दसगजामा भारतीय व्यापारीको हत्या

वीरगन्ज, १ जेठ । नेपाल भारतको दसगजा क्षेत्रमा गोली हानेर भारतीय व्यापारीको हत्या भएको छ । वीरगन्जको सीमावर्ती सहर रक्सौलको मितेरी पुलमा शनिबार राति कवाडी व्यापारी मुन्ना गुप्ताको हत्या भएको हो । मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर गुप्ताको हत्या गरेको हो । गुप्ता रक्सौलको अहिर्वा टोलका स्थायी बासिन्दा हुन् ।

रक्सौल बजारबाट घर जाने क्रममा अपरिचित समूहले गुप्तालाई मितेरी पुलमा पुर्‍याएर गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुप्ताको शव आपराधिक समूहले नै मोटरसाइकलमा राखेर रक्सौलस्थित डंकन हस्पिटलअगाडि फ्याँकेको थियो । रक्सौल हरैयास्थित भारतीय थानाका प्रहरीले शव पोस्टमार्टमका लागि मोतिहारी पठाएको छ । हत्याराको पहिचान हुन नसकेको र खोजी कार्य जारी रहेको रक्सौल प्रहरीले बताएको छ ।
कवाडी व्यापारी गुप्ताको हत्याको विरोधमा रक्सौलका स्थानीय बासिन्दाले आइतबार मितेरी पुलमा प्रदर्शन गर्दै तीन घन्टा जाम गरेका थिए । घटनाबारे छानबिन गर्न, दोषी पत्ता लगाई कारबाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै भारतीयले वीरगन्ज रक्सौल नाका तीन घन्टा अवरुद्ध पारेका हुन् । दिउँसो भएको सहमतिपछि पुल सञ्चालनमा आएको छ ।

प्रतिक्रिया