आरनमा सेकिएको जिन्दगी


जीवन हो कि फलाम कृष्णबहादुर विश्वकर्माले सधैँभरि पिटिरहे । फलामलाई आगोमा तताउँदै घनले हिर्काएर फरक–फरक आकार दिइरहे– तिखो, लामो, चुच्चो, चेप्टो, गोलो, घुमाउरो आदि तर जीवनलाई आकार दिन कहिल्यै सकेनन् । जीवनलाई पिट्नु पिटिरहे तर ‘फिनिसिङ’ दिन कहिल्यै सकेनन् । उनलाई जीवनको आकार नै थाहा भएन, परिभाषा त झन थाहै भएन । फगत ४९ वटा वर्षहरू बिताइदिए । कसरी ? त्यो पनि थाहा छैन ।
पाँच वर्षअघि मंसिरमा पर्साको निर्मलबस्ती–६ को आफ्नो सानो चिमे झुपडी र १०–१२ कठ्ठा खेत छाडेर जीवनमा दोस्रोपटक बसाइँ सरे– काठमाडांै । आफन्तले बोलाएपछि यता आए । विशाल काठमाडौं उपत्यकाको एकछेउ कीर्तिपुर, कीर्तिपुरको एउटा कुनो पाँगा सालिक भन्ने ठाउँ । बाँसका पाँचवटा खाँबा गाडेर तीन पाता टिनले छाएको एउटा टहरो । त्यहीँभित्र छ, उनको जीवन गुजाराको एक मात्र मार्ग–आरन । यही आरनछेउ जाडो–गर्मी नभनी उनले जीवनरूपी दु:खलाई कुटेरै सक्ने प्रयत्न गरे । आरनको भाटीको ‘हेन्डिल’ घुमाएर दु:खलाई कोइलामै डढाउन सघाइरहिन् उनकै उमेरकी श्रीमती बुधुमाया विश्वकर्माले । बुधुमाया जति दैनिकीको चक्का घुमाउँछिन्, त्यत्ति ठूलो हुँदै गएको छ जीवनमा दु:खको वृत्त ।
‘जीवन भनेकै दुई छाक राम्ररी खान पाउने गरी कमाउनु’ जस्तो लाग्छ उनलाई । बिहान सात बज्दानबज्दै आरनमा पुग्नु अनि फलाम कुटेर विभिन्न सामग्री बनाउनु जीवन यत्ति हो जस्तो लाग्छ रे अचेल । उनले फलाम कुटेरै/पुख्र्यौली पेसा धानेरै घर खर्च टार्न र छोराछोरी पढाउन सकेका छन् । ‘दु:ख्बिराम पर्दा त ऋण लागिहाल्च नि’, बुधुमायाले दु:खको पोको खोलिन् ।
आरनमा उनले हजारौँ हतियारलाई धार दिइसकेका छन् तर ती धारहरूले उनको जीवनका दु:खहरू कहिल्यै काट्न सकेनन् । सम्झिन्छिन् उनी, ‘पहाडभन्दा त दु:ख अग्लो हुँदो र’च । छिचोल्न यो जुनी धेरै छोटो र’च ।’ उनले बोलेको सबैभन्दा दार्शनिक र साहित्यिक ‘डाइलग’ थियो यो । तर, उनले बुझ्न सकेका छैनन् जीवन जति लामो भयो दु:खको पहाड उति अग्लिँदै जान्छ ।
सिन्धुपाल्चोक चौतारामा जन्मिएका उनले त्यहाँ पनि दु:खको अनुहार मात्रै देखे, सुखसँग साक्षात्कार गर्न पाएनन् । बाबु कहिले बिते उनलाई सम्झना छैन । बाबुको अनुहार देख्न पाएनन् उनले । बाबुविनाको टुहुरो आमासँगै अरूको जुठोपुरो खाएर हुर्किए । प्रकृतिको खुला मैदानमा प्रकृतिकै प्रेम पाएर प्रकृतिसँगै जोरी खोज्दै हुर्किए । आमासँग कहिले झगडा गर्दै त कहिले वात्सल्य प्रेम अनुभूति गर्दै जवान भए । अलि ठूलो भएपछि गरिबी र समाजको होचो–अर्घेलोसँग जुध्न आमालाई सघाउन थाले । व्यवहार सिक्दै थिए । दाजुभाइ दिदीबहिनी थिएनन् । सहारा भन्नु वा अभिभावक भन्नु एउटी आमा मात्रै । हुन सक्छ सुखकै खोजीमा उनकी आमाले पनि दोस्रो विवाह गरिन् उतै सिन्धुपाल्चोकतिर । आमाले विवाह गरेपछि उनी पूर्णरूपमा एक्लो भए । आलोकाँचो ठिटो व्यवहार चलाउन सिक्दासिक्दै भएको अलिअलि जमिन पनि सकियो । अब त्यही एक्लो ज्यान बाँकी थियो, जसोतसो तर्लान् ।
