अपहरणकारीलाई कारागार स्थानान्तरण

चितवन, २७ वैशाख । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ अपहरणकाण्डका मुख्य आरोपी रोहित पालिवाल अग्रवाल र उनको समूहलाई स्थानीय प्रशासनले स्थानान्तरण गरेको छ ।

जिल्ला कारागारमा नाइके र कैदीबन्दीमाथि गालीगलौज र धम्की दिन थालेपछि उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

अग्रवाललाई रसुवा, नवीन क्षेत्रीलाई बाँके तथा बद्रीप्रसाद ढुङ्गाना र सुनिल श्रेष्ठलाई बर्दिया कारागारमा स्थानान्तरण गरिएको जिल्ला कारागार चितवनका प्रमुख टोलप्रसाद शर्मा सुवेदीले बताए ।

अग्रवाललाई मंगलबार दिउँसो र अन्य तीनजनालाई आज बिहान त्यसतर्फ पठाइएको हो । अग्रवालसहितको समूहले डाक्टर श्रेष्ठलाई समेत कारागारकै फोन प्रयोग गरी पटक पटक धम्की दिँदै आएका थिए । उनको समूह र अन्य नाइके, एवम् कैदीबन्दीहरूका बीचमा झगडा बढ्दै गएपछि जिल्ला कारागारले स्थानान्तरणका लागि विभागमा अनुरोध गरेको थियो ।

गत हप्ता कैदीबन्दीहरूका बीचमा झडपसमेत भएपछि आन्तरिक प्रशासनमा कार्यरत ६५ जना नाइके कैदीले काम गर्न नसक्ने भन्दै सामूहिक राजीनामा समेत दिएका थिए ।

उनीहरूले पालिवालको समूहलाई तत्काल स्थानान्तरण गर्न माग गरेका थिए । कारागारमा तनाव बढ्दै गएपछि गत हप्ता प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की र प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले नाइकेहरूलाई उनीहरूको माग छिट्टै पूरा गर्ने आश्वासन दिएका थिए ।

पालिवालले डा श्रेष्ठलाई २०६७ साल जेठ ४ गते अपहरण गरेका थिए । डा. श्रेष्ठ तीन किलो ६०० ग्राम सुन बुझाएर १९ दिनपछि रिहा भएका थिए । पालिवाललाई तीन महिनाअघि भरतपुर कारागार ल्याइएको हो ।

यसअघि नै सोही आरोपमा पक्राउ परेका नवीन क्षेत्री, बद्री ढुङ्गाना र सुनिल श्रेष्ठ पुर्पक्षका लागि भरतपुर कारागारमा थुनामा रहेका थिए ।

कारागारभित्रै कैदीबन्दीको कुटपिटबाट तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या भएपछि भरतपुर कारागारलाई संवेदनशीलरूपमा हेरिँदै आएको छ ।

एक सय १० जनाको क्षमता रहेको सो कारागारमा हाल ३ सय ९० जना कैदीबन्दी रहेका छन् ।


प्रतिक्रिया