प्रतिरक्षा बजेट बढाउने तयारीमा भारत

नयाँदिल्ली, २८ वैशाख । पाकिस्तान र चीनबीच बढ्दो सैन्य निकटताबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतीको सामना गर्ने बहानामा भारतले प्रतिरक्षा बजेट बढाउने तयारी गरेको छ । पाकिस्तान र चीन दुवै राष्ट्रसँग भारतको सम्बन्ध सुमधुर छैन । भारतले पाकिस्तानसँग तीन र चीनसँग एकपटक युद्ध लडिसकेको छ । चीन र पाकिस्तानबीच सैन्य सम्बन्ध विस्तार भइरहेको र उत्तरमा चीन तथा पश्चिममा पाकिस्तानसँग एकैपटक दुई मोर्चामा युद्ध लड्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै प्रतिरक्षा प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन भारतले प्रतिरक्षा बजेट बढाउन लागेको हो ।
भारतीय राज्यसभामा मंगलबार प्रतिरक्षामन्त्री एके एन्टोनीले सन् २०१२–१३ को बजेटमा प्रतिरक्षा बजेट बढाउन आफूले पहल गर्ने बताए । ‘नयाँ धरातलीय यथार्थ र बदलिँदो सुरक्षा परिवेश’ लाई ध्यानमा राखी बजेट बढाउनु अपरिहार्य रहेको धारणा उनले व्यक्त गरे । ‘चीन र पाकिस्तानबीचको बढ्दो निकटता हाम्रा लागि चिन्ताको विषय बनेको छ । घटनाको गम्भीरता मैले महसुस गरेको छु । बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राखेर बजेट बढाउनु आवश्यक भएको छ,’ उनले भने । बजेट बढाउन पहल गर्नुमा भारतीय सेनाले हालै अवलम्बन गरेको ‘प्रो–एक्टिभ’ सैन्य नीति पनि जिम्मेवार रहेको भारतीय दैनिक पत्रिका ‘टाइम्स अफ इन्डिया’ को अनलाइन संस्करणले बुधबार जनाएको छ ।
चालु आर्थिक वर्षका लागि भारतका सैन्य बलहरूले दुई सय ३९ खर्ब भारु भन्दा बढी रकम विनियोजन गर्नुपर्ने राय व्यक्त गरिरहेका छन् । यो रकम सन् २०१२–१३ मा भारतको अनुमानित कुल गार्हस्थ उत्पादनको दुई दशमलब ३५ प्रतिशत हो । अहिले भारतको प्रतिरक्षा बजेट कुल गार्हस्थ उत्पादनको एक दशमलव नौ प्रतिशत छ ।
प्रतिपक्षी नेता अरुन जेट्लीले बदलिँदो भू–रणनीतिक यथार्थलाई ध्यानमा राखेर सामरिक नीति र प्रतिरक्षा तयारी सुधार्नु आवश्यक भएको धारणा राखेपछि रक्षामन्त्री एन्टोनीले प्रतिरक्षा बजेट बढाउन पहल गरिने बताएका हुन् । नेता जेट्लीले ९० दिनसम्म युद्धमा टिक्ने गरी भारतको प्रतिरक्षा क्षमता बढाउनुपर्ने माग गरेका थिए । ‘पाकिस्तानमाथि कसरी विजय हासिल गर्ने र चीनलाई कसरी थेग्ने भन्ने विषयलाई ध्यानमा राख्नु आवश्यक भएको छ,’ उनले भने ।
सीमा क्षेत्रमा सामरिक दृष्टिकोणले उपयोगी रेल र सडक विस्तार गरी भारतीय सेनाको परिचान क्षमता अभिवृद्धि गर्ने कार्यलाई तीव्रता दिनुपर्ने रक्षामन्त्री एन्टोनीले बताए । ‘चीनले तिब्बतमा सैन्य क्षमता सुधार्न सक्छ भने भारतले पनि अरुणाचल प्रदेश, सिक्किमलगायतका क्षेत्रमा यस्तो सुधार गर्न सक्छ,’ उनले भने । भारतीय नौसैनिकका लागि हरेक वर्ष पाँचवटा नयाँ युद्धपोत थप्दै जाने योजना पनि उनले सुनाए । (एजेन्सी)

प्रतिक्रिया