नेपाली कांग्रेसका आन्तरिक कमजोरी

गर्वका साथ भन्नुपर्ने हुन्छ नेपाली कांग्रेसका आजसम्मका मुख्य निर्णयहरू जनतालाई बढी सशक्तीकरण गर्ने, लोकतान्त्रिक समाज र विधिको शासन निर्माण गर्ने मार्गमा केन्द्रित देखिन्छन् । तसर्थ कमीकमजोरीका बाबजुद कांग्रेस नेतृत्व इतिहासमा आफ्नो मिसनमा सफल भएको छ । २००७ सालको आन्दोलन, ०१८ सालदेखि ०३३ सालसम्मको विद्रोह र प्रवास, ०३३ सालको राष्ट्रिय मेलमिलापको नीति, ०३६ सालको जनमत संग्रह, ०४६ सालको जनआन्दोलन र ०६२/०६३ सालको आन्दोलनदेखि गणतन्त्रको घोषणासम्म कांग्रेसले सफल नेतृत्व दिएको छ । तर, राष्ट्र निर्माणका आगामी दिनमा देशलाई एकताबद्ध बनाई यो नेपाल हामी सबैको साझ्mा फूलबारी हो भन्ने भावनासहितको नयाँ नेपालको नेतृत्वमा आफूलाई स्थापित गर्न सक्ला ?
विकास निर्माण र गैरराजनीतिक संस्था एवं संयन्त्रको निर्माण, जनताको शसक्तीकरण र समाज लोकतन्त्रीकरणका अभिन्न अंग हुन् । यद्यपि हाम्रो विकासको गति हामै्र छिमेकी देशका तुलनामा धेरै पछाडि परिसकेको छ । कांग्रेस नेतृत्वकालमा भएका विकास निर्माणका कामले नेपाल केही आधुनिक र अरू विकास गर्नका लागि पूर्वाधार तयार भएको छ । सञ्चार, यातायात र शिक्षामा गरिएको उपलब्धि अति उच्च छ । यदि हिंसाको चपेटामा नपरेको भए आज देशको मुहार पक्कै फरक हुने थियो । साथै, अन्य संवैधानिक निकाय, सञ्चार, पत्रकारिता र साहित्यको क्षेत्रमा जसरी नयाँ नेतृत्वको जन्म भएको छ त्यो नेपालको प्रजातान्त्रिक आन्दोलनको उपलब्धि हो ।
नेतृत्व निर्माणका सन्दर्भमा विश्वपरिस्थिति हेर्दा जब ठूला उथलपुथलहरू हुन्छन्, त्यसले नयाँ व्यवस्था मात्र होइन नयाँ नेतृत्व पनि निर्माण गर्ने गर्छ । सामान्यतया पुरानो असफल नेतृत्व नयाँ व्यवस्थामा नेतृत्वप्रदान गर्ने नैतिक हैसियत राख्दैन । उसले पुरानो व्यवस्थाको असफलताको नैतिक दायित्व लिँदै नयाँ नेतृत्वलाई सत्ताहस्तान्तरण गर्छ । तर, नेपालको सन्दर्भमा यो नियमको पटकैपिच्छे उल्लंघन भएको छ । बहुदलको प्राप्तिपछिका सुरुका दशकमा पञ्चायत व्यवस्थाकै प्रमुख नेताहरू नै एकदेखि अर्को गर्दै प्रधानमन्त्रीदेखि मन्त्रीसम्म भए । यसो हेर्दा के देखिन्छ भने एउटा विशेष वर्गले लडार्इं लड्छ तर लडाईंपछिको नेतृत्व कताकता अर्कै वर्गबाट आएका पुरानै व्यक्तिले गरेको पाइन्छ । ०६२–०६३ को जनआन्दोलनमा सडकमा उत्रिएको मानिसको मनोभाव बुझ्दा, मलाई लाग्दछ तिनीहरूले आन्दोलनपछाडि स्थापित भएको नेतृत्व चाहेका थिएनन् । तसर्थ जब हामी नयाँ नेपाल निर्माणको कुरा गर्छांै यसले नयाँ विचार र नेतृत्वको अपेक्षा गर्छ । त्यसको निम्ति देशका प्रमुख पार्टीहरू नेका, एमालेमा व्यापक पुनर्गठनको जरुरी छ । सम्भव भएमा उनीहरूको संगठनको यसरी रूपान्तरण जरुरी छ कि नेतृत्वका सबै परिवर्तन हुन सकून् ।
मानव इतिहासलाई अध्ययन गर्दा विचित्रको अनुभूति हुन जान्छ । संसारको इतिहास बदल्न जन्मेका महापुरुषहरू लोभ, मोह र कामुकतामा फसिदिँदा इतिहास नै कहाँबाट कहाँ पुग्दोरहेछ । एसिया विजय यात्रामा हिंडेका एन्टोनी, रोमन सम्राट जुलियस सिजरदेखि इतिहास बदल्नका लागि नै जन्मदिएका मिश्रका हरमासिस मिश्रकी राजकुमारी क्लियोपेट्राको सौन्दर्यमा डुबी आफ्नो अस्तित्व, दायित्व र लक्ष्य नै भुलेको देखिन्छ । यदि क्लियोपेट्राको नाक थोरै बाङ्गो भइदिएको भए रोम साम्राज्यको इतिहास नै अन्यत्र मोडिने थियो । नेपालको सन्दर्भमा कुरा अगाडि बढाउँदा, पृथ्वीनारायण शाह राष्ट्रप्रति जति इमान्दार