बन्दले जनजीवन अस्तव्यस्त

काठमाडौं, ३० वैशाख । ब्राम्हण तथा क्षेत्री समाजले आह्वान गरेको नेपाल बन्दको दोस्रो दिन पनि देशभरको जनजीवन प्रभावित बन्यो । काठमाडौं उपत्यकामा बन्दकर्ताले दिनभरि कुनै पनि व्यवसाय तथा सवारीसाधन चल्न दिएनन् ।
बन्दका कारण १२ कक्षाको परीक्षा दिन हिँडेका विद्यार्थीले सास्ती बेहोरेका थिए । जबर्जस्ती बन्द गराउने खोज्ने संयुक्त संघर्ष समितिका नौजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट सात र ललितपुरबाट दुईजना पक्राउ परेका हुन्  । बिहान ५:३० बजे मध्यबानेश्वरस्थित एपेक्स कलेज अगाडि नम्बर खुल्न नसकेको पल्सर मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले बा.१ ज ५१०१ नम्बरको ट्याक्सीमा पेट्रोल छर्केर आगजनी गरेका छन् । आगजनीबाट ट्याक्सीको अगाडिको भाग र सिट जलेर क्षतिग्रस्त भएको छ ।
पत्रकारमाथि दुव्र्यवहार
अघिल्ला बन्दको तुलनामा विभिन्न सञ्चारमाध्यमका पत्रकारले पनि शुक्रबार सास्ती भोग्नुपर्‍यो । रिपोर्टिङका सिलसिलामा मोटरसाइकलमा हिँडेका थुप्रै सञ्चारकर्मी बन्दकर्ताको दुव्र्यवहारमा परेका थिए ।
सौर्य दैनिकका पत्रकार रामशरण बजगाईं र भीम गौतमलाई भक्तपुरको मिलनचोकमा मोटरसाइकल रोकेर बन्दकर्ताले दुव्र्यवहार गरेका थिए । परिचयपत्र देखाउँदा खोसेर मिल्काइदिएको पत्रकारद्वयले जनाएका छन् । उनीहरूको कठालो समातेर कुटपिट प्रयास भए पनि प्रहरीले हस्तक्षेप गरी छुटाएको थियो । मैतीदेवी चोकमा एबिसी टेलिभिजनका पत्रकार दिव्यज्योति मिश्रमाथि पनि आक्रमणको प्रयास भयो । पत्रकार मिश्रले भनिन्, ‘महिला भएकाले मात्रै बचियो, नत्र कुटाइ खाइन्थ्यो ।
भक्तपुर र कीर्तिपुरमा प्रतिकार
बन्दकर्ताले भक्तपुरका स्थानीयवासीलाई दुव्र्यवहार गरेपछि प्रतिकारमा नै उत्रिए । आक्रोशित दुवै पक्षबीच झपड हुँदा चारजना घाइते भए । मोटरसाइकलबाट सल्लाघारीतर्फ जाँदै बन्दकर्ताले रोकेपछि स्थानीयसँग झडप भएको थियो । झडपका कारण बन्दकर्ता चारजना घाइते भएका छन् । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेपछि मात्रै दुई पक्षबीचको झडप रोकिएको थियो  ।
बन्दका विरुद्ध कीर्तिपुरवासी पनि सडकमा उत्रिएका छन् । जातीय राज्यको माग गर्दै कीर्तिपरका स्थानीयवासीले बन्दको विरोध गरेका थिए । बन्दकर्ताले स्थानीय बजार बन्द गराउन उर्दी लगाएपछि स्थानीयवासी नेवा: राज्य जातीय राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले नेवा: स्वायत्त राज्य जिन्दावाद, जातीय पहिचानसहितको संघीयता कायम गर जस्ता नारा लगाएका थिए । कीर्तिपुरमा बन्दका पक्षपाती र विपक्षीले छुट्टाछुट्टै प्रदर्शन गरेका थिए ।
वार्ता असफल
एकीकृत माओवादीले जातीय राज्यका पक्षमा आफ्नो अडान यथावत् राखेपछि प्रमुख दलसहित सरकार र संयुक्त संघर्ष समितिबीच शुक्रबार भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको छ । वार्ता असफल भएपछि समितिले  आन्दोलन जारी राख्ने निर्णय गरेको छ । दुई दिनसम्म नेपाल बन्द गरेको संघर्ष समितिका सदस्यसँग सरकारले वार्ता गरेको थियो ।
वार्तामा संघर्ष समितिका सदस्यले प्रमुख दलका नेताहरुलाई पनि बोलाउन भनेपछि एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसबाट उपसभापति रामचन्द्र पौडेल र एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएका थिए । एमाओवादी अध्यक्ष दाहालले जातीय राज्यका पक्षमा अडान राखेपछि समितिका सदस्य आक्रोशित हुँदै वार्तास्थलबाट बाहिरिए ।
अध्यक्ष दहालले वार्तामा बाहुनक्षत्रीलाई कर्णाली र  बाग्मती अञ्चल बीचमा पर्ने गरी छु्ट्टै क्षेत्र दिने प्रस्ताव गरेका थिए । तर संघर्ष समितिका सदस्यले त्यसलाई ठाडै अस्वीकार गरे । वार्तास्थलबाट बहिरिएका उनीहरुले ‘सबैलाई राज्य बाँड्दै हिँड्ने पुष्पकमल को हुन् ?’ भनी आक्रोश पोखेका थिए । वार्ता शुक्रबार अपराह्न सिंहदरबारस्थित शान्ति मन्त्रालयमा भएको थियो ।
वार्तामा सरकारी वार्ता टोली संयोजक तथा उपप्रधानमन्त्री कृष्ण सिटौलासहितका सदस्य तथा दलका तर्फबाट एमाओवादी अध्यक्ष दाहाल, कांग्रेस उपसभापति पौडेल, एमाले वरिष्ठ नेता नेपाललगायत नेताको सहभागिता थियो । संयुक्त संघर्ष समितिबाट भने ब्राह्मण समाज, क्षत्री समाज, दलित समाज, दसनामी समाज, पिछडा वर्गलगायत प्रतिनिधिको उपस्थिति थियो ।

