चोभार, कान्तिपुरी सभ्यताको निकास

काठमान्डू हल्लाहरूको सागरमा जति डुबे पनि चोभारको गल्छीमा बगिरहेको बाग्मती थिग्रेको छैन । यसको ‘अन्डरकरेन्ट’ यथावत् छ । माथिबाट हेर्दा चोभार वर्षौंदेखि मौन छ । उस्तै छन्– यहाँका थुम्काहरू र यसको इतिहास । भनिन्छ, चोभारको इतिहास नपढीकन काठमाडौंको इतिहास बुझ्न सकिँदैन ।
चोभार काठमाडौंको मूल निकास हो (कुन्नि राजनीतिका महापण्डितहरूले यसलाई कसरी बुझ्छन् ?) म काठमाडौंको मौसमझैंँ धुम्म परेर उभिएको छु चोभार डाँडोमा । निकैबेर सहरतिर नियालेको छु– काठमान्डूमा एकनास कुदिरहेका स्वप्न र दु:स्वप्न । काठमान्डूमा घामको पहेँलो प्रकाशमा नुहाइरहेका बियर, मोटरसाइकल, कार, तेल, स्याम्पु आदि विज्ञापनका अग्ला विद्युतीय बोर्डहरू छन् । सहरको गाढा अँध्यारोमा थुप्रै जीवात्माहरू लड्दै/उठ्दै गर्छन् । यही काठमान्डू उपत्यकाको पुरानो मिथकले मलाई धेरैपटक कल्पनाको संसारमा पुर्‍याएको छ ।
मेरो ठीक अघि थियो– चोभारको प्रख्यात खोच । मैले पनि अरूले झैँ एउटा सानो ढुंगा भुइँबाट टिपेँ र खोचमा हुर्‍याएँ । ढुंगा तलको खोचमा ठोकिएर कतै बिलायो । मलाई लाग्यो– कुनै आदिम समयमा मञ्जुश्रीको टल्किने खड्ग मैले टेकेकै डाँडामा बज्रिएको थियो ।
बोधिसत्त्व मञ्जुश्रीले तलाउमा स्वयम्भूको अद्वितीय प्रकाश अवलोकन गरेर चोभारमा खड्ग प्रहार गरी एक गल्छी बनाए र तालको पानी बगेर गयो । उहीे आदिम खड्गको प्रहारले काटिएर काला पहाडहरूबीच यो खोच बनेको थियो । भनिन्छ– मञ्जुश्रीको शक्तिशाली खड्गले पहाड काटेर पानी बहने बाटो नबनाउन्जेल काठमान्डू उपत्यकामा सर्पजस्ता जलजन्तु, कछुवा, माछा, गोही, गँगटाहरू मात्रै बस्ने विशाल ताल थियो । केहीका भनाइमा परापूर्वकालको नागदह नामक एउटा तलाउ नै अहिलेको काठमान्डू हो । यसै खोचबाट पानी बगेपछि मात्रै काठमान्डूमा मानवबस्ती सुरु भयो । तलाउ भएकै कारणले होला– यस उपत्यकाको माटो मलिलो र राम्रो उब्जनी हुने किसिमको छ्र …। हो पनि, यस माटोमा उब्जिएको काउलीदेखि मुलासम्म र आलुदेखि सागसम्म राजधानीमा दरबार बनाएर बसेका शासकहरूले खाएका थिए, जसरी फर्पिङ र छैमलेका नास्पाती काठमाडौंका सहरियाका लागि नभई हुन्न । शासक फेरिए पनि प्रवृत्ति फेरिएको छैन ।
मञ्जुश्रीले भनेका थिए– ‘फेरि युग फर्कनेछ र अहिलेको उपत्यका पुन: पहिलेकै जस्तो दहमा परिणत हुनेछ । परिवर्तनको त्यस समयमा उपत्यकामा बस्ने मान्छे सर्प, भ्यागुता, माछा, गड्यौला, कछुवालगायत पानीमा बस्ने प्राणी नै बन्नेछन् अनि भ्यागुता, माछा, सर्पहरू भने मान्छे बन्न थाल्नेछन् ।’ चोभारबाट अगाडि बढेर साना पहाडहरूबीच घुमाउरो हुँदै अग्लिँदै/होचिँदै बांगोटिंगो परेर सुतेको लामो दक्षिण–पश्चिमतिरको बाटोबाट पुगिने सदिऔँ पुरानो पोखरी टौदहले पनि भन्छ– मञ्जुश्री र काठमान्डूको आदिम कथा–कहानी । मञ्जुश्रीका मिथकका अन्तरकुन्तर प्रभाव यो टौदहमा पनि भेटिन्छ ।
