जमिम र फैजानको हत्यामा एउटै भारतीय गिरोह

काठमाडौं, २८ वैशाख । इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्यामा भारतीय गिरोहको संलग्नता रहेको खुलेको छ । सात महिना लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न गिरोहको पहिचान गरेको हो ।

सञ्चार उद्यमी जमिम शाहको हत्या र युनुश अन्सारीमाथि कारागारमा गोली प्रहार गरिएको घटनामा समेत सोही गिरोहको हात रहेको प्रहरी अनुसन्धानले देखाएको छ । फैजानको हत्यामा प्रयोग भएका एक नेपाली युवा पक्राउ परेका छन् तर भारतीय गिरोहको पत्तो छैन ।
प्रहरीका अनुसार फैजान हत्यामा लखनऊका अन्दाजी ३०/३२ वर्षीय आदित्य पल, आजमगढका अन्दाजी २७/२८ वर्षीय फहद आलम, उत्तर प्रदेश बडेनी ग्राम पञ्चायतका बब्बु भनिने त्रिलोक सिंहको प्रत्यक्ष संलग्नता थियो । उनीहरूलाई सहयोग गर्ने रामेछाप गोश्वारा–६ का धनबहादुर थापामगरलाई प्रहरीले पक्राउ गरेपछि रहस्य खुलेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रधान कार्यालयअन्तर्गतको प्रतिआतंकवाद निर्देशनालय र महानगरीय अपराध अनुसन्धान महाशाखाले संयुक्त रूपमा फैजान हत्याको अनुसन्धान गरेका थिए । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार बब्बु भनिने त्रिलोक सिंह हुन् । उनले भारतमै बसेर हत्याको योजना बनाएका थिए । त्रिलोक सिंह तिनै व्यक्ति हुन्, जो जमिम शाहको हत्यामा प्रत्यक्ष संलग्न थिए ।
सुवास/योगेश उपनामले चिनिने आदित्य पालले फैजान हत्यामा स्थानीय योजनाकारका रूपमा काम गरेका थिए  । त्यस्तै, फहद आलमले गोली हानेका थिए । गोली हान्ने अर्का व्यक्तिको पहिचान भएको छैन । पक्राउ परेका थापामगरले भने उनीहरूलाई ट्याक्सी प्रयोग गर्न दिनुका साथै हतियार लुकाइदिएर सहयोग गरेको प्रहरीले जनाएको छ ।
हत्याको योजना भारतमा बनाएर आदित्य ०६७ सालमा भैरहवा नाका हुँदै कलंकीमा आएर बसेका थिए । उनी फैजान अहमदबारे धेरै कुरा बुझेर भारत फर्के । २२ वैशाख ०६८ मा उनी श्रीमती रिमा पलसहित फेरि काठमाडांै आए र कलंकीमै डेरा गरी बसे । उनले त्यहाँका घरबेटीलाई भारतको टेलिफोन टावरमा काम गर्ने बताएका थिए । अन्तरजातीय विवाह गरेकाले घरबाट निकालिएपछि नेपालमा बस्नुपरेको उनले घरबेटीलाई बताएका थिए ।
उनले अहमदका गतिविधि नजिकबाट अध्ययन गरे । अहमद घर पुग्ने समयदेखि घन्टाघरस्थित जामे मस्जिदमा बिताउने समयको समेत हिसाब–किताब राखेका थिए उनले । जासुसीका लागि उनी आफँै मस्जिदमा प्रार्थना गर्न जाने गर्थे । अहमदबारे सूचना संकलन गर्न उनले करिब ६ महिना लगाएका थिए ।
हत्या गर्ने स्थान र मिति तय भएको १० दिनअघि पलले बा.१ज५५७० नम्बरको ट्याक्सीचालक थापामगरसँग चिनजान गरे । उनीहरूबीच मोबाइल नम्बरसमेत आदानप्रदान भयो । अनि सोही ट्याक्सी प्रयोग गरी घटनास्थलको निगरानी तथा घटनापछि भाग्न सकिने ठाउँको पहिचान गर्ने काम भए ।
९ असोज ०६८ बिहान करिब ११ बजे पलले थापालाई फोन गरी सोल्टीमोडमा बोलाए । उनीसँगै सुटर आलम र अर्का एक अपरिचित ट्याक्सीमा चढेर घन्टाघरतर्फ हुइँकिए । घन्टाघरनजिक पुगेपछि थापालाई ट्याक्सी रोक्न भनियो । तर, ट्राफिकले ट्याक्सी रोक्न नदिने भनेपछि तीनैजना घन्टाघरमा ओर्लिए । थापा भने दरबारमार्गस्थित तीनधारा पाठशालाअघिल्तिरको पार्किङमा ट्याक्सी रोकी उनीहरूलाई कुरेर बसे ।
करिब ४५ मिनेटपछि तीनैजना दौडिँदै आएर ट्याक्सीमा चढे र घन्टाघरको बाटो हुँदै ट्याक्सी कुदाउन भने । थापाले त्यसै गरे । भद्रकालीमा पुगेपछि तीनैजना झरे । त्यसको दुई दिनपछि पलले थापालाई फोन गरी कलंकी चोकमा बोलाए । अनि ‘मेड इन युएस’ लेखिएको पेस्तोल र ६ राउन्ड गोली पोको पारी उनलाई राख्न दिए । प्रहरीका अनुसार उनले पछि लिन आउने भन्दै हतियार राख्न दिएका थिए । थापाले पनि हतियार धापाखेलस्थित आफ्नै डेरामा लुकाएर आफू भारततिर भागेका थिए । करिब ६ महिना भारत बसेर फर्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनकै बयानका आधारमा प्रहरीले घटनाको थप रहस्य पत्ता लगायो ।
डिआइजी उपेन्द्रकान्त अर्यालले अहमद हत्या गर्ने गिरोह २४ माघ ०६६ मा सञ्चार उद्यमी जमिम शाहको हत्यामा पनि संलग्न रहेको बताए । अर्यालका अनुसार केन्द्रीय कारागारमा रहेका युनुश अन्सारीमाथि गोली हान्न लगाउने पनि उनीहरू नै हुन् । उनले भने, ‘तीनैवटा हत्याका घटना एकआपसमा अन्तरसम्बन्धित देखिन्छन् ।’
डिआइजी अर्यालका अनुसार पलले अन्सारीमाथि गोली प्रहार गर्ने मनमित सिंह भाटियाको वकिलसँग भेटेका थिए । वकिललाई पलले १० हजार रुपियाँ दिएको र मनमितलाई कसरी छिटो निकाल्न सकिन्छ भन्नेबारे उपाय सोच्नसमेत भनेको अर्याल बताउँछन् ।
‘यो एउटा ट्रान्सनेसनल किसिमको अपराध हो,’ डिआइजी अर्यालले भने, ‘यस्ता अपराध नियन्त्रण गर्न संगठित अपराधविरुद्धको ऐन तथा आपसी कानुनी सहयोगसम्बन्धी छुट्टै ऐन बनाउन आवश्यक छ ।’ यस्ता अपराध नियन्त्रण गर्न राष्ट्रिय स्तरमै दुईपक्षीय र बहुपक्षीय संयन्त्र खडा हुनुपर्नेमा उनले जोड दिए ।

