निर्वाचनमै जानु उपयुक्त हुन्छः अध्यक्ष थापा

भद्रपुर, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली जनताको चाहनानुसार तोकिएको समयमा उत्कृष्ट लोकतान्त्रिक संविधान तयार हुन सक्ने अवस्था रहेको बताएका छन् ।

झापामा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले मुलुकमा नयाँ निर्वाचन आवश्यक रहेको बताए । उनले चार प्रमुख दलको भागबन्डा र लेनदेनको आधारमा निर्माण गरिने संविधान मुलुकमा दिगो शान्तिको स्थापना, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक समृद्धिको लक्ष्य प्राप्त हुनुको सट्टा मुलुक नयाँ चरणको द्वन्द्वमा फस्ने सम्भावना भएको दाबी गरे ।

अध्यक्ष थापाले हतार र हचुवाको भरमा संविधान निर्माण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरे ।

‘जे जति कमजोरी भएको छ, त्यसलाई दुर्भाग्य ठान्दै नयाँ ढङ्गबाट अगाडि बढनुपर्छ’, उनले भने, ‘चार वर्षको दरम्यानमा प्राप्त उपलब्धिलाई सञ्चय गरी निर्वाचनमा जानु नै उपयुक्त हुने छ ।’

जातीय आधारमा सङ्घीयता अवधारणा नै गलत रहेको भन्दै उनले जातीय राज्यका साथै अग्राधिकार, आत्मनिर्णयको अधिकारजस्ता अधिकार दिएर राज्य विभाजन गर्दा सिङ्गो मुलुक नै असुरक्षित हुने सक्ने बताए ।

प्रतिक्रिया