ढाल विनाश गर्ने रुसको चेतावनी

मस्को, ३१ वैशाख । अमेरिकी पहलमा नेटोले युरोपमा निर्माण गर्न लागेको क्षेप्यास्त्र निरोधक ढालबाट सुरक्षा चुनौती उत्पन्न हुने देखे ढाल विनाश गर्ने चेतावनी रुसले दिएको छ । रुसी प्रतिरक्षामन्त्री एनातोली सेद्र्युकोभले ढालबाट रुसी सुरक्षामाथि खलल पुग्ने निष्कर्ष निस्किए विनाश गर्ने चेतावनी दिएका हुन् । रुसको उच्च राजनीतिक तथा सैन्य नेतृत्वबाट ढालमाथि ‘अग्रीम हमला’ गर्ने चेतावनी यसअघि नै सार्वजनिक भइसकेको छ ।
‘ढाल तैनाथीसँग हाम्रा सरोकार गाँसिएका छन्, त्यसैले क्षेप्यास्त्र निरोधकलाई हामी नष्ट गछौं’, संवाददातासँग प्रतिरक्षामन्त्री एनातोलीले भने । यसका लागि रुसी सेनालाई ‘अतिरिक्त क्षमता’ जरुरी नरहेको उनले बताए । ‘हामीसँग भएको इस्केन्डर क्षेप्यास्त्रले यो काम पूरा गर्न सक्छ,’ उनले भने । यद्यपि, ढाल निर्माणबारे अमेरिकी प्रस्तावको आफूहरूले अझै प्रतीक्षा गरिरहेको उनले उल्लेख गरे ।
रुसको सीमाछेउ निर्माण गर्न लागिएको ढाल आफूविरुद्ध लक्षित रहेको भन्दै रुसले आपत्ति जनाउँदै आएको छ । क्षेप्यास्त्र निरोधक प्रणाली आफूविरुद्ध प्रयोग नहुने कानुनी प्रतिबद्धता रुसले माग गरिरहेको छ । तर, अमेरिका र नेटोले भने क्षेप्यास्त्र प्रणालीको दायरालाई संकुचन नगरिने बताउँदै आएका छन् । क्षेप्यास्त्र प्रणाली रुसविरुद्ध लक्षित नभएको मौखिक आश्वासन उनीहरूले दोहोर्‍याए पनि यसबाट रुस आश्वस्त हुन सकेको छैन । इरानी क्षेप्यास्त्रबाट युरोपको सुरक्षा गर्न ढाल निर्माण गर्न लागिएको नेटोको भनाइ छ । तर, ढाल निर्माणपछि रुसको परमाणु शस्त्रागार र क्षेप्यास्त्र प्रणाली नष्ट गर्ने सामर्थ नेटोले हासिल गर्ने भन्दै रुसले विरोध गर्दै आएको छ । रुसको विरोधका बाबजुद सन् २०१८ सम्म ढाल निर्माण सम्पन्न गर्ने अडान अमेरिकाले लिएको छ । (एजेन्सी)

 

पुटिन चीन जाने
तेस्रो पटक रुसमा राष्ट्रपतिको कार्यभार सम्हालेका भ्लादिमिर पुटिनले चीनबाट विदेश भ्रमण सुरु गर्ने भएका छन् । अमेरिकाबाट विदेश भ्रमण आरम्भ गर्ने कार्यक्रम रद्द गर्दै उनी चीन जाने भएका हुन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले डाकेको जी–८ को बैठकमा सहभागी हुन उनी अमेरिका जाने तय भएको थियो । तर, राष्ट्रपतिको शपथ लिएपछि उनले जी–८ को बैठकमा सहभागी नहुने बताए । ओबामालाई टेलिफोन गरी पुटिनले आन्तरिक कार्यमा व्यस्त रहेकाले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए । उनको सट्टा रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले बैठकमा सहभागिता जनाउनेछन् ।
जुन पाँचदेखि सात तारिखसम्म राष्ट्रपति पुटिन चीनमा रहने भएका छन् । भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी हु जिन्ताओसँग भेट गर्ने तय भएको छ । रुस र चीनले विभिन्न अन्तर्राष्ट्रिय सवालमा समान धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया