नेविसंघ इकाई अध्यक्ष जैसीमाथि खुकुरी प्रहार

काठमाडौं, ३१ वैशाख । एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेताहरुले नेविसंघ त्रिचन्द्र क्याम्पस इकाईका अध्यक्ष कृष्ण जैसीलाई खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएका छन् ।
क्याम्पस परिसर भित्र आज विहान ८ बजे अनेरास्ववियुका विद्यार्थी नेताले खुकुरी प्रहार गरेर जैसीलाई घाईते बनाएको प्रहरीले जनाएको छ । नेविसंघ र अनेरास्ववियुवीचको पुरानो झगडाका कारण झडप हुँदा जैसी माथी खुकुरी प्रहार भएको प्रहरी भनाई छ ।
दैलेख जिल्ला पिपलवोट–३ स्थायी घर भएका ३१ वर्षीय जैसी काठमाडौंको मनमैजुमा बस्दै आएका थिए । घाईते जैसीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।
खुकुरी प्रहार गर्ने रुपन्देही स्थायी घर भई कलंकी बस्ने २२ बर्षीय संगम अर्याल र पुतलीसडक बस्ने २२ बर्षीय मदन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने पाण्डे अनेरास्ववियु त्रिचन्द्र क्याम्पसका सचिवालय सदस्य हुन् ।
खुकुरी प्रहारबाट मैतीदेवी बस्दै आएका त्रिचन्द्र क्याम्पसका स्ववियु सचिव २९ बर्षीय संजय यादव समेत घाईते भएका छन् । उनको टाउकोमा चोट लागेका छ । यादवको पनि वीर अस्पतालमा उपचार भईरहेको छ ।
घटनामा अनेरास्ववियुका शिखर शाह र सरिता सापकोटासमेत घाइते भएका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भई रहेको छ ।
घटनामा संलग्न त्रिचन्द्र क्याम्पसका सभापति बिष्णु पौड्याल, सचिव संजय यादव र सदस्य राजेश काप्mलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया