पढ्न पनि चाहन्छ पछिल्लो खेलपुस्ता

नियमित दैनिक प्रशिक्षण, समय समयमा हुने वैदेशिक प्रशिक्षण अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता । यिनै कारण हुन्, जसले खेलाडीको प्राय: समय लिने गर्छन् । अधिकांश खेलाडीको खेल जीवन विद्यालयस्तरदेखि नै सुरु हुनाका कारण यसको प्रत्यक्ष असर उनीहरूको अध्ययनमा पर्छ । समय र उमेरले खेलभन्दा कम प्राथमिकतामा पर्छ अध्ययन खेलाडीका लागि ।
त्यसो त खेल र  पढाइ सँंगसँगै अगाडि बढाउनु कम गाह्रो विषय होइन । खेलबाट समय निकालेर पढाइलाई अगाडि बढाउनु आफंैमा अप्ठेरो हुन्छ । इतिहास साक्षी छ, खेलकुदमा लागेका धेरै खेलाडीको अध्ययन पक्ष खासै सन्तोषजनक देखिएको छैन । तर सायद अब समय फेरिँंदै गएको छ र नयाँ पुस्ताका खेलाडी खेलसँगै पढाइलाई पनि अगाडि बढाउन थालेका छन् ।
‘खेल त उमेर छउन्जेलसम्म हो,’ शिक्षा संकाय लिएर स्नातक तह प्रथम वर्षमा अध्ययनरत एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानधारी केशरी चौधरी भन्छिन्, ‘त्यसपछि त चाहिने शिक्षा नै हो ।’ केशरीजस्तै नेपाली खेलकुदमा अहिले राष्ट्रियस्तरमा पहिचान स्थापित गरिसकेका प्राय: खेलाडी पढिरहेका छन्, प्लस टुदेखि स्नातकोत्तरसम्म । यसमा टिम स्पर्धाको फुटबलदेखि भलिबलसम्म र एकल स्पर्धाको लन टेनिसदेखि ब्याडमिन्टनसम्मका खेलाडी छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सानै उमेरमा राम्रो छाप बनाइसकेकी रुविना क्षेत्री कुनै हालतमा पनि पढाइ नछाड्ने बताउँछिन् । ‘नेपालजस्तो देशमा खेलेर मात्र केही हुन्न, खेलाडीले पढ्नु पनि पर्छ ।’ कमर्स संकाय लिएर कक्षा १२ को परीक्षा दिइरहेकी रुविना भन्छिन् । त्यस्तै तेक्वान्दो स्टार आयशा शाक्य अहिले स्नातकोत्तर गरिरहेकी छिन् । व्यवस्थापन संकाय लिएकी  यी दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेतालाई ‘क्वालिफिकेसन’ छैन भने कसैले पनि नगन्ने महसुस हुने गर्छ ।‘पढाइ छ भने हेपिनु पर्दैन । राम्रो विकल्प साथमा रहन्छ ।’ आयशा भन्छिन् ।
अर्का तेक्वान्दो स्टार तथा आयशाका श्रीमान् दीपक विष्ट पनि अहिले समाजशास्त्र विषयमा स्नातकोत्तर गरिरहेका छन् । आइएस्सी सिध्याएर तेक्वान्दो खेल्न थालेका दीपकले आफ्नो खेलमा ठूला–ठूला सफलता हात पारे पनि पढाइलाई कहिल्यै बिर्सेनन् । खेलकै कारण पटकपटक अवरुद्ध भए पनि स्थगित पढाइलाई डोर्‍याउनु पर्छ भन्ने लाग्यो ।
ब्याडमिन्टन खेलाडी सरादेवी तामाङ र नंशलदेवी तामाङ पनि स्नातकोत्तर तहमा पढिरहेका छन् । वर्तमान राष्ट्रिय च्याम्पियन नंशल र पूर्व राष्ट्रिय च्याम्पियन सरादेवी दिदीबहिनी हुन् । व्यवस्थापन विषय पढेकी नंशलको विचार पनि  केशरीको जस्तै छ । ‘गेममा सधैंँभरि लाग्न सकिँदैन ।’ उनले भनिन् । लन टेनिसकी मालिका राणा र  साइक्लिङकी निर्जला ताम्राकारको पढाइ पनि स्नातकत्तोरसम्म पुगेको छ । स्नातक तहमा अध्ययनरत  ब्याडमिन्टनका नेपाल नम्बर एक खेलाडी विकास श्रेष्ठ भन्छन्,‘विदेशमा जितेर पाएको सर्टिफिकेटले जागिर पाइन्न । जागिर पाउन त पढाइकै सर्टिफिकेट चाहिन्छ ।’
अरुले जस्तै खेले पनि यी खेलाडीले  पढाइचाहिँ किन रोकिनन् त ? नयाँ पुस्ताकी केशरी भन्छिन्,‘ बिहान प्रशिक्षण गर्छु अनि दिउँसो र बेलुका पढ्छु ।’ त्यस्तै आयशा कलेज जान नपाए पनि साथीहरुको नोट मागेर र राति अबेरसम्म पढेर अध्ययनलाई निरन्तरता दिएको बताउँछिन् । भारोत्तोलनका पूर्वहेभिवेट च्याम्पियन सञ्जय महर्जन र करातेकी सफल खेलाडी सुस्मिता कँडेलले खेलजीवनको व्यस्तताबीच पनि पढाइलाई निरन्तरता दिएर उच्च शिक्षाको प्रमाणपत्र लिन सफल भएका थिए ।
