प्रशान्तले नचाए चनौलीलाई

चितवन : तेस्रो इन्डियन आइडल प्रशान्त तामाङको सांगीतिक प्रस्तुतिले पश्चिम चितवनको चनौली शनिबारको साँझ संगीतमय बन्यो ।
नेपाली माया बोकेर चितवनको चनौली आइपुगेको बताउँदै यी नेपाली मूलका ठिटाले घरी राष्ट्रियताले ओतप्रोत देशभक्तिका गीतमार्फत दर्शकको ढुकढुकी बढाए त घरी मायाप्रीतिका गीतमा धीत मरुन्जेल नचाए । रातो र चन्द्रसूर्य बोलको राष्ट्रिय गीतबाट चनौलीवासीलाई राष्ट्रियताको भावनामा डुबाए । आफू भारतीय नागरिक भए पनि जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो गाएर आफूमा रहेको नेपालीपन दर्साए । नेपालमा बढ्दै गएको जातीय विखण्डन रोकी शान्ति कायम गर्न गीतका साथै मञ्चबाटै उनले पटकपटक अनुरोध पनि गरे । चनौली बजार व्यवस्थापन समिति र सी ब्रदर्स चनौलीको संयुक्त रूपमा आयोजनामा द रक लाइभ कन्सर्ट नाम दिइएको सांगीतिक साँझमा तामाङले साँझ अबेरसम्म दर्शकलाई संगीतमा झुमाएका थिए । चितवनमा यो उनको दोस्रो कन्सर्ट हो । (सौर्य)

प्रतिक्रिया