एम्बुलेन्समा मदिराका बोतल

कैलाली, १ वैशाख । धनगढीबाट मदिरा बोकेर बझाङतिर गइरहेको सरकारी नम्बर प्लेटको एम्बुलेन्सलाई डडेल्धुरामा नियन्त्रणमा लिईएको छ ।
अखण्ड सुदूरपश्चिम समर्थकले सो एम्बुलेन्सलाई मदिरा सहित आज नियन्त्रणमा लिएका हुन् । एम्बुलेन्स र चालकलाई उनीहरुले प्रहरीको जिम्मा लगाएका छन् ।
मदिरा र यात्रु बोक्ने गरेको थाहा पाएका स्थानीयले बागबजारमा एम्बुलेन्स रोकेर हेर्दा मदिरा फेला पारेको एमाले डडेल्धुराका अध्यक्ष विक्रम शाहीले बताए ।
सरकारी नम्बर प्लेट से १ झ २१२ नम्बरको एम्बुलेन्स र चालक जगदीश बोहरालाई आन्दोलनकारीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय डडेलधुराको जिम्मा लगाएका छन् ।
एम्बुलेन्समा ठूलो परिमाणमा मदिरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव उपरिक्षक विनोद घिमिरेले बताए ।
एम्बुलेन्समा लुकाई छिपाई राखेको अवस्थामा भर्जिन, जिन, युनिकोन लगायतका पाँच पेटी मदिरा र केही तरकारी बरामद गरिएको नायव उपरिक्षक घिमिरे जानकारी दिए ।
एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्र देउलेक बझाङको रहेको प्रहरी भनाई छ । (फाईल फोटो)

प्रतिक्रिया