाति सद्भाव बिथोल्न र एकले अर्कालाई सिध्याउन चाहँदैनन् । तसर्थ, यस्ता अभिव्यक्ति वा उत्तेजनाबाट निर्देशित नभई सम्बन्धित सबै पक्षले सभ्यतापूर्वक आफ्नो अधिकार माग्नुपर्छ । अन्यथा यो मुलुकले आफ्नो पहिचान गुमाउन सक्छ ।

प्रतिक्रिया