काठमान्डूको उत्पत्तिबारे किंवदन्ती पनि छन्, खोजतलास गर्न खोजिएका इतिहास पनि छन् । बूढानीलकण्ठको दक्षिण–पूर्वतिर बानियाँपाखा र पण्डितगाउँको बीचमा बसेको धोबीखोलामा प्रागैतिहासिक पुरातत्त्वविद् डा. एनातोली याकोलेभ सेतेन्कोबाट भएको उत्खननले मंगोलियाका गाबी नमुनाका ढुंगे सामग्री यस खाल्डोमा भेटिएकाले पाषाणयुगीन मंगोल तिब्बतबाट नेपाल आइपुगेको र इसापूर्व ३० हजार वर्षपहिले नै काठमाडौँंमा बस्न थालेको अनुमान गरिएको बताएको छ । यस उत्खननको परिणाम र मञ्जुश्रीले चोभार गल्छीमा डाँडा काटी नेपाल खाल्डोको पानी बाहिर पठाएको अनि यहाँ आफ्ना शिष्य धर्माकरलाई राजा बनाई बस्ती बसाएको वंशावलीको कथनमा निकै तादात्म्य देखिन्छ ।
सन् १८४७ मा हड्सनले काठमान्डूवरिपरि नेवार र तामाङ बसोबास गर्दछन् भनेका छन् । डा. ओल्डफिल्डले पृथ्वीनारायण शाहले जित्नुपहिले नै दूधकोसीदेखि अरुणसम्म किरात देश थियो भनी सन् १८५८ मा लेखेका छन् । सन् १८८० देखि १८९५ तिर बंसिटार्ट लेख्छन्, ‘नेपाल उपत्यकामा घना आवादी छ र त्यहाँ करिब तीन लाख मानिस होलान् ।’
लिच्छविकालको अभिलेखमा उल्लेख भएअनुसार, चाबहिल उत्तर–पूर्वको भूभागलाई ‘भोटबिस्टी’ भनिन्थ्यो । काठमाडौँमा विभिन्न समयमा दक्षिणबाट आएकाहरू ज्यापू (किसान) संस्कृतिमा घुलमिल भए र एउटा नयाँ समुदायको विकास भयो (आज नेवार समुदायको नामले प्रसिद्ध उनै दक्षिणबाट आएकाहरू हुन्) । त्यसैले नेवार समाज नश्लका आधारमा नभई भाषा र संस्कृतिका आधारमा विकसित एक भाषा–समुदाय हो । महिषपाल, गोपालवंशीहरूको कान्तिपुर शासनसँगै ‘नेपाल’ नामको राज्य स्थापना भएको थाहा हुन्छ । लिच्छविकाल, किरातकाल र त्यसपछि मल्लकाल हुँदै शाह वंशले स्थापना गरेको बृहत् आधुनिक नेपाल (अहिलेको संघीय लोकतान्त्रिक भन्न खोजिएको गणतन्त्र) सम्म आइपुग्दा काठमान्डू नेपाली राजनीति र पूर्ण नेपाल राज्यको अस्तित्व बोकेको पहिचान दिइरहेको छ ।
मञ्जुश्रीले चोभार डाँडालाई काटेर काठमाडौंको सुक्खा भएको तलाउलाई बसोबासयोग्य बनाएदेखि गणतन्त्रको आधुनिक यात्रासम्मको समयको अन्तरालमा काठमाडौंभित्र हजारौँ वर्षदेखि दबेर बसेको षड्यन्त्र, अन्धविश्वास, परिकल्पना, रहस्य, अपराध, मनोविकृतिका भल्काझल्की पाइन्छ । इतिहासको गर्भ यही थियो, जब भूगोल मानवबस्तीका लागि योग्य भयो त्यसपछि अनेक वंशवंशावलीका शासन हुँदै आजको गणतान्त्रिक युगमा काठमाडौं उपत्यका आइपुगेको छ । लिच्छवि, मल्ल, शाहकालीन इतिहासका झलकसँगै वर्तमानलाई हेर्न खोज्दा एउटा कहाली लाग्दो नेपाली वर्तमानको उत्खनन हुन्छ । यही डाँडाबाटै नापिन्छ, सडक र महलको जीवनबीचको दूरी ।

