अर्काको भारी बोक्ने नियति बोकेर जीवनको दिनगन्ती गर्दै आएको मानिसले जब आफू कसैको ‘भाग्य विधाता’ भएको अभिनय गर्छ, त्योबेला सो व्यक्तिको वास्तविक सक्कल धोबीको कपडा बोक्ने गधाको जस्तो देखिन्छ । आफूलाई नेपाली जनताको ‘भाग्य विधाता’ जयन्तप्रसादका गधाहरूको हेर्न लायक सक्कल यही वैशाख २० गते पुष्पकमल नाटकघरमा देखियो ।
उक्त दिनमा २०६२ साल मंसिर ७ गते निर्माता कम्पनी ‘दिल्ली धाम’ले घोषणा गरेको र २०६३ साल वैशाखदेखि मञ्चन हुन सुरु गरेको ‘शान्तिप्रक्रिया’ नामक नाटकको प्रथम अध्यायको अन्तिम दृश्य देखाइँदै थियो । यो अन्तिम दृश्यलाई ०६३ वैशाखमा देखाइएको पहिलो दृश्यसँग दुरुस्त मिल्ने गरी दोस्रोपटक प्रदर्शन गरियो । दुवै दृश्यका विषयवस्तु, कलाकार र निर्देशक ठ्याक्कै पुरानै छन् ।
दुवै दृश्यको विषयवस्तु छ ‘राष्ट्रिय सहमतिको सरकार’ । मुख्य कलाकारहरू छन् मृत गिरिजाबाहेकका उनै पुष्पकमल, बाबुराम, सिटौला र अमरेश कुमार । निर्देशक छन् पुरानै बोस प्रणव मुखर्जीका प्रतिनिधि जयन्तप्रसाद । सहायक कलाकार बनेर किनारा साक्षी बसेका छन् ‘मधेसी’ नामका भारतीय कचरा (बाइ प्रोडक्ट) र एमाले जातका केही उभय लिंगीहरू । उभयलिंगीहरूले पोइ (जयन्त)को निर्देशनलाई ‘हस् हजुर’ गरेर फर्केपछि मन्त्रालयका लागि सौताको घुँडा टोक्न सुरु गरेर अहिले ‘सैद्धान्तिक राष्ट्रवाद’लाई चम्किलो बनाउन मेहनत गर्दै छन् । चारबुँदे र बिप्पालाई राष्ट्रघाती भन्दै बाबुरामको राजीनामालाई लोकतन्त्रको सिद्धान्त बनाउँदै आएका राष्ट्रवादीहरूको ङ्यारङ्यार भनेको जयन्तको भारी बोक्न नपाउँदाको झोँक मात्र रहेछ । नाटकमा आएको अन्तर यो मात्रै थियो कि यसको प्रथम दृश्य दिल्लीको कुनै भूमिगत नाटकघरमा प्रदर्शन भएको थियो भने पछिल्लो दृश्यका लागि पुष्पकमल नाटकघर चयन गरिएको थियो ।
बितेका पाँच वर्षबीचका अरू सबै विषयवस्तु प्रथम र अन्तिम दृश्यको भन्दा एकदमै विपरीत थियो, जसमा कलाकारलाई सडक गल्लीका कुकुरका बीचमा हुने टोकाटोकझैँ एकआपसमा ‘फाइट’ गर्न लगाइएको थियो र पुष्पकमल नाटकघरमा अन्तिम दृश्य मञ्चन हुनुभन्दा एक घन्टाअगाडिसम्म यिनीहरूले एकअर्कालाई ‘फिनिस’ गरिदिने हाउभाउका साथ जमेर अभिनय गर्दै थिए । एक घन्टाभित्रै भारी ‘चमत्कार’ भयो, जुन ‘चमत्कार’ कलाकारहरूले वर्षौंदेखि दाबी गर्दै आएझैँ, निर्णायक घडीमा देखापर्ने उनीहरूको ‘मौलिक’ विशेषता हो । यिनीहरूको चमत्कार मध्यरातमा मात्र हुन्छ । किनभने गधाहरूको हिँडडुल रातको समयमै बढी हुन्छ र त्यसबेला भारी अपलोड गरेको दुनियाँले देख्दैन । कलाकारहरूको यस्तो ‘चमत्कार’ निर्देशकले मुखमा अगुल्टो हान्दा बेलाबखत देखिँदै आएको हो ।
