‘राजनीतिक परामर्शहरु निष्कर्ष विहिन’


काठमाडौं, ३० वैशाख । गैरजातीय संघीय राज्यमा छलफल चलाउन सुरु गरेका प्रमुख दलहरुले नयाँ संविधानका विवातिद विषयमा अझै ठोस सहमति जुटाउन सकेका छैनन् ।
राज्य पुनर्संरचना र शासकीय स्वरुपमा विवादित विषयमा सहमतिका लागि छलफल गरेपनि ठोस निष्कर्ष निकाल्न नसकेको नेताहरुको भनाई छ ।
राजधानीमा आज विहान भएका प्रमुख तीन दलका दुई पक्षीय छलफलमा विशेष गरेर संघीय राज्यको नाम, सीमाङकन र संख्याका बारेमा परामर्श भएका थिए ।
अध्यक्ष पुष्पकमल दाहालको निवासमा लाजिम्पाटमा एमाओवादी र कांग्रेसका शीर्ष नेतृत्ववीच राज्य पुनर्संरचनाका विषयमा छलफल भएपनि ठोस सहमति हुन नसकेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै उनले भने, ‘राज्य पुनर्संरचनामा छलफल चलिरहेको छ, ठोस सहमति भईसकेको छैन, सहमति हुन्छ ।’
एमाओवादी र कांग्रेसवीच प्रदेशका नाम, सीमाङकन र संख्याका विषयमा छलफल भएको हो ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुका बीच राज्य पुनर्संरचनाका विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको बताए ।
दलहरुका वीच विशेष गरेर राज्य पुनर्संरचना, शासकीय स्वरुपमा विवाद छ ।
यसैबीच, राज्य पुनर्संरचनाका विषयमा कांग्रेसले एमालेसँग पनि आजै परामर्श गरेको छ ।
संघीय राज्य र शासकीय स्वरुपमा छलफल भएपनि ठोस सहमति नभएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए । उनले भने, ‘औपचारिक÷अनौपचारि छलफल जारी छ, सहमति छिट्टै आउ छ ।’
यस अघि शुक्रबार बेलुका बसेको प्रमुख चार दलको बैठकमा गैरजातीय संघीय राज्य र संख्याका बारेमा छलफल भएको थियो । यद्यपी सहमति भने हुन सकेको थिएन ।

प्रतिक्रिया