एक्लो ज्यान  लिएर उनी सुख खोज्दै मधेस हान्निए । मधेस हान्निएका बेला उनी १६–१७ वर्षका लक्काजवान थिए । त्यहीँ गएर फलाम बनाउने काम सुरु गरे । २३ वर्षको उमेरमा बुधुमायासँग बिहे गरेर पारिवारिक जीवन बिताउन थाले । बुधुमाया पनि त्यतिबेला २३ वर्षकै थिइन् । उनले त्यतिबेलैबाट नयाँ दैनिकी सुरु गरिन् । उनले भाटी तानिरहिन् भने छेउमा बसेर कृष्णबहादुरले घन र रेती खेलाइरहे । आजभन्दा ३६ वर्षअगाडि सुरु भएको कृष्णबहादुर र बुधुमायाको जोडीको दैनिकी आजसम्म पनि कायमै छ– जस्ताको तस्तै । फरक यति छ– बुधुमायाको भाटीको ठाउँमा फलामको ह्यान्डल घुम्दै छ भने उनीहरू पर्साको निर्मलबस्ती छाडेर कीर्तिपुर आइपुगेका छन् ।
तीनटी छोरीमध्ये एउटीको बिहे भइसक्यो । बाँकी दुई छोरा, दुई छोरी र जहानको भार थाप्लोमा लिएर काठमाडौंमा संघर्ष गरिरहेका छन् कृष्णबहादुर । काठमाडौंको बसाइ बडो कष्टपूर्ण छ । उनले देख्दादेख्दै महँगीले आकाश छोयो । कोठाभाडा, तरकारी, मरमसला, लत्ताकपडा, गाडीभाडा, छोराछोरीको पढाइखर्च– खपिनसक्नु खर्चको मेनु, अर्कातिर आम्दानी स्रोत भन्नु त्यही आरन । उनको जीवनगाडीको हिसाब कहिल्यै नाफामा चल्न सकेन ।
निधारमाथिबाट पसिना चोर औंलाले सट्ट पुछेर कृष्णबहादुरले भने, ‘कहिलेकाहीँ त फलाम कुट्दाकुट्दा दिक्क लाग्च । तर, दिक्क लागेर पो के गर्नु ?’ उनको प्रश्न नाजवाफ थियो अथवा रेडिमेड जवाफ थियो ‘दिक्क लागे पनि कुटिरहनु ।’ त्यसैले, कृष्णबहादुरको परिभाषामा जीवन भन्नु नै दु:ख गर्नु/दु:ख भोग्नु हो ।
जवानीमा उनले पनि अरूले जस्तै ठुल्ठूला सपना देखेका थिए । पञ्चायतकालमा पुलिसको सान उनलाई खुब लोभलाग्दो लाग्थ्यो । पुलिस बन्ने सपना बोकेर निक्कै दौडिए । भर्ती लाग्न पनि गए तर भर्ती लाग्नेहरूको लिस्टमा उनी परेनन् । अक्षर नचिनेर होला भन्ने उनको अनुमान छ । नत्र किन परिएन भन्ने पनि राम्रोसँग थाहा छैन । आजभोलि उनलाई लाग्छ ती सपना मनका लड्डु थिए । मिहिनेत गरेर सपना पूरा हुन्छ वा सम्पन्न भइन्छ भन्ने उनलाई पत्यार लाग्दैन । दिनरात मेहेनत गर्दा पनि आफ्नो स्थिति नबदलिएपछि उनी टुंगोमा पुगेका छन्– ‘आफ्नो भागमा भए पो पाइन्च ।’ उनको भागमा चाहिँ के छ त ? ‘भागमा भएको भए यस्तै हुन्थ्यो र ?’ उनका लागि हातालागि शून्य भएको छ जीवनको हिसाब ।
आफ्ना छोराछोरीका लागि देखेका सपना दुवैजनाले खुब जतन गरेर लुकाए, व्यक्त गर्न चाहेनन् । सपना पूरा गरिदिन सक्ने आत्मविश्वास पनि कमाएनछन् उनीहरूले । ‘हामी गरिपले के सपना देख्नु र ? सपना देखेर मात्रै के हुन्च र ?’ सपना देख्न पनि पैसा लाग्छ सहरमा/देशमा । देशको यही विडम्बना बोलिरहेकी थिइन् बुधुमाया । बस † छोराछारीले रामरी गरेर खाइदिए हुन्थ्योमू सपना भन्नु यति नै । अब जग्गा किनिएला, घर बनाइएला भन्नु आकाशको फल भएको छ ।
पञ्चायत र लोकतान्त्रिक गणतन्त्र सबै उस्तै भयो कृष्णबहादुरलाई । उनलाई थाहा भएको फरक ‘पञ्चायतकालमा पुलिसदेखि मान्चे डराउँथे । अचेल कसैलाई पुलिसको डर छैन । मान्चे मार्नु त कति सजिलो भ’को च ।’ उनले अनुभूत गर्न सकेको परिवर्तन यति मात्रै हो । उनी स्कुल गएनन्, अक्षर चिनेनन्, पढ्न सकेनन् मात्र फलाम कुटिरहे । पढ्न सक्ने भएका भए र अल्बेयर कामुको ‘मिथ अफ सिसिफस’ पढेका भए उनी जीवनलाई कसरी अथ्र्याउँथे कुन्नि † तर एउटा सिसिफस जिन्दगी भने उनी बाँचिरहे ।

प्रतिक्रिया