बन्दमा यस्तो देखियो राजधानी

काठमाडौं, २९  वैशाख । जातीय राज्यको विरोध गर्दै बाहुन–क्षत्रीलगायतका समूहले आह्वान गरेको बन्दका कारण बिहीबार जनजीवन अस्तव्यस्त बन्यो ।

काठमाडौं उपत्यकामा बिहान छिटफुट गाडी चले पनि ९ बजेपछि भने दिनभर सडक खाली देखिन्थ्यो । सर्वसाधारणले लुकिछिपी मोटरसाइकल चलाउन खोजे पनि बन्दकर्ताले अवरोध गरेका थिए । यातायात नचलेपछि सर्वसाधारण पैदलै गन्तव्यस्थल पुग्न बाध्य बने । कर्मचारी हिँडेरै कार्यालय गए । बन्दले कक्षा १२ का परीक्षार्थीलाई निकै प्रभावित पार्‍यो । उनीहरू हिँडेरै परीक्षा दिन विद्यालय पुगेका थिए ।
तोडफोड गर्ने ८३ पक्राउ
बन्दका क्रममा केही स्थानमा गाडी तोडफोड भएको थियो । प्रहरीका अनुसार ना ३ ख ६०६९ नम्बरको बस तोडफोडमा संलग्नताको आरोपमा सीतापाइलाका २५ वर्षीय विनोद राई, ३५ वर्षीय शिव थापा र थानकोट–६ का २५ वर्षीय समिर खड्गीलाई पक्राउ गरिएको छ । बालाजुको एक ब्याक्ट्री कारखाना अगाडि बा १ ज २९०९ र बा १ ज ८२३३ नम्बरको ट्याक्सी तोडफोड भयो । घटनामा संलग्न ४५ वर्षीय प्रदीपविक्रम राणालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्दमा हुलहुज्जत गर्ने ८३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हुलहुज्जत, सुरक्षाकर्मीमाथि ढुंगामुढा, अत्यावश्यक गाडी सञ्चालनमा अवरोध तथा तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौंबाट ६० जना, ललितपुरबाट ११, मोरङबाट एक, हेटौंडाबाट दुई, सुनसरीबाट दुई र कास्कीबाट सात गरी ८३ जनालाई पक्राउ गरिएको छ । बन्दकै क्रममा काठमाडांैभित्र र बाहिरका रुटमा चल्ने सातवटा बसमा तोडफोड भयो । तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
सभासद्माथि आक्रमण
बन्दकर्ताले सभासद्हरू एमाओवादीका सुदन राई र लक्ष्मी गुरुङमाथि कोटेश्वरमा आक्रमण गरे । आदिवासी जनजाति सभासद्ले ब्राह्मण–क्षत्रीको बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ता नाराबाजीमा उत्रिएपछि दुवैजनालाई प्रहरीले स्कटिङ गरेर सिंहदरबार पुर्‍याएको थियो । प्रहरीका अनुसार बन्दकर्ताको आक्रमणबाट सभासद् राईको खुट्टामा चोट लागेको छ ।
सञ्चारकर्मीलाई दुव्र्यवहार
बन्दकर्ताले पत्रकारलाई समेत दुव्र्यवहार गरेका छन् । कार्यालय जाँदै गरेका नागरिक दैनिकका केपी ढुंगानाको परिचयपत्र खोसेर लगे । ‘सूचना विभागको परिचयपत्र उनीहरुले खोसे,’ सौर्यसँग ढुंगानाले भने, ‘फिर्ता माग्दा कार्यालयमा पठाइदिन्छु भन्दै उनीहरु गायब भए ।’ राजधानी दैनिकका टपेन्द्र कार्कीमाथि बन्दकर्ताले गोंगबुस्थित नयाँ बसपार्कनजिकै दुव्र्यवहार गरे । उनले भने, ‘परिचयपत्र देखाउँदा–देखाउँदै उनीहरुले मोटरसाइकलमा प्रहार गरे ।’ सोही स्थानमा सौर्य दैनिकका पत्रकार रामहरि पाण्डेमाथि पनि दुव्र्यवहार भयो । बन्दकर्ताले ‘प्रेस लेखिएको ज्याकेट जसले पनि लगाउँछ, यो डुब्लिकेटको जमानामा प्रेस लेखिएको कार्ड जसले पनि बनाउँछ’ भन्दै दुव्र्यवहार गरेका थिए । द काठमाडांै पोस्टका राजेश खनाललाई नलिन्चोकमा, पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोविन्द चौलागार्इं र सदस्य पूर्णभक्त दुवाललाई भक्तपुरमा बन्दकर्ताले मोटरसाइकल तोडफोड गरी दुव्र्यवहार गरेका थिए ।

प्रतिक्रिया