नेपाल दोस्रोपटक फाइनलमा, उपाधि भिडन्त मलेसियाविरुद्ध

काठमाडौं, ३० वैशाख । साबिक विजेता सिंगापुरविरुद्ध गत संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिँदै नेपाल एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१६ एलिट कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा  १ सय १ रनले विजयी भएको साबिक उपविजेता नेपालले उपाधिका लागि आइतबार मलेसियाको सामना गर्ने छ ।
लगातार दोस्रो पटक फाइनल पुग्नेक्रममा नेपालका लागि नुरध्वज सेन र जगदीश चन्दले अर्धशतकीय इनिङ खेले भने बलिङतर्फ आकाश विष्टले र जगदीशले तीन/तीन विकेट लिए । टस जिती पहिला ब्याटिङ गरेको नेपालले प्रारम्भिक ब्याट्सम्यान नुरध्वजको ५१ र मध्यक्रमका जगदीशको ५३ रनको योगदानपछि निर्धारित ४० ओभरमा २४० रन जोडेको थियो ।
विशाल लक्ष्य पछ्याएको सिंगापुर टोली ३६.५ ओभरमा १ सय ३९ रनमा सीमित भयो । सिंगापुरले  पहिलो विकेटका लागि १६.२ ओभरमा  ८१ रनको साझेदारी गरे पनि त्यसपछिको खेल नेपालको पक्षमा गयो । सिंगापुरका दुवै प्रारम्भिक ब्याट्सम्यान रन आउट हुनु नै सिंगापुरका लागि ‘टर्निङ प्वाइन्ट’ रह्यो । ती दुवै खेलाडी अदिल खानको थ्रोमा नुरध्वजबाट रन आउट भएका थिए । आकाशले मध्यक्रम र जगदीशले पछिल्लाक्रमका  खेलाडीको विकेट लिएका थिए । सिंगापुरका सुरुका दुईबाहेक थप एक खेलाडी मात्र दोहोरो अंकमा रन जोड्न सफल भएका थिए ।
यसअघि नेपालले सानदार इनिङ खेल्यो । पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको नेपाली टोली कुनै पनि समयमा संकटमा परेन । नुरध्वज र जगदीशले जारी प्रतियोगितामा व्यक्तिगत  दोस्रो अर्धशतकीय इनिङ खेले । नुरध्वजले ६० बलमा नौ चौका प्रहार गरे भने २४ बल मात्र सामना गरेका जगदीशले छ चौका र तीन छक्का प्रहार गरेका थिए । नेपालका लागि राम्रो योगदान गर्ने अन्य ब्याट्सम्यानमा दीपेन्द्र चन्दले २०, अदिल खानले २१, रूपेश बास्तोलाले २१, अल्फाज मन्सुरीले १८ र आसिफ शेखले १५ रनको योगदान गरे । अलराउन्ड प्रदर्शन गरेका जगदीश प्लेयर अफ दि म्याच भए ।
दोस्रो सेमिफाइनल
सेमिफाइनलको अर्को रोमाञ्चक खेलमा मलेसियाले ओमानलाई ३६ रनले पराजित गर्‍यो । ७९ रनको विजयलक्ष्य पछ्याएको ओमान २०.१ ओभरमा ४२ रनमा सीमित भएको थियो । यस खेलमा दुवै टिमका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओमानले १८ अतिरिक्त रन पाए पनि झिनो लक्ष्य पार गर्न सकेन ।
यसअघि समूह चरणमा नेपाल र मलेसियाबीच एक पटक प्रतिस्पर्धा भइसकेको छ । पहिलो चरणको खेलमा नेपाल मलेसियाविरुद्ध एक विकेटले विजयी भएको थियो । गत संस्करणमा सेमिफाइनलमा भिडेका यी दुई टोलीबीच नेपाल नै विजयी भएको थियो ।

प्रतिक्रिया