“हजारौँ महिला सडकमा उतार्न सक्छु”


तपाईंको पृष्ठभूमि कस्तो थियो ?
– म सामान्य गृहिणी महिला । सम्पन्न परिवारकी विपन्न बुहारी । हुनेखाने परिवार भए पनि सधैँ अभावमै बित्यो ।
सामाजिक काममा लाग्न कसरी प्रेरित हुनभयो ?
– पहिलो प्रेरणा त श्रीमान्बाटै पाएकी हुँ । उहाँ कांग्रेस पार्टीमा क्रियाशील हुनुहुन्थ्यो । म घरमै बसेर उहाँलाई सघाउँथेँ, जस्तै झन्डा सिलाइदिने, पर्चा लुकाइदिने । त्यति बेला ती सामग्री प्रहरीले भेट्टाउला कि भनेर जोगाउनुपथ्र्यो । जेठाजु मण्डले हुनुहुन्थ्यो । फेरि ‘कांग्रेस चोर’ भन्थे त्यति बेला । मेरो परिवार म पनि बाहिर निस्केर सामाजिक काममा क्रियाशील होस् भन्ने नै चाहन्थ्यो । तर, म आफैँ तयार थिइनँ । ०४७ सालमा पहिलोपटक मंगला दिदी (मंगलादेवी सिंह) नेपालगन्ज जाँदा हो, म सार्वजनिक कार्यक्रममा निस्किएकी । सामाजिक जीवनको सुरुआत त्यहीँबाट भयो । श्रीमान्को निधनपछि पनि प्राय: सबै जनाको प्रेरणा पाइराखेँ ।
तपाईं एउटी मुसलमान नारी, समाजले गर्ने व्यवहार कस्तो थियो ?
– कुरा काट्ने काम धेरै भयो, व्याख्या गरिसाध्य छैन । तर, मैले कहिल्यै पछाडि फर्केर हेरिनँ, सधैँ अगाडि मात्र हेरेँ । त्यस्ता कुराको परबाह गरिनँ, सकारात्मक सोचेँ । मैले गरेका राम्रा कामलाई समाजले वाच गरिरहेकै छ । मलाई प्रेरणा दिनेहरू पनि यही समाजका हुन् । त्यसैले म सुरक्षित छु भनेर सोचँ सधैँ ।
परिवारको सहयोग कस्तो थियो ?
ससुरा हुनुहुन्थेन । सासूको सहयोग धेरै पाएँ । मेरी आमा नै भएको भए पनि त्यतिको सहयोग पाउँदिनथेँ होला । राजनीतिमा लाग्न सासूले नै कर गर्नुभएको हो । मैले उहाँलाई अलि बूढी भएपछि लाग्छु भनेँ । तर, उहाँले त ‘तिमी बूढी भइसक्यौ, अब पनि भित्र खुम्चिएर बसेर हुँदैन । म छोराछोरी हेरिदिन्छु, तिमी राजनीतिमा लाग’ भन्नुभयो । परिवारको पूरापूर भरथेग भएकै हो ।
पढाइ कहाँ गर्नुभयो, मदरसामा कि अन्तै ?
– मदरसामा पढेँ, कुरान–उर्दूलगायत । गोरखपुरबाट एसएलसी गरेँ । त्यसपछि बिहे भयो, पढ्न पाइएन । छोराछोरीलाई पढाउन लाग्नुपर्‍यो । छोराछोरी ठूला भएपछि मात्रै मैले थप पढाइ गरेकी हुँ । ब्याचलर गरेको पाँच वर्ष मात्र भयो । यसमा पनि छोराछोरी सबैले सहयोग गरे । छोराले नै कलेजमा गएर मेरो नाम लेखाइदियो ।
तपाईंको बिहे मागी कि प्रेम ?
– मागी हो । बुबाले नेपालको शिक्षित परिवार भनेर बिहे तय गरिदिनुभयो । मेरो जन्मचाहिँ गोरखपुरमा भएको हो ।
छोराबुहारीको व्यवहार कस्तो छ ?
– मैले आफू राजनीतिमा लाग्दै गर्दा छोरालाई भनेँ, ‘तिमी पनि एउटा मुसलमान पुरुष हौ । हाम्रो समुदायले महिलालाई बाहिर निस्केको राम्रो मान्दैन, तिमीचाहिँ के भन्छौ ? म राजनीतिमा लागेको कुराले तिमीहरूलाई दु:खी बनाउँछ कि बनाउँदैन ?’ तर, छोराले ‘मेरा साथीहरूले तपाईंका कारण मप्रति गर्व गर्छन्, तिम्री आमा पढेकी मान्छे भएकाले यो ठाउँमा पुगेको भन्छन्, हाम्रा आमाहरूले पनि पढेको भए तिम्री आमाकै जस्तो स्थानमा पुग्दा हुन् भनेर कल्पना गर्छन्, त्यसैले मलाई त तपाईंप्रति गर्व छ’ भन्यो । बुहारीले पनि त्यसै भनिन् । उनी पनि पढेकी नारी हुन्, कुनै समस्या छैन ।
