दिल्ली पुन: शीर्षस्थानमा

दिल्ली : १८८ रनको लक्ष्य १६.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्दै दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट सिजन–५ मा पुन: शीर्षस्थानमा उक्लिएको छ ।
डेभिड वार्नर र नमन ओझाले दोस्रो विकेटका लागि अविजित १८९ रनको साझेदारी गरेसँगै दिल्लीले डेक्कन चार्जर्सविरुद्ध सानदार जित हात पारेर एक खेलअघि गुमाएको शीर्षता हासिल गरेको हो । १२ खेलबाट दिल्लीको १८ अंक भयो । समान खेलपछि कोलकाताको १७ अंक मात्र छ । १२ खेलबाट १४ अंक भएको मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । विस्फोटक इनिङ खेल्ने क्रममा वार्नर शतक प्रहार गर्दै १०९ रन जोडे । जारी संस्करणमा दोस्रो खेलमा उत्रने क्रममा वार्नरले ५४ बलमा १० चौका र सात छक्का प्रहार गरे । त्यस्तै खेल सकिनुअघि ४६ बल मात्र सामना गरेका नमनले २ चौका र पाँच छक्का प्रहार गरेका थिए ।
इनिङको पहिलो बलमा चौका प्रहार गरेका सहवाग दोस्रो बलमा क्याचआउट भएपछि दिल्लीलाई वार्नर र नमनले आकर्षक इनिङमार्फत जित दिलाएका हुन् । दक्षिण अफ्रिकी बलर डेल स्टेयनविना नै उत्रिएको डेक्कनका बलरले कुनै पनि समय दिल्लीका ब्याट्सम्यानलाई दबाबमा राख्न सकेनन् । मनप्रित गोनी (५.५ रन प्रतिओभर) बाहेक डेक्कनले प्रयोग गरेका सबै पाँच बलरले १० भन्दा बढी इकोनोमिक रनरेटमा बलिङ गरेका थिए ।
यसअघि टस जिती ब्याटिङ गरेको डेक्कनलाई शिखर धवन र क्यामरन ह्वाइटले चुनौतीपूर्ण योगफलसम्म पुर्‍याएका हुन् । तेस्रो विकेटका लागि आपसमा १ सय २६ रनको साझेदारी गरेका शिखरले ८४ र ह्वाइटले ६५ रनको योगदान गरे । नदिमबाट रनआउट हुनुअघि जारी प्रतियोगितामा चौथो अद्र्धशतक प्रहार गरेका धावनले ४९ बलमा नौ चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै भरुन एरोनको बलमा नमनबाट रनआउट हुनुअघि जारी प्रतियोगितामा पाँचौं अद्र्धशतकीय इनिङ खेल्ने क्रममा ह्वाइटले ४० बलमा सात चौका र दुई छक्का प्रहार गरे । पहिलो १० ओभरमा दुई विकेट गुमाउँदै ६४ रन जोडेको डेक्कनले अन्तिम ९ ओभरमा ११७ रन जोडेको थियो ।
बुधबार राति मुम्बई इन्डियन्सलाई नौ विकेटले पराजित गरी रोयल च्यालेन्जर्स बैंगलोर अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ । १२ खेलबाट १३ अंक भएको बैंगलोर राजस्थान रोयल्सलाई एक अंकले पछि पारेर शीर्ष चारमा पुगेको हो । उत्कृष्ट बलिङ प्रदर्शनपछि मुम्बईलाई १४१ रनमा समेटेको बैंगलोरले क्रिस गेलको ८२ रनको इनिङपछि १२ बल बाँकी छँदै लक्ष्य पूरा गर्न सफल भयो । खेल सकिनुअघि गेलले ५९ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विराट कोहलीले २५ बलमा एक चौका र दुई छक्काको मद्दतमा ३६ रन जोडे । यसअघि पहिलो विकेटका रूपमा तिलकरत्ने दिल्सान १९ रन बनाई आउट भए ।
यसअघि टस जिती ब्याटिङ गरेको मुम्बईका लागि दिनेश कात्तिकले सर्वाधिक ४४ रन जोडे । हारपछि पनि मुम्बई अंकतालिकाको तेस्रो स्थानमा कायम छ । (एजेन्सी)

प्रतिक्रिया