त्रिकोणात्मक वार्ताका पक्षमा अमेरिका

नयाँदिल्ली, २७ वैशाख । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अमेरिका, चीन र भारतबीच त्रिकोणात्मक छलफल आवश्यक रहेको बताएकी छन् । बेइजिङमा छँदा आफूले चीनसँग द्विपक्षीय मात्र नभई त्रिपक्षीय सम्बन्धलाई पनि रचनात्मक बनाउने विषयमा चिनियाँ पक्षसँग छलफल गरेको जानकारी उनले दिएकी छिन् ।
तीनदिने भारत भ्रमणका क्रममा राजधानी नयाँदिल्लीमा रहेकी विदेशमन्त्री क्लिन्टनले मंगलबारयस्तो बताएकी हुन् । ‘अमेरिका, चीन र भारतबीच त्रिपक्षीय सम्बन्धको आवश्यकता भविष्यमा पनि महसुस हुनेछ । जलवायु परिवर्तन र विश्व व्यापारजस्ता महत्त्वपूर्ण विषयमा उत्पन्न विवाद समाधान गर्न यी राष्ट्रबीच सहमति आवश्यक छ,’ उनले भनिन् । एसियाली राष्ट्रले अमेरिकासँग मिलेर विवादित विषयमा चीनसँग छलफल अघि बढाउने सोचप्रति बेइजिङ सकारात्मक छैन । जापान, अमेरिका र भारतबीच हुने त्रिपक्षीय वार्ताप्रति पनि चीन सशंकित रहँदै आएको छ । एसियामा रहेका चीनका प्रतिस्पर्धी राष्ट्रसँग मिलेर वार्ता प्रक्रियामा सहभागी भई अमेरिकाले आफूलाई एक्ल्याउन खोजेको आशंका चीनले गर्दै आएको छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक भारतीय अधिकारीले विदेशमन्त्री क्लिन्टनको प्रस्तावबारे छलफल गर्न भारत तयार रहेको बताए । ‘यस विषयमा तीनै राष्ट्रबीच छलफलमार्फत निष्कर्षमा पुग्न सकिन्छ, छलफलका लागि हामी खुला छौँ,’ ती अधिकारीले भने ।
विदेशमन्त्री क्लिन्टनले मंगलबार नयाँदिल्लीमा भारतीय समकक्षी एसएम कृष्णासँग भेट गरी द्विपक्षीय एवं क्षेत्रीय विषयमा छलफल गरिन् । भेटपछि दुवैले आतंकवाद नियन्त्रणका दिशामा अझ बढी लाग्न पाकिस्तानलाई आह्वान गरे । भारतीय विदेशमन्त्री कृष्णाले भारतमा हमला गर्ने चरमपन्थीलाई न्यायको कठघरामा ल्याउन र आतंकवादविरुद्ध थप प्रतिबद्ध बन्न पाकिस्तानसँग आग्रह गरे । पाकिस्तानलाई आतंकवादी हमला गराउने भूमि बन्न नदिन उनले माग गरे ।
अमेरिकी विदेशमन्त्री क्लिन्टनले सोमबार आतंकवादविरुद्धको युद्धमा भारत र अमेरिकाको तुलनामा पाकिस्तानले कम योगदान पुर्‍याएको बताएकी थिइन् । ‘आतंकवादविरुद्धको युद्धमा पाकिस्तानले भारत अथवा अमेरिकाका भन्दा बढी मानिस गुमाएको छ । आतंकवादी हमलामा परी ३० हजारभन्दा बढी पाकिस्तानीको मृत्यु भएको छ । त्यसैले आतंकवादको सामना गर्नु पाकिस्तानको हितमा छ,’ उनले भनेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया