हँसाएपछि भावुक बनाए धुर्मुस–सुन्तलीले

चितवन,  ३ जेठ । हास्यदम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सोमबार साँझ चितवनमा हाँसोको फोहरा त छुटाए नै, दर्शकलाई राष्ट्रिय भावनाको स्वाद पनि चखाए ।
पैसा चोरेको निहुँमा धुर्मुसलाई गाली गर्दै स्टेजमा आएकी सुन्तलीले अन्त्यमा मार्मिक शैलीमा सच्चा नेपाली तथा देशभक्त सपूत बन्न सुझाब दिँदा हाँसिरहेका दर्शक एकाएक भावुक बन्न पुगे । अनेरास्ववियु क्याम्पस कमिटी सप्तगण्डकी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा
क्यान्सर अस्पतालको सभाहल दर्शकले खचाखच थियो ।
यी दुई कलाकारको जोडीले ठेट नेपाली शब्दमा नेपाली नेताका चरित्रदेखि अहिले देशभर भइरहेको बन्द–हडतालमाथि चोटिलो व्यंग्य गरे । बन्दका कारण रोकिएर चितवन आइपुगेका उनी केपी ओलीको भेषमा स्टेजमा उक्लँदा दर्शक झुक्किएका थिए । ओलीको दुरुस्तै क्यारिकेचरसाथ गरेको अभिनयले दर्शकलाई पेट मिचीमिची हँसाएको थियो ।
प्रहसनपछि गायकहरू मिलन लामा र बद्री पंगेनीले लोकभाकाको सांगीतिक माहोल खडा गरे । मिलनले चितवनको स्थानीयता झल्काउने टाँडी झरे’सीलगायत दुई गीतमा दर्शक नचाएका थिए । पंगेनीले चाहिँ लौन नेताज्यू, हाम्रो गाउँमा आऊ गीतमार्फत जनतालाई बेमतलब गर्ने नेताहरूको प्रवृत्ति उजागर गरे । उनले
पनि जति गीत गाए, सबैमा दर्शकको तालीको साथ पाइरहे । कार्यक्रममा क्याम्पसको सांस्कृतिक समूहको नृत्य तथा जिल्लाका साहित्यकारहरूको पनि साहित्यिक प्रस्तुति थियो ।

प्रतिक्रिया