भारतले गल्ती सच्याउन सक्ला ?

विश्वको आधुनिक राजनीतिमा तीन प्रभावकारी तत्त्वको भूमिका नि:सन्देह, स्थिरता र प्रगतिका लागि निर्णायक रहिआएको छ । यी तीन तत्त्व हुन् भू–राजनीतिक अवस्था जसलाई भूगोल पनि भनिन्छ, भू–सांस्कृतिक फैलावट र भू–सामरिक महत्त्व । यसलाई आधार मानेर हेर्दा सिंगो एसिया र दक्षिण एसिया सम्बद्ध चीन, भारत र नेपालबीच रहेका आधारभूत अवस्थाको मूल्यांकन गर्नुपर्ने हुन्छ । चीन र भारत
भू–राजनीतिक दृष्टिबाट निर्णायक स्थितिमा छन् भने नेपाल अत्यन्त सीमित सौभिध्यतामा छ । भू–सांस्कृतिक आधारबाट हेर्दा चीन अत्यन्त खँदिलो अवस्थामा छ भने भारत खुकुलो र कमजोर अवस्थामा छ ।
नेपाल यस पाटोबाट हेर्दा चीन र भारतका महत्त्वपूर्ण भू–भागसम्म ‘बाइन्डिङ इनर्जी’का रूपमा विस्तारित छ । भू–सामरिक दृष्टिकोणहरू र दक्षिणको हिमालयसँग साझेदारीको भूमिका राख्ने नेपाल अत्यन्त महत्त्वपूर्ण र संवेदनशील क्षेत्र हो । यस्तै भारत दक्षिणमा श्रीलंका, पूर्वमा बर्मा र बंगलादेश, पश्चिममा पाकिस्तान र उत्तरमा चीन, नेपालजस्ता भू–सामरिक महत्त्वका राष्ट्र र क्षेत्रबाट चौतर्फी घेरबन्दीमा छ । नेपाल उत्तरतर्फको शक्तिसम्पन्न चीन र दक्षिणतर्फको विशाल भारतबीच सामरिक महत्त्वको हिसाबले विश्वकै लागि अत्यन्त महत्त्वपूर्ण र संवेदनशील भूमिकामा छ । नेपालले समेटेको सांस्कृतिक आयाम तथा भू–सामरिक महत्त्वले भारत र चीन मात्र होइन, दक्षिण एसिया, एसिया र विश्व शान्तिकै लागि कति महत्त्व राख्छ भन्ने विषयहरूको गहन विश्लेषण गरेमा स्वत: स्पष्ट हुन्छ ।
नेपाल भारत सम्बन्धका आधुनिक पाटाहरूमा ००७ को परिवर्तन बुझ्ने क्रममा भारतले ब्रिटिसकालीन आँखाले देख्ने र बुझ्ने गरेको छ । नेपाली परिवर्तनको अस्मितालाई बलात् धावा बोल्ने गम्भीर गल्ती गर्नुको परिणाम सम्बन्धमा आउन लागेको न्यानोपन झन् कठयांग्रिन पुगेको यथार्थबाट सायद कोही अनविज्ञ छैन । यही गल्ती पुन: ०१७ र ०३७ मा भारतले दोहोर्‍याउन पुग्यो । यसले भारतविरोधी जनमत नेपालमा बढ्ने क्रमसँगै ‘ट्रेड–ट्रान्जिट’ नाकाबन्दीसमेतमा भारत उत्रन पुग्नु उसैले गरेका गल्तीका परिणाम थिए । नेपालप्रतिको ब्रिटिसकालीन भारतीय दृष्टिकोणमा पुनरावलोकनको आवश्यकताबोध ०४६ को आन्दोलनले पुष्टि गरिसकेको पाटो हो । भारत यहाँसम्म आइपुग्दा आफ्ना गल्ती सच्याउने सकारात्मक प्रयासमा फर्केको थियो । नयाँ शिराबाट पुरानै हैकम र भूमिकामा रहेको पश्चिमा शक्तिलाई यो बदलाव पाच्य भएन । यसर्थ ऊ आफ्नो संसदीय शक्तिबाटै घेराबन्दीको राजनीतिलाई निरन्तरता दिने अभ्यासमा लाग्यो । पश्चिमारचित चक्रब्युहमा पुन: नेपालका मूलधारका राजनीतिक शक्ति एवं भारतसमेत संलग्न हुन पुगे भने चीनले पनि सकारात्मक भूमिका प्रस्ट रूपमा निभाउन सकेन । यसै सन्दर्भमा यो विषयमा नेपाल मामिलाका चिनियाँ विज्ञ प्राध्यापक वाङहोङ बेइका भनाइले खुला र स्पष्ट संकेत गर्छ । ‘अरू राष्ट्रभन्दा भारत र पश्चिमाको नेपाल अवधारणा र चासो फरक छ ।
