अवैध रूपमा खोटो संकलन

धनकुटा, २८ वैशाख । पाथिभारा सामुदायिक वनमा कम गोलाइ भएका सल्लाका रूखबाट अवैध रूपमा खोटो संकलन भइरहेको छ ।

तीनफुट गोलाइ नभएका रूखबाट खाटो संकलन गर्न नपाइने नियम भए पनि अवैध रूपमा डेढफुट गोलाइ भएका बिरुवाबाट पनि खोटो संकलन गर्ने कार्य भइरहेको छ ।
सनराइज रोजिन एन्ड टारपेनटाइन इन्डस्ट्रिजका ठेकेदार टेकबहादुर घिसिङको लापहरबाही र उपभोक्ता समितिका अध्यक्ष सानबहादुर लिम्बूको बेवास्ताका कारण यस्तो कार्य भएको आरोप स्थानीयको छ ।
वन क्षेत्रमा रहेका करिब १५ प्रतिशत कम गोलाइका रूखबाट खोटो संकलन गर्ने गरिएको उपभोक्ता रेवतीप्रसाद पोखरेले बताए । सानो–ठूलो ख्यालै नगरी रूखलाई ननापी खोटो संकलन गर्ने काम भइरहेको अर्का उपभोक्ता भूपाल अधिकारी बताउँछन् ।
उपभोक्ता समितिका पदाधिकारीले सामुदायिक वनको अवलोकन गर्नुपर्ने भए पनि ठेकेदारले जथाभाबी काम गर्दासमेत उपभोक्ता समितिका पदाधिकारीले अवलोकन तथा निरीक्षण नगरेको उपभोक्ताले आरोप लगाएका छन् । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लिम्बुले भने खोटो संकलन गर्ने काम जेठदेखि मात्र सुरु गरिने भएकाले यसबारेमा आफूलाई थाहा नभएको बताए । उनले खोटो संकलन सुरु नभएको दाबी पनि गरे ।
खोटो संकलन गर्ने ठेक्का लिएका ठेकेदार घिसिङ कामदारले केही कम गोलाइ भएका रूखबाट खोटो संकलन गरेको स्विकार्छन् । कामदारले कम गोलाइका रूखबाट खोटो संकलन गरेपछि गोबर लगाएर दाग मेट्ने काम गरेको घिसिङले बताए ।

प्रतिक्रिया