पढाइसँग सम्झौता नगर्दा धेरै हैरानी पनि खेप्नुपर्छ । क्रिकेटकी नेरी थापाले प्रशिक्षण र प्रतियोगिताका कारण पढाइमा एक वर्ष पछि पर्नुपर्‍यो । ‘नौ कक्षामा एक वर्ष बस्नु पर्‍यो ।’ अहिले स्नातक तह प्रथम वर्षमा अध्ययन गरिरहेकी नेरी भन्छिन् । उनीसँगै पढेका राष्ट्रिय टिमका अन्य खेलाडी पनि अहिले स्नातक तहमा छन् । सागमा लगातार चारपटक स्वर्ण जितेका दीपकले तेक्वान्दो खेल्न थाल्दा चार/पाँच वर्ष पढाइ रोक्नु पर्‍यो । ‘कहिले प्रशिक्षण कहिले प्रतियोगिताले गर्दा मीनभवनमा बिबिएस भर्ना भएर पनि मैले पास गर्न सकिनँ । करिब चार पाँच वर्षपछि मात्र फेरि भर्ना भएर पास गरँें,’ उनी भन्छन् । ब्याडमिन्टनका विकासको व्यथा पनि यस्तै छ ।‘ परीक्षाको छेउमा प्रतियोगिता र वैदेशिक प्रशिक्षण पर्छ ।’ स्नातक तहमा अड्केर बसिरहेका विकास भन्छन् ।
पढ्ने खेलाडीलाई खेलबाहिर मात्र होइन, खेलभित्र पनि अवसर छ । खेल्दाखेल्दै ब्याडमिन्टन खेलाडी सरादेवी तामाङ नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टमा गइन् । पढाइ नभएका कैयौँ खेलाडी विभागीय सेवामा एउटै पदमा लामो समयसम्म रहनु परेको छ । विभागमा मात्र होइन, राष्ट्रिय खेलकुद परिषद्(राखेप)को जागिरमा खेलाडीका लागि पढाइ त्यत्तिकै लाभदायक हुन्छ ।‘पढाइ थियो भने धेरै माथि पुग्न  सकिने रहेछ जस्तो लाग्छ ।’ खेलाडीका रूपमा सिपाहीबाट छिरेर अहिले असई भएका राष्ट्रिय फुटबल टिमका पूर्व स्ट्राइकर हरि खड्कालाई यस्तै महसुस हुन्छ ।  त्यसो त विभागीय टोलीबाट टिम तथा एकल स्पर्धामा खेल्ने खेलाडी पनि कम छैनन् अहिले । नेपाल पुलिसको महिला   भलिबल टिमका खेलाडी अधिकांशले स्नातक गरेका छन् ।
खेलकै क्रममा पनि कतिपय समय ‘पढन्ते’ खेलाडीलाई अरूभन्दा विशेष महसुस हुन्छ । गत वर्ष आयोजना भएको युनिभर्सिटी गेममा आयशालाई अरू खेलाडीभन्दा विशेष लागेको बताइन् ।‘युनिभर्सिटी पढ्ने भएरै मैले त्यस प्रतियोगितामा सहभागी हुन पाएँ ।’ उनको अनुभव छ ।
तेक्वान्दोकी पूर्वएसियन च्याम्पियन संगीना वैद्यले अध्ययनलाई आइएभन्दा अगाडि बढाउन सकिनन् तर उनलाई पढ्न नसके पनि त्यति धेरै पछुतो छैन । ‘पढेको मात्र थिएंँ भने मेरो विचारमा मैले प्राप्त गरेको सफलता सम्भव हुने थिएनजस्तो लाग्छ ।’ ओलम्पियन संगीनाले भनिन्, ‘तर पनि मभन्दा अगाडिको पुस्ता, मेरो पुस्ता र मपछिको अहिलेको पुस्ता शैक्षिक हिसाबले निकै सुधार हँुदै गइरहेको छ जुन खेलाडीका लागि मात्र नभएर सबैका लागि नै राम्रो हो ।’ संगीनापछि महिला तेक्वान्दोमा सफल देखिएकी आयशा अहिलेको खेलाडी पुस्ता ‘स्मार्ट’ भएको बताउँछिन् ।‘ पढाइसँगै खेलाडी माथि आउन खोजिरहेका छन् ’ आयशा भन्छिन् ।
पढाइतिर पनि पर्याप्त समय दिनुपर्छ भन्ने सोच बोकेका ओलम्पियन स्विमर शैला राणा र करिस्मा कार्कीले आफ्नो ऊर्जाशील समय पढाइतिर पूर्णरूपमा लगाइसकेका छन् । कुनै समय नेपाली पौडीमा एकछत्र राज गरेका यी दुई खेलाडीमध्ये शैला अहिले एमबिबिएस पढिरहेकी छन् भने करिश्मा इन्जिनियरिङअन्तर्गत आर्किटेक्ट लिएर स्नातक चौथो वर्ष अध्ययन गर्दैछिन् ।
त्यसो त महिला क्रिकेटकी पहिलो ब्याचकी खेलाडी नीरा राजोपाध्यायले पनि करिब एक दशकपछि पढाइलाई निरन्तरता दिने कोसिस गरिन् तर त्यहाँभन्दा अगाडि भने बढ्न सकेकी छैनन् । ‘२०५२/५३ सालतिर एसएलसी फेल भएपछि पढाइ रोकिएको थियो ।’ उनले भनिन्,‘दुई वर्षअघि फेरि सुरु गरँें । एसएलसी त पास गरँें तर प्लस टु भने कटाउन सकेकी छैन । ’ पढ्नु पर्छ भन्ने उनलाई लागेको छ र पढ्ने आदत नै छुटिसकेका कारण दु:ख भएको अनुभव उनी सुनाउँछिन् ।

प्रतिक्रिया