छोटो दूरीमा अमेरिका हाबी


दोहा, ३१ वैशाख । डायमन्ड लिगको छोटो दूरी स्पर्धामा अमेरिकी स्प्रिन्टर हाबी भएका छन् । जमैकाका विश्व कीर्तिमानधारी उसान बोल्ट र आफ्नै देशका टाइसन गेको अनुपस्थितिमा अमेरिकी धावक जस्टिन ग्याटलिन एक सय मिटर स्पर्धामा पहिलो भएका छन् । निर्धारित दूरी ९.८७ सेकेन्डमा पूरा गरी ग्याटलिनले जमैकाका असाफा पावेललाई स्तब्ध पारे ।
सो दूरीको महिला स्पर्धामा अमेरिकाकै बाल्टर डिक्स पहिलो भइन् । महिलातर्फ अमेरिकाकै लासवन मेरिट दुई सय मिटर र एलिसन फेलिक्स चार सय मिटरमा पहिलो भए । डोपिङ प्रकरणमा २१ महिना प्रतिबन्ध सजाय भोग्दै फेलिक्स पुन: खेलमा फर्किएकी हुन् ।
सुरुमा जमैकन पावेलले अग्रता लिए पनि ‘फिनिसिङ लाइन’ मा ग्याटलिन अगाडि रहे । अन्तिम समयसम्म ग्याटलिन र पावेलबीच कडा प्रतिस्पर्धा भएको थियो । डोपिङ प्रकरणमा समातिनुअघि ग्याटलिनले ६ वर्षअघि पावेलको विश्वकीर्तिमान समय बराबरी गरेका थिए । डोपिङमा ‘टेस्टोस्टेरोन’ को अधिक मात्रा देखिंदै ‘पोजिटिभ’ ठहर भएपछि ग्याटलिनले चार वर्ष प्रतिबन्ध सजाय भोग्नुपरेको थियो ।
‘मैले व्यक्तिगत सबैभन्दा चाँडो समय निकालें,’ शुक्रबार मात्र दुई वर्ष लागेका आफ्ना छोरा जेसप्रति सफलता समर्पण गर्दै ग्याटलिनले भने, ‘म फेरि एथलेटिक्समा फर्कन चाहन्छु र ठूला भनिएका खेलाडीसँग प्रतिस्पर्धा गर्न चाहन्छु ।’
ग्याटलिनसँगै १० पटक भिड्ने क्रममा सातपटक पछि परेका पावेलले अबका प्रतियोगितामा यस्तो घटना दोहोरिन नदिने बताए । ‘म आफ्नो समयबारे केही टिप्पणी गर्न चाहन्न किनकि ९.८८ सेकेन्ड आफैमा राम्रो समय हो,’ पावेलले भने, ‘तर म अझै शतप्रतिशत ठीक भइसकेको छैन । ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्यका साथ मेरो सहभागिता त्यहाँ हुनेछ ।’
सन् २००४ मा भएको ग्रीस ओलम्पिकमा स्वर्ण जितेका ग्याटलिनले डायमन्ड लिगमा आफूले प्राप्त गरेको सफलता वर्तमान ओलम्पिक च्याम्पियन उसान बोल्ट र जमैकाका बाँकी खेलाडीका लागि अमेरिकाको तर्फबाट ओलम्पिकमा एउटा ठूलो धक्का हो भने । ‘हरेक मानिस ठूला प्रतियोगिता हेर्न चाहन्छ,’ ग्याटलिनले भने, ‘मानिसले केही वर्षयता बोल्टको ‘शो’ हेरिरहेका छन् तर उनीहरू यसमा अरू कसैलाई पनि देख्न चाहन्छन् । म त्यो ठाउँ लिन चाहन्छु ।’ बोल्टले अ‍ोलम्पिक तयारीका लागि भन्दै यो प्रतियोगिता छाडेका थिए भने स्वर्णका प्रत्यासी गे भने चोटका कारण विश्राम लिइरहेका छन् ।
लन्डन ओलम्पिकमा दुई सय र चार सय मिटरमा दौडिने अनुमान गरिएकी फेलिक्सले निकै राम्रो प्रदर्शन गरेर बलियो सम्भावना देखाइन् । १०.९२ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी उनले निकटतम प्रतिद्वन्द्वी क्याम्पबेल–ब्राउनलाई ०.०२ सेकेन्डले पछि पारेकी थिइन् । ‘क्याम्पबेलमाथि यो उपलब्धि हात पार्नु विशेष रहयो ।’ क्याम्पबेलमाथि यसअघिका स्पर्धामा सफलता हात पार्न नसकेकी फेलिक्सले खुसी बाँडिन् । यता जमैकन क्याम्पबेलले आफ्नो प्रदर्शन सुधार गर्ने र लन्डन अ‍ोलम्पिकसम्म आफूलाई बलियो बनाउने बताइन् । एक सय र चार सय मिटर हर्डल्स स्पर्धामा भने जमैकाले स्वर्ण जित्यो ।
मध्यम तथा लामो दूरीका स्पर्धामा बलिया मानिएका इथोपियाका खेलाडीलाई केन्याकाले निराश बनाए । आठ सय मिटर दूरीमा केन्याका डेभिड रुडिसा पहिलो भए । सो दूरीको महिला स्पर्धामा पामेला जेलिमो पहिलो भइन् । केन्याकै सिलास किप्लागट १५ सय मिटरमा पहिलो भइन् । दुईपटकका विश्वच्याम्पियन भिभिआन जाप्केमोईले अन्तिम दुई सय मिटर बाँकी छँदा अग्रता लिएर पहिलो भए । डेफारविरुद्ध दोस्रोपटक अगाडि रहने क्रममा जाप्केमोईले आठ मिनेट ४६.४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । डेफारले अहिलेसम्म १३ वटा विश्वकीर्तिमान बनाएका छन् भने १६ पटक विश्वस्तरका प्रतियोगितामा पहिलो स्थान ओगटेका छ । केन्याका अगस्टिन चोग्लेड १० हजार मिटरमा पहिलो भए । एपी

प्रतिक्रिया