तालिमप्राप्त नर्सले मात्र इजरायल जान पाउने

काठमाडौं, ३१ वैशाख । रोजगारीका लागि इजरायल जाने नर्सका लागि केयरटेकरसम्बन्धी तालिम अनिवार्य भएको छ । कामदारलाई ठगीमुक्त र पारदर्शी बनाउन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
इजरायल कामदार पठाउने केयरटेकरसम्बन्धी कार्यविधि संशोधनमा सो व्यवस्था अनिवार्य लागू गर्ने तथा अनुगमनका लागि समिति निर्माण गर्ने प्रावधान राखिएको छ । मन्त्रालयका सहसचिव विनोद केसी संयोजकत्वको समितिले नर्सिङ उत्तीर्ण गरेका महिलाले इजरायलमा रोजगारीका लागि जान केयरटेकरसम्बन्धी तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो ।
इजरायलमा केयरटेकरमा कामदार पठाउने कार्यविधि संशोधनको मस्यौदा तयार भइसकेको मन्त्रालयले जनाएको छ । सो मस्यौदा तयार भए पनि श्रममन्त्रीले स्वीकृत नगरेकाले कार्यान्वयनमा आउन भने समय लाग्ने भएको छ । श्रम तथा यातायत व्यवस्था मन्त्रीले स्वीकृत गरेपछि कार्यविधि लागू हुने छ ।
नर्सिङ उत्तीर्ण गरी रोजगारीका लागि इजरायल जाने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । मन्त्रालयका सहसचिव केसीले पारदर्शिता र प्रक्रियागत सहजताका लागि कार्यविधिमा तालिम अनिवार्य गर्न लागेको बताए । म्यानपावर एजेन्सीले कामदारसँग बढी रकम असुल्ने, भाषा संस्कृति, कामसम्बन्धी तालिम नदिई पठाउने गरेको भन्दै इजरायलले करिब दुई वर्ष नेपाली कामदार रोक लगाएपछि यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयको भनाइ छ ।
दुई वर्षसम्म नेपाली कामदारका लागि बन्द रहेको इजरायल पछिल्लो समय सरकारको पहलमा खुला भएको हो । सरकारी पहलमा रोजगारी खुला गरिए पनि अझैसम्म कामदार पठाउने प्रक्रिया भने अन्योलमै छ । प्रक्रियागत असहजता देखिएपछि तत्कालीन श्रममन्त्री गिरीले इजरायलमा कामदार पठाउन आवश्यक कार्यविधि संशोधन गर्न सहसचिव केसीको संयोजकत्वमा समिति गठन गरेकी हुन् ।
नर्सिङ उत्तीर्ण गरेका महिला कामदार पनि इजरायल जान इन्छुक देखिएकाले सरकारले यस्तो व्यवस्था गरेको जनाएको छ । तर, दश कक्षा उत्तीर्ण गरेका कामदारले भने अनिवार्य केयरटेकरसम्बन्धी तालिम लिनैपर्छ । इजरायल जाने हवाई टिकटबाहेक अधिकतम लागत खर्च ७५ हजार रुपियाँ लिन सकिने व्यवस्था कार्यविधिमा नै उल्लेख छ । म्यानपावर एजेन्सी र एजेन्टबाट हुने ठगी नियन्त्रण गर्नका लागि सहसचिवको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको एक सदस्यले बताए ।

प्रतिक्रिया