अस्पताल र एम्बुलेन्स तोडफोड

सौर्य समाचार

चितवन, ३० वैशाख । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले आह्वान गरेको नेपाल बन्दको दोस्रो दिन शुक्रबार चितवनमा बन्दकर्ताले अस्पताल र एम्बुलेन्समा तोडफोड गरी स्वास्थ्य सेवासमेत ठप्प पारे ।
बन्दकर्ताले भरतपुरको चौबिसकोठीस्थित सप्तगण्डकी अस्पतालमा तोडफोड गरेका हुन्  । तोडफोडका कारण अस्पतालको काउन्टरमा क्षति पुगेको छ । सप्तगण्डकी अस्पताल तोडफोडपछि भरतपुरको अस्पताल रोडका सम्पूर्ण निजी अस्पताल तथा मेडिकल पनि बन्द गराए । बन्दकर्ताले एम्बुलेन्ससमेत चल्न दिएनन् । मौलाकालिका अस्पतालको ना २ च १५४ नम्बरको एम्बुलेन्स बिरामी लिन भरतपुरबाट भोजाड जाँदा बन्दकर्ताले तोडफोड नै गरे । बिरामी बोक्न जाँदा तोडफोड भएपछि सुुरक्षाको माग गर्दै एम्बुलेन्स चालकहरूले शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले घटनाको विरोधमा शुक्रबार बिहान ९ देखि ११ बजेसम्म काम ठप्प पारेका थिए ।
चितवनमा पनि बन्दकर्ताले पत्रकारमाथि आक्रमण गरेका छन् । भरतपुरबाट मोटरसाइकलमा पूर्वी चितवनमा रहेको कार्यालयतर्फ जानेक्रममा रेडियो चितवनका समाचार सम्पादक शालिग्राम नेपालमाथि रत्ननगरको बकुल्लहर चोकमा बन्दकर्ताले आक्रमण गरेका हुन् । प्रेस चौतारीका चितवन अध्यक्षसमेत रहेका नेपालको परिचयपत्र र मोटरसाइकलको चाबी खोसेर बन्दकर्ताले बा ३१ प ५५५५ नम्बरको मोटरसाइकल तोडफोड गरे ।
ब्राम्हण समाज चितवनका अध्यक्ष काशीनाथ पौडेलले बन्दका क्रममा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नु गल्ती भएको स्वीकार गर्दै क्षमा मागे । बन्दकर्ताले पत्रकार गणशेखर शर्मा, शिशिर सिंखडा, मिलन पराजुली, गोविन्द घिमिरे र रक्षा रेग्मीलगायतलाई पनि दुव्र्यवहार गरेका थिए ।

प्रतिक्रिया