काठमाडौं खाल्डो मात्र होइन, नेपालको मायानगरी मानिएको फिल्म उद्योग पनि भव्यसँग जोडिएको छ– चोभारसँग । सधैँ अविश्वसनीय र चमत्कारी प्रकृतिका ‘क्लाइमेक्स’ भएका लगभग सबै मसलादार फिल्मका अन्तिम द्वन्द्वदृश्य खिच्ने गन्तव्य थलो पनि हो चोभार । ‘हे…’ यस्तै अक्षरबाट सुरु हुने डाइलगहरू यतै डाँडामा प्रत्येक दिन हावामा मिसिन्छन् । सुपरस्टार भनिने र त्यस लाइनमा लागेका देखिनेमध्येको कुनै एक हिरो आठ/दसजना भिलेनलाई एक्कैचोटि पछार्छ । फुर्तीका साथ गोली, तरबार, मुक्का र लात छल्दै एक्लै लड्छ र उसैले जित्छ । फरक यत्ति छ, हिजोको यस्तै प्रकारको मुक्कामुक्कीले राज्यको आधिपत्य फेथ्र्याे होला, आजको मुक्कामुक्की क्षणिक र सस्तो मनोरञ्जनका लागि मात्र छ भन्ने कुरा हलिउड र बलिउडको दरिद्र संस्करण नेपाली फिल्म उद्योगको दुर्दशाले देखाउँछ ।
द्वन्द्व छैन ? ‘फिल्म चल्दैन’ भन्ने गरिब मानसिकता पालेर बसेका फिल्म निर्देशकका लागि यही नै उत्कृष्ट सुटिङ स्थल हो । प्राकृतिक सौन्दर्य र भूबनोटको आकर्षणका कारण क्षणिक प्रणयलीला र फिल्मी वा भिडियो गीत छायांकनका लागि पनि प्रख्यात छ चोभार । यस्तो लाग्छ–चोभार र चलचित्र एकअर्काका लागि बनेका हुन् । कहिलेकाहीँ फिल्मका दृश्यमा यस्तो पनि भइदिन्छ–पोखराको लेकसाइडमा गुन्डाहरूबाट भागिरहेको हिरो चोभारको डाँडोमा झुल्किन्छ । सायद, फिल्मका पर्दामा सबैभन्दा बढीपटक खिचिएको दृश्य नै चोभार हो । कलिउडे फिल्म उद्योगका निष्णात निर्देशक तथा तिनको युनिटका लागि स्पटलाई चाहिने दृश्य– बाटोघाटो, पहाड, पहरा, पार्क, चौर, पोखरी, गल्छी, गुफा, गुम्बा सबै उपलब्ध छन् । अझै थपिने हिमाल सिमेन्टको भग्नावशेषले मारकाटका दृश्यलाई मनग्यै स्पेस दिएका छन् । चोभार डाँडोलाई साक्षी राखेर पर्दामा देखाइने द्वन्द्वले समाजको अन्तरद्वन्द्वलाई भने कहिल्यै प्रतिनिधित्व गर्न सकेको छैन भन्यो भने पूरै विद्वान् फिल्म उद्योग यस्तो कुरा गर्ने मूर्खहरूमाथि मञ्जुश्रीको खड्ग प्रहार गर्न बेर मान्दैन । त्यसैले त,  निर्देशककै पत्नी र छाराछोरी भारतीय टेलिफिल्मका ‘दिवाना’ छन् ।
म्युजिक भिडियो सुटिङका लागि पनि चोभार लोकेसन हो । दोहोरीमा भद्दा कम्मर मर्काउँदै नाच्ने मोडल होस् वा आधुनिक पपमा सर्वांग नग्न भएर नाच्ने बाला, थुप्रैलाई स्टार बनाएको छ चोभारले । जुन फिल्म वा म्युजिक भिडियो हेरे पनि एउटै दृश्य देख्नुपर्दा कति दिक्क हुँदा हुन् दर्शक † लाग्छ, चोभार एउटा खुल्ला स्टुडियो हो, जहाँ काठमाडौंको गन्जागोल छोडेको केही बेरमै भनेजस्तो चलचित्रप्रिय वातावरण पाउन सकिन्छ ।

म देखिरहेको छु, चोभार डाँडाकै एक छेउमा एउटा जोडी न्यानो स्पर्शमा लिप्त छन् । मुन्द्री लगाएको केटो केटीलाई जोडसँग अँगालो हालेर बसेको छ । तर, त्यस दिन ऊ खोरमा थुनिएको जंगली बँदेलभैँm केही चिन्तित, अलि छटपटे र हतारोमा भैँm देखिन्थ्यो । केटीचाहिँ शान्त, गगल्स लगाएकी, चट्टानमा बसेकी ढुक्कले † बगलीबाट चुरोटको बट्टा निकाल्छे र अभ्यस्त शैलीमा धुवाँ फुक्न थाल्छे । ब्वाइफ्रेन्ड उसको कपाल मुसार्न थाल्छ ।
