वैदेशिक मुद्रा सञ्चिति बढ्यो

काठमाडौं, २ जेठ । विप्रेषण आप्रवाहमा वृद्धि र पर्यटन आयमा भएको वृद्धिले देशको वैदेशिक मुद्रा सञ्चितमा पनि तीव्र वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति ३५ दशमलव पाँच प्रतिशतले बढेर तीन सय ६८ अर्ब १० करोड रुपियाँ पुगेको छ । यो सञ्चिति गत वर्षको सोही अवधिमा चार दशमलव दुई प्रतिशतले घटेर दुई सय ५७ अर्ब ४७ करोड रुपियाँ मात्र थियो ।
‘कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति फागुन मसान्तमा ४३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन सय पाँच अर्ब दुई करोड पुगेको छ ।’ राष्ट्र बैंकको तथ्यांकअनुसार अमेरिकी डलरमा भने बैंकिङ क्षेत्रमो परिवत्र्य विदेशी मुद्रा सञ्चिति फागुन मसान्तसम्ममा १४ दशमलव पाँच प्रतिशतले वृद्धि भई तीन अर्ब ५६ करोड ३८ लाख अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति पाँच दशमलव सात प्रतिशतले बढेको थियो ।
त्यसैगरी आर्थिक वर्ष ०६८/६९ को आठ महिनासम्मको अवधिमा अपरिवत्र्य विदेशी मुद्रातर्फ भारतीय मुद्रा सञ्चिति ६४ दशमलव ६ प्रतिशतले वृद्धि भई ५२ अर्ब ८८ करोड भारतीय रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति ३७ दशमलव ६ प्रतिशतले घटेको थियो । विशेषगरी अनधिकृत व्यापारका कारण सीमा क्षेत्रमा भारतीय रुपियाँको माग बढ्ने गरेको राष्ट्र बैंकले बताउँदै आएको छ । त्यसैगरी वैदेशिक रोजगारमा गएका नेपालीले गर्दा नेपालीको आयमा वृद्धि भई भारततर्फ घुम्न जाने परिपाटी बढ्दै गएका कारण समेत भारतीय रुपियाँको माग बढेको केन्द्रीय बैंकको दाबी छ ।
‘आर्थिक वर्ष ०६८/६९ को आठ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले १० दशमलव एक महिनाको वस्तु आयात र नौ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ,’ केन्द्रीय बैंक आँकडाको अनुमान छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति ७९ अर्ब ९० करोडले बढेको छ भने अघिल्लो वर्ष सोही अवधिमा खुद वैदेशिक सम्पत्ति ११ अर्ब २९ करोड रुपियाँ (५ दशमलव ३ प्रतिशत) ले घटेको थियो । विप्रेषण आप्रवाहका सेवा आयमा उल्लेख्य वृद्धि भई चालू खाता सन्तुलन सकारात्मक रही वित्तीय खातामा समेत सुधार भएकाले भुक्तानी सन्तुलन सुदृढ भई मौद्रिक क्षेत्रको खुद वैदेशिक सम्पत्तिमा उच्च वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार केही वर्षदेखि घाटामा रहेको खुद सेवा आय चालु आर्थिक वर्षको पहिलो आठ महिनाका ११ अर्ब ७ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो आवको पहिलो आठ महिनाको सेवा खाता घाटा सात अर्ब ५६ करोड रुपियाँ थियो । सेवाअन्तर्गत अघिल्लो वर्षको पहिलो आठ महिनामा पर्यटन आयमा २० दशमवलव सात प्रतिशतले ह्रास आएकोमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।
अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको आठ महिनामा १५ दशमलव दुई प्रतिशतले वृद्धि भएकामा समीक्षा अवधिमा २४ दशमलव दुई प्रतिशतले वृद्धि भई दुई अर्ब ७६ करोड ५३ लाख अमेरिकी डलर पुगेको छ । आर्थिक वर्ष ०६८/६९ को आठ महिनासम्ममा समग्र शोधनान्तर स्थिति हालसम्मकै उच्च ७९ अर्ब ९० करोड रुपियाँले बचतमा रहेको छ ।

प्रतिक्रिया