पत्रकार भएर बल्ल आउने हो ?

सेती नदीको बाढीले किनारका बस्ती बगाएर बितन्डा मच्चाएपछिको चौथो दिन । बाढी आउनुको मुख्य कारण पत्ता लगाउन नेपाल वातावरण पत्रकार समूह (नेफेज)बाट गएका काठमाडौंका १३ जना वातावरण पत्रकार बिहानको नौ बज्दै गर्दा बगर बनेको खारापानी पुग्यौँ । केही घर, बजार र करिब ४० सर्वसाधारण पुरिएको भनिएको खारापानी बजारलाई हिलोले टम्म भरेको थियो । सुरक्षाकर्मी र स्थानीय बासिन्दा डोजर लगाएर शव र भग्नावशेष खोज्न जुटिरहेका थिए । खारापानी कटेर अघि बढ्न हिलाम्ये भागबाट हिँडिसक्नु थिएन । त्यसैले भित्ताको बाटो चार हातखुट्टा टेकेर बाटो लागियो ।
पोखरादेखिको मानिसको हुल ‘ऊ त्यहाँ बजार थियो, उतापट्टि तातोपानी कुण्ड थियो, पारि पिकनिक स्पट थियो’ भन्दै इतिहास बनेको खारापानी बजारको स्मरण गर्दै थिए । सुख्खायाममा आएको बाढीको विध्वंश हेर्नेको ताँती थियो । छेउँबाट हिँड्दै गर्दा बाढीले पुरेका प्रेसर कुकर, लुगाफाटो, बोतल, ग्याँसको पाइपजस्ता वस्तु छरपस्ट देखिन्थे । करिब एक घन्टा त्यो क्षेत्रको अवलोकन गरेर अघि बढियो ।
खारापानीमा बचेको भनेको डाँडाको एउटा रेस्टुरेन्ट रहेछ । चिया पिउन रेस्टुरेन्टको गोलो टेबुलमा जाँदै गर्दा बाढीले भतिजो र सिंगो होटल बगाएको पीडा भुलाउन गुरुङ गाउँका दुई युवा ‘रोयल स्टग’ ह्विस्की पिउँदै थिए । कुरा गर्दै जाँदा उनीहरू भतिजोको शव भेटिन्छ कि भनेर दिनहुँ खारापानी झर्ने र बेलुकासम्म कुर्ने गरेको बताए । ‘सास त छैन नै, लास भेटिन्छ कि भनेको आझैसम्म फेला परेन,’ एकजनाले भने । त्यसो भनेर सुइया गरिनसक्दै दुबैको आँखा भरियो ।
एकैछिन त्यहाँ बसेर कान्तिपुरका अब्दुल्लाह मिया र म दुईजना सादेल जान बाटो लाग्यौँ । १३ जनाको टिममा बाँकी ११ जना भिडियो रेकर्डिङ र थप रिपोर्टिङका लागि तलै रोकिए । खारापानीभन्दा माथिल्ला गाउँमा अहिलेसम्म कोही पनि अध्ययनका लागि नगएकाले पहिलोपटक पुगिने र केही नयाँ कुरा पत्ता लाग्ने आशले छिटोछिटो हिंड्यौँ हामी । बाढीले भराभरी गाउँ जोड्ने मोटरबाटो पूरै बगाएकाले गोरेटो बाटो हिंड्नु पर्‍यो । १५ मिनेट हिंडेर भराभरी गाउँ पुगेपछि बाढीको क्षति हेर्न सादेल जान लागेका पोखरा आसपासका स्थानीयको एक हुल भेट भयो । उनीहरूको तालमा हिंड्दा १५ मिनेटमै अर्को गाउँ भलाउदी पुगियो ।
तलबाट गएका एक स्थानीयले चिनजानको एक घरमा बाटोबाटै पानी मागे । बाटोमै उभिएर पानी पिएपछि उनीहरू बाटो लागे । हामी दुईजना पानी पिएकै घरमा रोकियौँ । मगरबस्ती भएकाले होला अरू चिजभन्दा तीनपाने ह्वास्स गन्हाउँदै नाकमा ठोकिरहेको थियो । पिँढीमा ओछ्याएको गुन्द्रीमा बसेर केही सोध्न खोज्दै गर्दा घरको बूढो मान्छे एकाएक जंगिए, ‘तपार्इंहर्ले पनि त्यै के भएको थियो भनेर सोध्ने त होला नि हैन ?’ हामीले क्यै भन्न नपाउँदै बूढाले हिस्सिदै भने, ‘जसले पनि सोध्छ मात्रै गर्ने कसैले केही हैन ।’
कुरा बुझ्दा सेतीमा बाढी आउँदादेखि त्यो बेलासम्म सबैजसो सञ्चारमाध्यमलाई अवस्था वर्णन गर्दागर्दा उनी हैरान भएका रहेछन् । बाढी आएको तीन दिनपछि पनि कोही माथिल्लो भेगमा नपुगेकामा उनी रिसाएका थिए ।
‘हामी काठमाडौंबाट आएका पत्रकार हौँ, सादेलसम्मै पुग्छौँ,’ मैले भनेँ, ‘खारापानीभन्दा माथि कोही आएको रै’नछ अहिलेसम्म है ?’ मैले भनिनसक्दै उनले सोधे, ‘पत्रकार भएर बल्ल आउने हो ?’ सेतीमा बाढी आएको खबर काठमाडौंमा पुग्नुपर्‍योदेखि गाडीको यात्रा, पोखरा बसाइपछि पनि अरू र पोखराका पत्रकारभन्दा अघि भलाउँदी आइपुगेको बेलीविस्तार लगाएपछि बूढाको चित्त बुझेछ क्यारे ।
अनि केही नसोध्दै बूढा आफंै सुरु गर्न थाले, ‘त्यो दिन त सर, सेती त गटटटटट…।’

प्रतिक्रिया