एसटिएम टेलिकमको सेवा बन्द

काठमाडौं, १ जेठ । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याइरहेको कम्पनी एसटिएम टेलिकम सञ्चारको सेवा एक महिनादेखि बन्द रहेको उपभोक्ताले जानकारी दिएका छन् । यसबारे जानकारी गराउँदा कम्पनीले कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ ।
नुवाकोटको पूर्वीक्षेत्रमा एसटिएमको सार्वजनिक टेलिफोन (पिसिओ) चलाइरहेका पुष्पअञ्जलीले कम्पनीको टेलिफोन विगत २८ दिनदेखि बन्द रहेको जानकारी दिएका छन् । उनले एक वर्षअघि एक लाख रुपियाँ खर्च गरेर भिस्याट प्रविधिको फोन जडान गरेका थिए । नेपाल टेलिकम तथा एनसेलको मोबाइल नचल्ने सो क्षेत्रमा एसटिएमको सेवा बन्द हुँदा उपभोक्ताले हैरानी खेप्नु परिरहेको उनले बताए ।
करिब एक महिनाअगाडि कम्पनीले कुनै जानकारी नै नदिई फोन बन्द गरेको उनले बताएका छन् । सदरमुकाम विदुरस्थित एसटिएमको कार्यालयमा बुझ्दा देशभरिका सबै फोन बन्द भएको जानकारी आफूले पाएको उनले बताए । कम्पनीको कार्यालयले सेटेलाइटमा समस्या आएर बन्द भएको र केही दिनपछि खुल्ने जानकारी दिएको भए पनि आइतबारसम्म नखुलेको उनको भनाइ छ ।
अन्य क्षेत्रमा पनि कम्पनीको सेवा बन्द भएको जानकारी आफूले पाएको दाबी उनले गरेका छन् । ‘एउटा कम्पनीका सबै फोन बन्द हुनु सानो विषय पक्कै होइन,’ उनले इमेलमा लेखेका छन् । टेलिफोन बन्द भएको विषयमा जानकारी गराउँदा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समेत चासो नदिएको उनको गुनासो छ ।
सेवा बन्द भएको विषयमा जानकारी लिन खोज्दा एसटिएमका प्रमुख कार्यकारी अधिकृत सुनिल जाकिबन्जा उपलब्ध भएनन् । उनका सहयोगीले जाकिबन्जा व्यस्त भएकाले अहिले कुरा गर्न नसक्ने बताए । जाकिबन्जा अधिकांश समय भारतमा बस्ने गरेको बताइएको छ ।
प्राधिकरण प्रवक्ता कैलाशप्रसाद न्यौपानेले सेवा बन्द भएको विषयमा आधिकारिक जानकारी नआएको बताए । यसबारे कम्पनीसँग जानकारी लिइने र सेवा बन्द भएको भए तत्काल सुचारु गर्न निर्देशन दिइने उनले जानकारी दिए । ‘उपभोक्ताको गुनासो आएपछि सेवाप्रदायकलाई ध्यानाकर्षण गराइन्छ,’ उनले भने । जनशक्ति अभावमा दूरसञ्चार कम्पनीका सेवाका स्थितिबारे नियमित अनुगमन गर्न नसकिएको प्राधिकरणले बताउँदै आएको छ । त्यस्तै प्राधिकरण उपभोक्ता शाखा प्रमुख अर्जुन घिमिरेले एसटिएमबारे ग्राहकबाट गुनासो आएको बताउँदै कम्पनीले केहि दिनको लागी सेवा बन्द भएको जानकारी दिएको बताए । हाल सेवा सुचारु भए नभएको बारे भने प्राधिकरण अनभिज्ञ छ ।
कम्पनीको आर्थिक अवस्था धराशयी भएकाले सेटेलाइटका लागि तिर्नुपर्ने लाखाँै डलर तिर्न नसक्दा फोन बन्द भएको स्रोतको दाबी छ । एसटिएम स्थापना गर्न विश्व बैंकले एक करोड २० लाख डलर नेपाल सरकारलाई ऋण दिएको थियो । यसका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी अन्तर्राष्ट्रिय बोलपत्रबाट एसटिएमलाई अनुमति दिएको थियो । अनुदान रकम खर्च भइसकेको र सेवा विस्तार सुस्त हँुदा घाटा व्यहोर्नु परेको बताइएको छ । लाइसेन्सको सर्तअनुसार उसले पूर्वाञ्चल विकासक्षेत्र र अन्य ग्रामीण क्षेत्रभित्र सेवा प्रदान गर्नुपर्छ ।
प्राधिकरणको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार एसटिएमका पिएसटिएन र एलएमएस प्रविधिका गरी पाँच हजार तीन सय ३६ ग्राहक र दुई हजार पिसिओ छन् । गत वर्षको फागुन मसान्तमा उसका ग्राहक पाँ चहजार दुई सय २० भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । कम्पनीले लामो समयदेखि प्राधिकरणलाई ग्राहकको तथ्यांक उपलब्ध गराएको छैन ।
०६० माघमा लाइसेन्स पाएर ०६१ जेठबाट सेवा सुरु गरेको कम्पनीले भिस्याट, एमएफटिडिएमए र अन्य उपयुक्त प्रविधिको प्रयोग गरी सेवा सञ्चालन गर्न पाउँछ । कम्पनीलाइ एक लाख रुपियाँ अनुमतिपत्र दस्तुर लिएर लाइसन्स दिइएको थियो भने उसले वार्षिक आयको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाउनुपर्छ ।
मोबाइल फ्रिक्वेन्सीका सम्बन्धमा छानबिन गर्न गत वर्ष गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदनअनुसार द्वन्द्वको कारण देखाउँदै कम्पनीले सेवा पुर्‍याउनु पर्ने गाविसका नाम पटकपटक संशोधन गरेको थियो । पूर्वाञ्चलमा मात्र सेवा दिने लाइसेन्स पाएको कम्पनीलाई सभासद्हरूको मागअनुसार देशभरि सेवा सञ्चालन गर्न पाउने गरी सरकारले लाइसेन्स संशोधन गरिदिएको थियो ।
लेखासमितिको बैठकमा एसटिएमका अधिकारीले ग्रामीण क्षेत्रमा टेलिफोन सञ्चालन गर्दा नाफा नहुने भएकाले सरकारले प्रोत्साहन र सहुलियत दिनुपर्ने माग राखेका थिए । बैठकमा एसटिएम टेलिकमका प्रमुख कार्यकारी अधिकृत जाकिबन्जाले कम्पनीलाई दिइएको २.४ मेगाहर्ज फ्रिक्वेन्सी कम भएको र कम्तीमा पाँच मेगाहर्ज पाउनुपर्ने माग गरेका थिए तर गत वर्ष जेठमा पारित फ्रिक्वेन्सी नीतिअनुसार एसटिएमले पाएको फ्रिक्वेन्सीमध्ये आठ प्रतिशत मात्र प्रयोग गरिरहेको छ । फ्रिक्वेन्सी लिएर प्रयोग नगरेको भन्दै प्राधिकरणले एसटिएमलाई चर्को शुल्क लगाइएको बताइएको छ ।

प्रतिक्रिया