मौसम सफा भएका बेला उपत्यकाभित्र र बाहिरका प्रेमजोडी यहाँ आएर आपसमा हराउँछन् तर दुनियाँका खुला आँखाले तिनको भावुक प्रकारको चर्तिकला देखिहाल्छन् । आकाश धुम्मिएका या साँझ छिप्पिएका बेला वियोगले छट्पटिएका केटाहरू हातमा बियरका बोतल लिएर आफू देवदास भएको अनुभव गर्न चोभार डाँडा उक्लिरहेका हुन्छन् । त्यसैले चोभारमा बोधिसत्त्व मञ्जुश्रीका पुरातात्त्विक महत्त्वका कुरा होइनन्, त्यसभन्दा लाखौँ गुना बढी मायाका चिह्न देखिन्छन् । फुटेका बियर वा भोड्काका बोटलका टुक्रा त दरबारमार्गमै पनि त भेटिन्छन् †
यहाँ आउने युगल प्रेमीको पनि आफ्नै दुनियाँ छ । तिनका दु:ख भिन्नै प्रकारका होलान् । तर, ती दु:ख पनि कुनैकुनै बेला आश्चर्यजनक लाग्छन् । दुई वर्षअघि काठमाडौं आएयता माथि बयान गरिएकी युवती अनामनगरमा पेइङ गेस्ट भएर होस्टेल बसेकी छे । पोखरामा उसको जिन्दगी अभिभावकको चाहनामा नियमित थियो । तर, त्यस चाहनाले यस युवतीको चाहना पूरा गरेन । ‘यहाँ स्वतन्त्रता पाइएको छ, जो मैले पोखरामा पाएकी थिइनँ । मतलब परिवारको त्यस्तो कन्ट्रोल पनि होइन,’ ऊ ठुल्ठूला गाजलु आँखा पल्टाउँछे, ‘तैपनि, आफूलाई फिल हुने क्या † यति बजे घर पुग्नुपर्ने भन्ने हुन्छ नि ।’ स्याबास्, नयाँ नेपालकी छोरी † तँ कुनै बेला पनि चोभारमा भेटिन सक्ने स्वतन्त्रताकी ‘फुच्ची देवी’ होस् †
चोभारमा मस्त यो पुस्ताले समाजमा विद्यमान मूल्य, मान्यता र आदर्शलाई चुनौती दिइरहेका छन् । राजनीतिक नेतृत्व अहिले संविधान निर्माणका लागि आफू तातेको ठान्दै छ । यसै मौकाको फाइदा उठाउँदै युवा आफूलाई असहज लागेका सामाजिक मान्यताका पर्खालका ठुल्ठूला चट्टान पन्छाउने मुडमा छन् । चाहे त्यो देहसुखको खोजीमा होस् वा मदिराको चुस्की लगाउने सवालमा, उनीहरूले स्वतन्त्रताको भव्य प्रयोग चोभारतिरका ‘डेटिङ’मा गरिरहेका छन् । सायद यही नै होला नयाँ नेपालको अर्को गौरवमय कोसेढुंगा †

चोभार–डाँडो तल झर्दै गर्दा भगवा वस्त्रधारी भिक्षुणी एकै लहरमा हिँडिरहेका भेटिए । ती कपाल खौरेका, मुडुला सुनौला टाउको लिएर काठमान्डूका कुनाकाप्चातिर डुलिहिँडेका भेटिन्छन् । यी भिक्षुणीका ‘सम्यक्’ आँखाले आज मलाई किन आकर्षित गरिरहेछन् ? ती निर्लिप्त दृष्टिले मलाई बोधिसत्त्व मञ्जुश्री सम्झाउँछन् । के मञ्जुश्री पनि यिनै भिक्षुणीजस्तै विहाररत थिए ?
मञ्जुश्रीको खड्गको दाग र बाग्मतीको निकास यहीँ देखिन्छ । चोभारका पुराना पाहुना आउलान् भैँm टोलाइरहेका घरहरूको आकर्षण भिन्नै छ । यहाँ सुकुल ओछ्याइएको पिँढीमा बसेर भर्खर स्कुलबाट फर्किएको बालकलाई मञ्जुश्रीको खड्गले यही डाँडा काटेको व्यहोरा बाजेले सुनाइरहेको दृश्य देखिन्छ । बज्यैचाहिँ मकै भुटिरहेकी † यी दृश्य कुनै पनि महान् कविका कविता वा आदिम ग्रन्थमा पढ्न पाइँदैन । किताबमा नभएको मुस्कान, हाँसो, दृश्य, छटा, कथा–कहानी चोभारमा छन् । चोभारले एउटा सभ्यता निर्माण गरेको छ, जहाँ सूर्यास्तको बेला थाकेको घाम डाँडाको किनारमा टाँस्सिइरहेको हुन्छ । यहीँ देखिन्छ, इतिहासको कुनै गर्तमा पुरिइसकेको मञ्जुश्री–काल, जसलाई आधुनिक नेपालको आधुनिक इतिहाससँग गाँस्न बाँकी नै छ ।

प्रतिक्रिया