अमेरिकाको कुरा गर्ने हो भने चीनमा उसको सबैभन्दा मुख्य चासो तिब्बत हो । ऊलगायतका पश्चिमा शक्ति तिब्बत चीनबाट अलग्गिएको हेर्न चाहन्छन् । चीन कमजोर भएको हेर्न चाहन्छन् । आफ्नो यस्तो चाहना पूर्ति गर्न उसले नेपाललाई रणनीतिक हिसाबले प्रयोग गर्न प्रयत्न गर्छ । जहाँसम्म भारतको कुरो छ उसमा बेलायती विस्तारवादको लिगेसी छ । चीनले नेपालमा केही गर्न लाग्यो भने कतिपय भारतीय अधिकारीले ‘थ्रेट’को रूपमा बुझ्छन् । जस्तो नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूको नेपाल भ्रमण हुँदा पनि भारतीयहरू अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्डामा सशंकित हुने गरेको पाइन्छ । चिनियाँ अधिकारी प्रतिनिधिमण्डलको भ्रमणलाई भारतीय पक्षले चीनको प्रभाव नेपालमा बढ्दै गएको बुझ्छन् । यस्तो उपस्थितिले नेपालमा आफ्नो प्रभाव कमजोर हुने उनीहरू ठान्छन् । तर, चीन कहिल्यै त्यस्तो सोच्दैन ।’ यो भनाइ प्राध्यापक वाङहोङ
बेइकाको हो ।
पछिल्लो भारतीय पुनरावलोकन उल्टाउन पश्चिमाकेन्द्रित रणनीतिले ०६२/०६३ को आन्दोलनको माहोल नै आफ्नो कब्जामा लियो । यसका क्रमश: परिणाम र अभ्यास भारत घेराबन्दी गर्ने, भारत–चीन सम्बन्ध कटुतामा बदल्ने र नेपालमा भारतविरोधी सैद्धान्तिक आधारभूमि खडा गर्ने रहेको छ । त्यसो त अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)को गोलचक्करमा फस्नुको परिणाम टुट्न पुगेको प्रगतिशील एलाइन्सका सहभागी शक्ति कांग्रेस तथा बाम मोर्चाले गत राज्यसभाको चुनावबाट राम्रै पाठ सिकिसकेको हुनुपर्छ । पछिल्लो पाँचबुँदे सहमतिको राजनीतिक रूपले भारतीय पक्षको नग्न हस्तक्षेप जुन मिडियामा आइरहेका छन् त्यो इतिहासको पुनरावृत्ति हो । त्यसले पुनरावलोकन अभ्यासलाई पुन: फलामे सेफमा बन्द गरी ताल्चा लगाइदिएको छ । यसको परिणाम नेपाललाई भारतविरोधी जनमत निर्माण गर्ने किल्लाका रूपमा विकास गर्नु हुनेछ ।
निरपेक्ष संविधान निर्माणको आक्रोशित नारामा आमनेपाली ‘सद्भावको दुरुपयोग गर्दै नेपाल बर्बाद गर्ने कुत्सित गुरुयोजनामा भारतसमेत गाइडेड रहेको बुझिन्छ । यसले या त भारत आफैँ पटेलयुगीन अवधारणाबाट मुक्त हुन सकेको छैन या त बदलिएका समयका चुनौतीलाई सम्बोधन गर्ने क्षमता राख्दैन । यो ऊ स्वयंले मूल्यांकन गर्नुपर्ने विषय हो । जहाँसम्म नेपालको सवाल छ अहिलेका मूलधारका राजनीतिक शक्तिहरू पराधीन स्वार्थका सामु निस्तेज छन्, जसको परिणाम अरू केही दशक राष्ट्र कमजोर भूमिकाबाट गुज्रनु परे पनि समस्यालाई चिरेर जानुको विकल्प छैन । जहाँसम्म भारत र चीनको सवाल छ यदि लामो मौनता पुनरावलोकनका सवालमा आख्तियारी भयो भने परिणाम भयावह हुन सक्छ । जस्तो अफगानिस्तान नष्ट हुँदा पश्चिम एसियाले भोगेको छ ।
(लेखक पुष्पलाल अध्ययन समाजका महासचिव हुन् ।)

प्रतिक्रिया