थिए, उनका सन्तति थोरै मात्र पनि इमान्दार भइदिएको भए नेपाल गणतान्त्रिक मुलुक नै हुने थिएन । त्यस्तै जति सहनशीलता र माथि उठ्नसक्ने व्यक्तित्व बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेरमा थियो त्यसको थोरै मात्रै अंश अन्य नेताहरूमा भइदिएको भए हतियारधारी पुष्प कमल दाहालको जन्म नै हुने थिएन । त्यसैकारण इतिहास बदल्न र निर्माण गर्न खोज्नेहरूले इतिहासका कमीकमजोरीबाट सिक्न र सिकाउन सक्नुपर्दछ । नेपालको इतिहासलाई हेर्ने हो भने इतिहासका धेरै पानाहरू कांग्रेसको प्रजातान्त्रिक आन्दोलनबारेमा लेखिएका छन् ।
तर, विडम्बना कांग्रेसको नेतृत्व जब सत्तामा पुग्दछ, आपसी विवाद र सत्ताको भागबन्डामा सुनौलो इतिहासलाई भुल्दछ । जसको कारण ०४८ सालको संसदीय निर्वाचनमा दुई सय पाँच निर्वाचन क्षेत्रमध्ये एक सय १३ सिटमा विजय हासिल गर्ने कांग्रेस संविधानसभाको निर्वाचनमा दुई सय ४० निर्वाचन क्षेत्रमध्ये ३७ सिटमा मात्रै खुम्चिन पुगेको छ । यसको जिम्मेवारी कसले लिने ? यस सम्बन्धमा समीक्षा गर्ने कि नगर्ने ? माओवादीतिर आँैला ठड्याएर आफ्ना कमीकमजोरी लुकाउन खोज्ने हो भने कांग्रेसको धेरै समयसम्म सडकको बास हुन सक्छ । समयको वेगलाई चिनेर परिवर्तन हुनसक्ने, हरेक आन्दोलनको नेतृत्व गर्ने कांग्रेसको पराजयसम्बन्धमा नेपाली युवाले समीक्षा गर्नुपर्दछ । कांग्रेसको इतिहासलाई पछाडि फर्केर हेर्ने हो भने उसले राष्ट्रलाई कमजोर पार्ने, जनतालाई असर गर्ने, राष्ट्रिय मुद्दाहरूमा सहकर्मी पार्टीहरूलाई मौकामा चौका हान्नुपर्छ भन्ने रणनीति लिएर बाटो कुरेर पनि कहिल्यै बसेको छैन । नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व यसले नै गरेको छ । कांग्रेसका कमीकमजोरीका कारण माओवादी पार्टी सत्तामा बसेको छ ।
कांग्रेस जब सत्तामा पुग्छ सत्ताको राप र तापमा आफ्ना योग्य र कर्मठ साथीहरूको सल्लाह सुझावलाई ध्यान नदिई, सत्तामा बसिरहने नाममा सीमित व्यक्तिको सम्प्रदाय–गुट निर्माण गर्ने र नेतृत्ववर्ग गुटभन्दा बाहिरका कुराहरू नसुन्ने र सिङ्गो कांग्रेसलाई अपमान गर्दै सीमित व्यक्ति नै सबै हुन् भन्ने ठानेका कारण योग्य र सक्षम व्यक्तिहरू योग्यताका आधारमा सही ठाउँमा रहन सकेनन् । कांग्रेसको शासन सञ्चालन क्रममा निश्चित मानिसहरू साधंैभरि पार्टी र सत्तामा रहिरहे । उनैले विवाद गरे, उनैले पार्टीलाई विभाजन गरे, कमाउने ठाउँमा उनैले कमाए, सुविधा लिने ठाउँमा उनैले लिए । ती मानिसहरूसँग कांग्रेसमात्र हैन जनता पनि असन्तुष्ट थिए । तैपनि मूल नेतृत्वले तिनीहरूलाई काखी च्यापी रह्यो । जनताले कांग्रेस भ्रष्टहरूको झुण्ड हो भन्ने ठान्यो र कठोर दण्ड दियो गत निर्वाचनमा ।
कांग्रेसको विधानमा गाउँ, क्षेत्र र जिल्ला अध्यक्षको मात्र निर्वाचन हुने व्यवस्था छ । केन्द्रमा अध्यक्षलगायत ५० प्रतिशत केन्द्रीय सदस्यको निर्वाचन गर्ने व्यवस्था गरिएको छ । गाउँदेखि केन्द्रसम्मका कार्यकारिणी पददेखि सदस्यसम्म नियुक्ति अध्यक्षले गर्ने हुँदा कार्यसमितिहरू स्वतन्त्र हुनसकेको देखिंदैन । यो अध्यक्षात्मक प्रणालीले स्वतन्त्र व्यक्तित्व निर्माण र नेतृत्व क्षमताको परीक्षण हुन पाएन । गणेश प्रवृति हाबी भयो र नेतृत्व विकासमा अवरोध पुग्यो । यसरी वर्तमानमा आइपुग्दा कांग्रेस कमजोर अवस्थामा पुग्यो । यसैको फाइदा उठाउँदै लोकतान्त्रिक संविधान नलेख्ने षडयन्त्र, जातीय सदभाव भत्काउने काम र विभिन्न अराजनीतिक आन्दोलन भइरहेका छन् ।

प्रतिक्रिया