जन्डिसको जोखिम

सामान्यतया नेपालमा जन्डिसलाई रोगकै रूपमा चिनिन्छ । तर, यो कुनै रोग नभई एउटा लक्षण मात्र हो । जन्डिसलाई कमलपित्त वा पहेँलो रोग पनि भनिन्छ । शरीरका प्याङ्क्रियाज वा पित्तथैली, कलेजो आदिमा लाग्ने रोगहरूको लक्षण नै जन्डिस हो । जन्डिस भएपछि आँखा र जिब्रोको तल्लो भागका साथै बिस्तारै शरीरको छाला पहेँलिन थाल्छ ।
जन्डिस हेमोग्लोबिनमा मेटाबोलिज्मको मात्रा बढेपछि देखिन्छ । रक्तकोशिकाभित्रको हेमोग्लोबिन हेमो र ग्लोबिन गरी दुई भागमा टुक्रिन्छ । यसरी आएको हेमो बिलिरुबिनमा परिणत हुन्छ । अत्याधिक रूपमा हुने रक्तकोशिकाको हानिले मेटाबोलिज्ममा पनि तीव्रता आउँछ । हेमो बिलिरुबिनमा परिणत भएपछि त्यो रगतको माध्यमबाट कलेजोमा जान्छ । कलेजोको बाटो हुँदै बिलिरुबिन पित्तथैलीमा संकलित हुन्छ । कुनै कारणवश अत्याधिक मात्रामा रक्तकोशिकाको क्षति अथवा बिलिरुबिन प्रवाहित हुने मार्गमा कुनै किसिमको अवरोध उत्पन्न भएको खण्डमा रगतमा बिलिरुबिनको मात्रा बढ्न जान्छ । सामान्यभन्दा बढी नाघेको खण्डमा बिलिरुबिन छाला, टिस्यु आँखा आदिमा गएर मिसिने हुँदा शरीर पहेँलो हुन्छ । सामान्यतया बिलिरुबिनको मात्रा मानिसमा १ देखि १.५ मिलिग्राम प्रतिडेसिलिटर हुने गर्छ । त्यो मात्रा प्रतिडेसिलिटर २ मिलिग्रामभन्दा बढी भएमा जन्डिस भएको बुझ्नुपर्छ । २ मिलिग्रामभन्दा माथि हुनेबित्तिकै पहेँलोपन देखिन सुरु हुन्छ ।
जन्डिसलाई मुख्य गरी प्री हेपाटिक, हेपाटोसेलुलर र पोस्ट हेपाटिक गरी तीन भागमा बाँड्न सकिन्छ । प्री हेपाटिक शरीरमा रातो रक्तकोशिका छिटोछिटो नष्ट भएमा हुन्छ । हेपाटोसेलुलर सबैभन्दा बढी पाइने जन्डिस हो । योचाहिँ कलेजोमा उत्पन्न हुने समस्याले निम्त्याउँछ । पोस्ट हेपाटिक भने सर्जिक जन्डिस हो ।
कलेजोमा हुने रोगले बिलिरुबिनको उत्पादन प्रक्रियामा अवरोध सिर्जना गराउँछ । कुनै किसिमको संक्रमण, औषधिको प्रयोग, हेपाटाइटिस सिरोसिसजस्ता कलेजोका असामान्य अवस्थाले हेपाटिक जन्डिस गराउँछ । पित्तथैलीमा पत्थरी, क्यान्सर, जुकाको समस्याले पोस्ट हेपाटिक जन्डिस हुन्छ ।
भाइरसले कलेजोमा संक्रमण गर्दा हेपाटाइटिस हुन्छ । ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ र ‘ई’ विषाणु यसका कारण हुन् । हेपाटाइटिस ‘ए’ र ‘ई’ को संक्रमण त्यति खतरनाक हुँदैन । यसमा साधारण जन्डिसका लक्षण देखा पर्छन् । तर, ‘बी’ र ‘सी’ भने घातक हुन्छ । रक्सीका कारणले पनि हेपाटाइटिस हुन्छ ।
भाइरल हेपाटाइटिस वा जन्डिस धेरै नै सूक्ष्म विषाणुले गर्दा हुन्छ । हेपाटाइटिस भनेको संक्रमण वा गैरसंक्रमणको कारणले कलेजो सुन्निनु हो । बोलचालको भाषामा हेपाटाइटिसलाई पनि जन्डिस भनिन्छ  । तर, हेपाटाइटिस जन्डिसको कारण मात्र हो । हेपाटाइटिस धेरै कारणले हुन सक्छ । हेपाटाइटिसका भाइरसमध्ये विश्वव्यापी रूपमा पाइने हेपाटाइटिस ‘ए’ र ‘ई’ का भाइरस संक्रमित व्यक्तिको दिसाबाट प्रदूषित पानी र खाद्यपदार्थको माध्यमले स्वस्थ व्यक्तिमा सर्छ । विशेष गरी यस्तो हेपाटाइटिस गर्मी र वर्षात्को मौसममा बढी हुन्छ । त्यस कारण भाइरसका कारणले हुने जन्डिस यो मौसममा बढी देखिने गर्छ ।
हेपाटाइटिस ‘ए’ र ‘ई’ लागेको बेला प्रशस्त रसिलो पदार्थ, कार्बोहाइड्रेडयुक्त भोजन, केही भिटामिन र पर्याप्त आरामको खाँचो पर्छ । नेपालमा वर्षायामसँगै सरसफाइमा ध्यान नदिँदा ‘ए र ‘ई’ को संक्रमण बर्सेनि बढिरहेको पाइन्छ । तसर्थ खानेकुरा राम्ररी पकाएर, पानी भकभकी उमालेर मात्र सेवन गर्नुपर्छ । जन्डिसको उपचारपद्धति यो के कारणले लागेको हो भन्नेमा भर पर्छ । सामान्य लक्षण देखिनासाथ चिकित्सकीय सल्लाह लिनु उचित हुन्छ । यसका लागि हेपाटाइटिस भ्याक्सिन पनि निकै फलदायी हुन सक्छ  । तर, रोग पूरै फैलिइसकेको अवस्थामा भने महँगा औषधि प्रयोग गर्नुपर्ने हुन्छ । क्यान्सर, लिभर सिरोसिस घातक हुन्छन्, त्यसैले उचित समय एवं स्थानमा उपचार गराइहाल्नुपर्छ । पत्थरी भएको अवस्थामा शल्यक्रियाबाट ढुंगा निकाल्नुपर्छ । असुरक्षित यौनसम्पर्क, लागुपदार्थको दुव्र्यवसन र मद्यपानले पनि जन्डिस लाग्ने भएकाले यस्ता चिजको लत छाड्नुपर्छ ।
जन्डिस भएको समयमा तेल, नुन, बेसार खान हुँदैन भन्ने चलन छ, यो बिल्कुलै गलत हो । यत्ति हो, अरू बेलाको तुलनामा कम मात्रामा खाँदा हुन्छ । यस्तो बेला कलेजोलाई आराम दिनुपर्छ, प्रशस्त मात्रामा चिनीपानी खुवाउनु राम्रो हुन्छ । पौष्टिक खानेकुराहरू खानुपर्छ तर धेरैचाहिँ होइन । उखुको रस, मेवा, काँक्रो, सागसब्जी र प्रशस्त तरकारीको सेवन गर्नुपर्दछ ।
प्रस्तुति : प्रवीण ढकाल

प्रतिक्रिया