लासहरूका प्रत्यक्षदर्शी


‘त्यस बेला के पढाइ हुन्थ्यो र, सपना देख्नु ?’ वीर अस्पतालको आकस्मिक कक्षबाहिर उभिएका गोपाल राउतले आफ्नो पालाको समयबोध गराए । ‘अहिले पो सक्नेका लागि राम्राराम्रा स्कुल, कलेज छन्,’ सुरक्षागार्ड राउतले भने, ‘त्यो पनि गाउँठाउँमा त कहाँ छन् र †’ आजभन्दा ५५ वर्ष पहिला २०१४ सालमा खोटाङको मंगलटारमा जन्मिएका राउत १७ वर्ष आर्मीमा जागिरे भएछन्, यो उनको सानैदेखिको सपना नै रहेछ । शान्तिमाया र दानबहादुर राउतका तीन छोरा तीन छोरीमध्ये जेठा हुन् गोपाल ।
‘घरको जेठोबाठो छोरो भएपछि जिम्मेवारी पनि उस्तै आइलाग्दो रहेछ’, राउतले भने, ‘गाउँमा बेल्ट बाँधेर आउने आर्मी देख्दा ‘त्यस्तै’ बन्छु भन्ने लाग्थ्यो, १४ वर्षमै आर्मी भएँ ।’ आर्मीको जागिरबाट अवकाश पाएपछि ‘त्यसै’ बस्न नहुने सोच बनाएका राउतले एकदिन पत्रिकामा विज्ञापन देखेछन् । वीर अस्पतालले सुरक्षा गार्ड मागेको रहेछ, उनले नाम पनि निकाले । अहिले बीस वर्ष भयो उनले वीर अस्पतालको ‘इमर्जेन्सी’ गेटमा आउजाउ गर्नेलाई रेखदेख गर्न थालेको । ‘म आर्मी भैसकेको मान्छे तर कमिलोसम्म पनि मारेको थिइनँ,’ उनले भने, ‘पीडा, चित्कार र आँसुको अर्कै संसार पो रहेछ अस्पताल त †’
सुरुसुरुका दिनमा त राउत खुबै अत्तालिएछन् । आफन्तको पीडामा रुनेहरू, परिवारका सदस्य गुमाउँदा चिच्याउनेहरू अनि प्रियजनको वियोगमा भक्कानिनेहरूको आर्तनादले मुटुमा गाँठो पाथ्र्यो । यस्तो अवस्थामा धेरैबाजि रोएका छन्, सयौँबाजि भक्कानिएका छन् । अहिले भने अलि कठोर भइसकेका रहेछन् । यसो भनौँ, पलैपिच्छेको दु:खान्त र वियोगान्तक दृश्यले उनलाई सम्हालिन अभ्यस्त बनाइदिएका छन्, नदुख्न बानी पारिदिएका छन् । ‘तर पनि कलिला केटाकेटी विष खाएर आउँछन्, कत्ति मान्छे दुर्घटनामा परेर रगतपच्छे भएर भित्रिन्छन्, त्यति बेला मन जति कठोर पारेर बाँधे पनि खै कताकता दुखेर आइहाल्दो रहेछ’, सुनाए । दमका कयौँ बिरामीले स्वाँस्वाँ गर्दै अन्तिम श्वास आफ्नैअगाडि फेरेको घटनाले पनि उनको मनलाई नराम्रो गरी धमिल्याइदिन्छ । ‘उपचारका लागि आउनेहरू धेरै ठीक हुन्छन्, भाग्य नभएका र दिन पुगेकाहरू मर्छन्,’ उनले भने, ‘तिनै मान्छे सपनामा पनि दुरुस्तै आइरहन्छन् ।’
तर, सुरुआती दिनमा झैँ ‘जागिरै छाडेर बेपत्ता होऊँ कि’ जस्तो अचेल भने उनलाई लाग्दैन रे † राउतले जीवनको अभ्यस्तता यसरी पोखे– ‘एक दिन दुई दिन हो बाबु † सधैँ त्यस्तै दृश्यमा बाँच्नुपरेपछि कति सोच्नु र †’ हरेक क्षण र पलमा दोहोरिने पीडाहरूले आत्तिने मन कठोर बने पनि उनीभित्रको मानवता भने उस्तै गरी जीवितै छ । ‘दुई छोरा, एक बुहारी र श्रीमती मेरा पनि छन् । म पनि मन भएको मान्छे हुँ,’ राउतले भने, ‘बाध्यताले जागिर खाए पनि दु:खी–गरिबलाई सहयोग गर्छु, त्यसै परे खल्तीमा भएको पैसा पनि हालिदिन्छु ।’
खोटाङकै देवीस्थान प्राविबाट पाँच कक्षा मात्रै पढेका गोपाललाई जीवनले धेरै थोक पढाइदिएको छ । जन्म, मृत्यु, पीडा, आँसु, माया, खुसी सबैसँग उनले नजिकबाट साक्षात्कार गरेका छन् । कतिपटक त घाइतेलाई सहयोग गर्छु भन्दा आफ्नै युनिफर्म रगताम्य पारेका छन् । एम्बुलेन्सबाट इमर्जेन्सी वार्डमा पुर्‍याएका त्यस्ता बिमारी बाँचेको क्षणजति खुसी उनलाई अरू कुनै बेला प्राप्त हुँदैन रे † उनले सघाएका कतिपय बिरामीचाहिँ अगाडिबाटै लास बनेर बाहिरिन्छन्, त्यो क्षणजति दर्दनाक र मुटु चिमोटिने अर्को कुनै पल बन्दैन ।
जीवनको असली दु:ख, पीडासँग साक्षात्कार गरेर भएको आम्दानीले उनले दुवै छोरालाई १२ कक्षासम्म पढाएका छन् । ‘खानै पर्‍यो, लाउनै पर्‍यो, घरव्यवहार धान्ने यत्ति एउटा उपाय हो,’ उनले भने, ‘जेठो छोरो बहराइन पठाएँ, कान्छो जाँदै छ ।’ जीवनको संघर्षमय यात्रामा उनी परिवारसँग धित मरुन्जेल बस्न पाएका छैनन् । ‘मैले नपाए पनि छोरानाति बस्न सके हुन्थ्यो, खै के सक्लान् र †’ उनले निराशामिश्रित अवस्थाको अनुमान गरे । घर–जमिन जोड्ने सपनासम्म नबनाएका राउतले भने, ‘सन्तुष्टिको एक गाँस खान पुगिदिए हुन्थ्यो ।’ वर्तमान राजनीतिमा चासो लिने तर आशा नगर्ने स्वभावका राउतले भने, ‘शान्ति र संविधानको जपना गरेको त धेरै भयो तर कुर्सी चढ्नेबाहेकको सोच नेपालका नेतामा देखिँदैन ।’ आफ्नै हिसाबले प्रवृत्तिहरूको आँकलन गर्दै आएका उनी सुनाउँदै छन्– ‘नेपाल कत्रो नै छ र, पारिपट्टिको भारत त्यत्रो भएर पनि गरिखाएकै छन्, हाम्रो मुलुक त इमानदार भएर बनाउने हो भने स्वर्ग नै बन्छ ।’

शिवराज 

प्रतिक्रिया