महिलाको ठूलो दु:ख : महिला हुनुको गुनासो

अहिले के लेख्दै हुनुहन्छ ?
हिजोआज विभिन्न विधाका केही पुस्तकमा काम गरिरहेकी छु ।
अहिलेसम्म कति लेखिसक्नुभयो, अब लेख्न बाँकी कति छ ?
मेरा पुस्तक बजारमा आएका छन् । बाँकी निबन्धसंग्रह पाण्डुलिपि तयार छ ।  संस्मरणात्मक आलेख पनि तयार गर्दै छु । नयाँ कथासंग्रहका निम्ति पनि तयारी निकै अगाडि बढेको छ ।
केका लागि लेख्न सुरु गर्नुभएको थियो, अहिले के पाइरहनुभएको छ ?
आत्मसन्तुष्टिका लागि लेख्न सुरु गरेँ । अहिले त्यही पाइरहेको छु ।
लेख्नुअघि त्यसले पार्ने प्रभावबारे पूर्वानुमान गर्नुहुन्छ कि हुँदैन ?
गर्छु पनि र गर्दिनँ पनि ।
तपाईं उत्तेजना आवेग या विवेकले लेख्नुहुन्छ ?
उत्तेजनाले लेख्न प्रेरित गर्छ, लेख्ता र टुंग्याउँदा विवेक प्रयोग गर्छु ।
तपाईंको लेखन आकस्मिक हुन्छ कि योजनाबद्ध ?
सन्दर्भ र प्रेरणा हेरेर आकस्मिक र योजनाबद्ध दुवै हुन्छ ।
मानसिक गर्भधारण र शारीरिक गर्भधारणमा कुन सजिलो हुन्छ ?
दुवै गाह्रो काम हुन् ।
सन्तान सुख र कृति सुखमा घटी–बढी हुन्छ ?
सुख, आनन्दको प्रकृति त उस्तै हो । मात्रा घटी–बढी हुन सक्छ ।
साहित्यकार शारदा शर्मा र गृहिणी शारदा शर्मामा के फरक छ ?
दुवै एउटै मान्छेका विविध पाटा हुन् ।
फरक छ ।
आम नेपाली महिला लेखकको दु:ख के हो ?
धेरैजसो महिला लेखक महिला हुनुको गुनासो बढी गर्छन्, महिला लेखकको सबैभन्दा ठूलो दु:ख यही हो जस्तो लाग्छ । अन्यथा आम महिलाको दु:ख जति छ, लेखकका रूपमा भने अलि कम हो कि जस्तो अनुभव गर्छु ।
आम महिला लेखकले जस्तै शारदा शर्माले पनि दु:ख झेल्नुपरेको छ कि छैन ?
दु:ख कुन मान्छेलाई झेल्नु परेको छैन र शारदा शर्मा त्यसबाट मुक्त भएको ठान्नुहुन्छ ? जीवन दु:खै त हो । भगवान् बुद्धले उहिल्यै भन्नुभएको हो, ‘दु:खका कारण छन् र त्यसको निवारण गर्न सकिन्छ ।’
तपाईंलाई कति यस्तो लाग्दैन शारदा शर्मा पुरुष लेखक भएको भए उनको उचाइ अझ माथि
हुने थियो ?
म अनुमानका कुरामा धेरै अल्झन चाहन्न । पुरुष–नारी जे भए पनि लेखकको उचाइ उसका कृतिको गुणवत्ताले  तय गर्छन् ।
तपाईंलाई कहिलेकाहीँ पुरुष लेखक हुन पाएको भए हुन्थ्यो जस्तो लाग्दैन ?
अहिलेसम्म लागेको छैन ।
महिलाहरूको दु:खको कारक पुरुष हो कि पद्धति ?
दु:खको कारण मान्छे आफैँभित्रको असन्तोष हो ।
महिलाको पीडामा महिलाकै हिस्सेदारी कति प्रतिशत हुन्छ ?
पीडक मान्छेको लिंग होइन, उसको प्रवृत्ति हो ।
उपन्यास लेखनको लहर चलिरहेको छ तपाईंलाई उपन्यास लेख्ने झोँक चलेको छैन ?
उपन्यास लेख्दै छु  । उपन्यासको प्रारम्भिक मस्यौदा सकिएको छ ।
कुनै एक साहित्यकारसँग दिनभरि बस्ने अवसर पाउनुभयो भने कोसँग बस्नुहुन्छ, किन ?
आफैँसँग, किनभने नयाँ लेख्ने मौका मिल्छ ।
लेखेर के हुँदोरहेछ तपाईंको निष्कर्ष ?
सबभन्दा ठूलो आत्मसन्तोष । त्यसपछि केही कुरा जोडिएर पनि आउँछन् ।
प्रस्तुति : राजेश राई

प्रतिक्रिया