माथिल्लो तामाकोसी अध्यक्षको राजीनामा फिर्ता

 

काठमाडौ, २ जेठ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालक समितिको अध्यक्षबाट नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम बिसीले दिएको राजिनामा फिर्ता भएको छ । विवादका कारण निर्माणाधीन आयोजनाको करिब साढे दुई महिनापछि बसेको सञ्चालक समितिले बिसीको राजिनामा फिर्ता गरेको हो ।
प्राधिकरण बोर्ड बैठकले ऊर्जा मन्त्रालयका सहसचिव अर्जुन कार्कीलाई सदस्यमा नियुक्त गरी अध्यक्षसमेत रहेका बिसीलाई राजीनामा दिन लगाएको थियो । कार्कीलाई अध्यक्ष बनाउनका लागि बिसीलाई राजिनामा दिन लगाएपछि विवाद बढेको थियो । आयोजनाका लगानीकर्ता प्राधिकरण, सञ्चय कोष, बिमा संस्थान र नेपाल टेलिकमा कर्मचारी युनियनको विरोधपछि
प्राधिकरण बोर्डले कार्कीलाई फिर्ता बोलाएको थियो ।
माथिल्लो तामाकोसी सञ्चालक बैठकले पहिला अध्यक्षबाट राजिनामा दिएका बिसीले राजिनामा फिर्ता लिएका एक सञ्चालक सदस्यले बताए । उनका अनुसार, प्राधिकरण बोर्ड बैठकले कम्पनीको सर्वोच्चतालाई मिचेर आयोजना प्रमुखको नियुक्ति गरेको, व्यवस्थापन समूह नियुक्तिमा ढिलाइ गरेलगायतमा विषयमा छलफल भए पनि निर्णय भने गरेको छैन । ‘प्राधिकरण बोर्डले आयोजना प्रमुखमा सुनिल ढुंगेललाई नियुक्ति गरेको छ,’ एक सञ्चालक सदस्यले भने ।
सञ्चालक सदस्य विवादका कारण डेड महिनादेखि नै समितिको बैठक बस्न नसक्दा तामाकोसीबारे गर्नुपर्ने धेरै नीतिगत निर्णय हुन सकेको छैन । तामाकोसी सञ्चालक समितिका अध्यक्ष बिसीले छलफल मात्र भएको र दुई दिनभित्र सार्वजनिक लेखासमितिले दिएको निर्देशनलाई मध्यनजर राखेर निर्णय गर्ने बताए । योभन्दा अघिको लेखासमितिको बैठकले पछिल्लो समयमा देखिएका विवाद टुंग्याएर सात दिनभित्र तामाकोसीका लागि व्यवस्थापन समूह नियुक्ति गर्न, माथिल्लो तामाकोसी सञ्चालक समिति बैठक बस्न तथा राजधानीमा बस्दै आएका तामाकोसीका कर्मचारी र परामर्शदाता कम्पनीका प्रतिनिधिलाई आयोजनास्थल दोलखा पुगिसक्न सरकार, ऊर्जा मन्त्रालय, प्राधिकरण र तामाकोसी आयोजनालाई निर्देशन दिइसकेको छ । दोलखामा निर्माण भइरहेको चार सय ५६ मेगावाटको सो जलविद्युत् आयोजना सन् ०१५ भित्र बनाइसक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया