बाटो नदिँदा बहिष्कृत

जनकपुर, ३ जेठ । छिमेकीलाई आँगनको जग्गा हुँदै बाटो नदिँदा धनुषा सुगा मधुकरहीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । प्रहरीले समेत समाजकै साथ दिएपछि बहिष्करमा परेको परिवारले तीन दिनयता समस्या खेपेका छन् र गाउँ छाडेर हिँड्नुपर्ने अवस्था आएको छ ।
जग्गाबाट बाटो खोल्न नदिएको आरोपमा स्थानीयले सुगा मधुकरही गाविस–८ गरैया टोलका महन्जी मण्डलको परिवारलाई बहिष्कार गरिएको हो । गाउँलेले उनलाई चाँडो गाउँ छाड्न निर्णय गरेको एकीकृत नेकपा
(माओवादी)का राज्य समिति सदस्य जयकुमार यादवले बताए ।
मण्डलले छिमेकी रामअवतार भण्डारीलाई आफ्नो घर ओहोरदोहोर गर्न चाहिने बाटोका लागि निजी जग्गा दिन नमानेपछि समाजले सामूहिक रूपमै बहिष्कार गरेर गाउँ छोड्न दबाब दिएका हुन् ।
स्थानीयले मण्डलको घरमा रहेको खाना पकाउने माटोको चुलो फुटाउनका साथै खानेपानी तान्ने कलको ह्यान्डिलसमेत झिकेर तीन दिनदेखि पानीसम्म खान दिएका छैनन् । बहिष्करणमा परेपछि खाना खान तथा पानी पिउनसमेत समस्या परेको मण्डलकी पत्नी गालोदेवीले बताइन् । स्थानीयले मण्डलको घरलाई चारैतिरबाट बार लगाइदिएका छन् । समाजको बहिष्कारपछि पतिसमेत घर आउन नसकेको उनले बताइन् ।
मण्डलको परिवारमा सात सदस्य छन् । मण्डलका दुई छोरा वैदेशिक रोजगारीका लागि खाडी देशमा छन् भने दुई छोरा परिवारसँगै छन् । परिवारलाई समाजिक बहिष्कार गरेपछि युकेजीमा अध्ययनरत कान्छा छोरा प्रदीप विद्यालय जानसमेत सकेका छैनन् । छिमेकी रामअवतार भण्डारीको १० धुर जग्गाका लागि उनको घरको आँगनबाट बाटो खोल्नुपर्ने निर्णय गरेका थिए । ८ वैशाखमा भएको निर्णय मण्डलले नमानेपछि समाजले बहिष्कार गरेको हो ।
स्थानीयले भने जग्गाका लागि पहिलेदेखि नै सहमतिका आधारमा बाटो कायम गरिएकाले जग्गा दिनुपर्ने दाबी गरेका छन् । समाजको निर्णय नमाने मण्डललाई गाउँबाट निकाला गरिने स्थानीय किशोरी यादवले बताए । स्थानीय प्रहरीले समेत मण्डलका पक्षमा केही गर्न नसक्ने भनेर निरीहता देखाएपछि मण्डल परिवार समाजमा अपहेलित भएको छ । ‘समाजकै अनुसार हिँड्नु पर्छ,’ इलाका प्रहरी कार्यालय सुगा निकासका असई रुद्रलाल श्रेष्ठले भने, ‘सकभर गाउँमै मिलाउने कोसिस गरेका थियौँ तर सकेनौँ ।’ तर, पीडितका अनुसार घटनामा प्रहरीको समेत मिलेमतो रहेको छ ।
आइतबारदेखि मण्डल परिवार बहिष्कृत भएर गाउँ छाड्न चेतावनी आएको खबरपछि अधिकारकर्मीको टोलीले घटनास्थल अवलोकन गरेर फर्किएको छ । टोलीले तत्काल समस्या समाधान गर्न स्थानीय प्रशासनलाई अनुरोध गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, भुमिजा, हुडेपलगायत मानवअधिकारवादी संस्थाले घटनालाई अमानवीय कार्य ठहर गर्दै सद्भाव कायम गराउन प्रशासनलाई अनुरोध गरेका हुन् ।

प्रतिक्रिया