हत्या शृंखला
फैजान, जमिम शाह र युनुश अन्सारीमाथि गोली प्रहार गर्ने समूह एउटै भएको प्रहरीको भनाइले पुष्टि गरिसकेको छ । तर, घटनाको प्रकृति र संलग्न अभियुक्तहरूको अन्तरसम्बन्ध हेर्दा विगतका सातवटा गोलीकाण्डमा उनीहरूको प्रत्यक्ष संलग्ता रहेको पाइन्छ ।
भारतमा जेलजीवन बिताइरहेका बब्लु श्रीवास्तवको प्रत्यक्ष संलग्नता थियो, तत्कालीन सांसद मिर्जा दिलसाद बेगको हत्याकाण्डमा । मिर्जालाई १५ असार ०५५ मा सिफलस्थित घर जाँदै गर्दा गोली हानी हत्या गरिएको थियो । फैजान हत्यामा संलग्न बब्बु भनिने त्रिलोक सिंह उनकै समूहमा काम गर्छन् । त्रिलोक सिंहकै योजनाअनुसार फैजानको हत्या गर्न काठमाडांै आएका आदित्य पालले युनुश अन्सारीमाथि गोली हान्ने मनमित सिंह भाटियालाई छुटाउन प्रयास गरेको पाइएको छ ।
पुर्पक्षका लागि थुनामा रहेका मनमित तिनै अभियुक्त हुन्, जो १९ असोज ०६६ मा नेपालगन्जमा अब्दुल मजिद मनिहारको हत्या र १० पुस ०६६ मा बुटवलमा सौकत बेगमाथि गोली प्रहारमा संलग्न थिए । यसैबाट पुष्टि हुन्छ, मनमित, पाल, सिंह र श्रीवास्तव एउटै समूहका सदस्य हुन् । गोली प्रहारको प्रकृति विश्लेषण गर्दा ०६८ वैशाख १ गते वसुन्धारामा पाकिस्तानी राजदूतावासका कर्मचारी मेहबुब आसिफमाथि गोली हान्ने पनि उनीहरू नै भएको प्रहरीको अनुमान छ ।

 

प्रतिक्रिया