नेपालगन्जमा तपाईंले कति वर्ष बुर्का लगाउनुभयो ?
– नेपालगन्जमा नब्बे प्रतिशत महिला अहिले पनि बुर्का लगाउँछन् । मैले अठार वर्ष लगाएँ । म जुन समुदायमा थिएँ, त्यहाँ बुर्का बाध्यता हो ।
मुस्लिम समुदायबाट हुने विरोधचाहिँ कत्तिको सामना गर्नुभयो ?
– पहिलोपटक ०४९ मा वडाध्यक्ष लड्दा धेरै विरोध खेप्नुपर्‍यो, महिला भएर सार्वजनिक रूपमा निस्कने भनेर । चुनाव लड्न नदिन धेरै गरे । तर, बाहिर निस्किसकेपछि महिलाहरूको साथ बढी पाएँ, धेरै भोट ल्याएर जितेँ । श्रीमान्ले कोरेको नक्सामा धेरै काम गरेँ । श्रीमान्का अधुरा काम पूरा गर्ने मेरो लक्ष्य थियो । बच्चाबच्चीलाई असल नागरिक बनाउनुपर्ने दायित्व थियो । त्यसो त यहाँसम्म ल्याइपुर्‍याउन मेरा जेठाजुको पनि भूमिका छ । उहाँले हामीलाई पैतृक सम्पत्तिमा अधिकार नदिएर राम्रै गर्नुभएछ जस्तो लाग्छ अहिले । नत्र त त्यही सम्पत्तिमा भुलेर बस्थेँ होला । त्यो अभावले संघर्ष गर्न सिकायो ।
मुस्लिम महिलाका लागि तपाईंले के गर्नुभएको छ ?
– सामाजिक संस्थामार्फत महिलाका लागि काम गरेँ । म पछाडि पनि मुस्लिम महिलाहरू खुलेरै सामाजिक काममा बाहिर आऊन् भन्ने चाहन्थेँ । मलाई उल्टै इस्लामिक समुदायको विरोधी पनि भने । तर, म आफ्नो कामबाट कहिल्यै पछाडि हटिनँ । आज म आवश्यक पर्दा दसौं हजार महिला सडकमा उतार्न सक्छु । यो साथ मैले आफूले गरेको कामकै आधारमा कमाएकी हुँ ।
सभासद् हुँदा कस्तो अनुभूति भएको थियो ?
– सम्मानित अनुभूति गरेकी थिएँ । तर, संविधानसभामा नेता बन्न होइन, संविधान लेख्न आएको हो । सामाजिक हक, महिला हक र मुस्लिमको हक स्थापनाका लागि लड्नु मेरो जिम्मेवारी हो । वडाध्यक्ष भएपछि उपमेयरमा पनि चुनाव लडेँ, त्यति बेला पार्टीभित्रैबाट असहयोग भयो । तैपनि मैले मुस्लिम समुदायबाट आएर काम गरेकी छु, गिरिजाबाबु (स्व. गिरिजाप्रसाद कोइराला) ले उच्च मूल्यांकन गर्नुहोला भन्ने भरोसा थियो, भयो पनि त्यस्तै । उम्मेदवारको चयन गर्ने बेलामा देशभरिको नाम आउँदा उहाँले ‘मोहम्मदी’ को नाम खोइ त भनेर सोध्नुभएछ । त्यसपछि ममा उत्साह र जिम्मेवारीबोध झनै बढेको थियो ।
त्यो जिम्मेवारी आज कत्तिको पूरा भएजस्तो लाग्छ ?
– वास्तवमा हिजोको जस्तो उत्साह आज छैन । सुरुमा संविधानसभाको जुन चार्म थियो, त्यसअनुसार काम गर्न पाइएन । कताकता निराशा उत्पन्न हुँदै गएको छ । हामीले दु:ख गरेर जनताको विश्वास बटुल्यौँ तर त्यसको कुनै अर्थ रहेन । त्यति बेलै अब तपार्इंहरूले ड्राफ्ट बनाइदिनुभयो, अब जानू भनेको भए हुन्थ्यो । त्यो पनि गरिएन । किनकि भोटिङ हुदाँ बहुमत पुर्‍याउन हाम्रो मत पनि आवश्यक हुन्थ्यो । तर, सोच्छु– यदि जनताको मतको भ्यालु थिएन भने हामीलाई किन त्यत्तिको खर्च गरेर जनताकोमा पठाएका ? निराशाकै बीच पनि पछिल्लो समय अलि–अलि आशा पलाएको छ, अबचाहिँ केही होला कि ?

प्रस्तुति : चमिना

प्रतिक्रिया