बम्बैया फिल्मी शैलीमा निर्माण गरिएको यो नाटकमा पनि कलाकारहरू (कोही नायक, कोही खलनायक र कोही जोकर) प्रारम्भमा एक ठाउँमा हुन्छन् । बीचमा ‘फाइट टु फिनिस’ गर्छन् र अन्त्यमा फेरि अँगालो हाल्छन् । कथा सकिन्छ । दर्शक हिस्स परेर उठ्छ ।
नाटकमा कलाकारहरूले गर्ने हाउभाउको तात्विक अर्थ हुँदैन । अर्थहुन्छ त्यसको विषयवस्तुले दिने सन्देशको । जयन्तप्रसादले सबै प्रकारका कलाकारलाई जम्मा गरेर २० गते केही प्रस्ट सन्देश दिएका छन् । यीमध्ये पहिलो हो– पीठ पछाडि जति ठूलो आवाजमा ‘राष्ट्रवादी’ ङ्यारङ्यार गरे पनि पुष्पकमल, बाबुराम, सिटौला र अमरेश कुमारबाहेकका व्यक्ति सहायक कलाकार मात्र हुन् । नाटकको सुरु र अन्त्यमा ‘फोकस’ गरिएकाहरू नै विषयवस्तुका केन्द्रविन्दु हुन् ।
दोस्रो सन्देश हो– नाटकको प्रारम्भमा ज–जसलाई ‘हाइलाइट’ गरिएको थियो, अहिले पनि तिनैलाई ‘हाइलाइट’ गरिएको छ । यसको मतलब हो, जेठ १४ पछि सुरु हुने दोस्रो भागका मुख्य कलाकार पनि यिनै हुनेछन् । तेस्रो हो– ‘शान्तिप्रक्रिया’ नाटकको कथा लेखन, निर्देशन र लगानी जसले गरेको छ, पात्रहरूको चयनदेखि प्रस्तुति र साजसज्जासम्मको निर्णय गर्ने पूरा हक त्यसैलाई छ । चौथो सन्देश छ– जनताका अगाडि खरो ‘राष्ट्रवादी’ देखिन रहर मान्ने रुझेका बाँकी बिरालाहरूले पनि जयन्तले दिएको निर्देशन मान्नुको विकल्प छैन । पाँचौं हो– निर्देशक जयन्तले भनेबमोजिम गरे ‘संविधान’ नामको एउटा बोक्रोसम्म आउन सक्छ, नत्र केही पनि आउँदैन भन्ने कुराको प्रमाण पुष्पकमल नाटकघरको दृश्य हो ।
जयन्तप्रसादले दिएका सन्देशहरू अक्षरश: सत्य छन् । विगत पाँच वर्षमा दिल्लीका कलाकारले गरेका यावत् क्रियाकलापलाई पुन: स्मरण गरे मात्र पनि यसबारेमा केही सोच्नु पर्दैन । यस अवधिमा, पोख्त कलाकार बनाइदिएबापत, निर्माता कम्पनीलाई नागरिकतादेखि बिप्पासम्मको गुरु दक्षिणा दिइएको छ । जमिम शाहदेखि फैजानसम्मको भोग चढाएर कुल देवतालाई प्रसन्न पारिएको छ । पञ्चेश्वर परियोजनादेखि अपरकर्णालीसम्मका जलाशय चढाएर पितालाई तृप्त गरिएको छ । ‘उहाँहरू’कै असिम क्रियाबाट कालोबजारी, मूल्यवृद्धि र तस्करीको खेल खेलेर देशलाई टन्न लुटिएको छ ।
त्यसैले कलाकारहरूले कालापानी र सुस्ताको दृश्य देखाउँदैनन् । डुँडेझारीदेखि बागमती किनारसम्मका सुकुम्बासीहरूमाथि गोली र लाठी दाग्छन् । महिनामा दुईपटक मूल्यवृद्धि गरेर गरिबको चुलो चिसो बनाउँदछन् । भूमिहीनलाई १५ हजार रुपियाँ लिएर ठाउँ छोड्न चेतावनी दिन्छन् तर एकजना जमिनदारले तीन सय विगाहा जमिन राख्न पाउने निर्णय गर्छन् । नक्कली नागरिकता लिएका भारतीयका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने आदेश जारी गर्छन् र यस्तो गैरकानुनी आदेश नमान्ने देशभक्त कर्मचारीलाई महिनैपिच्छे अड्डा सरुवा गर्छन् । नेपाली मधेसीहरूको नाम बेचेर नक्कली नागरिकता लिएका भारतीयहरूको अलग सैन्य पल्टन बनाउने प्रक्रिया अघि बढाउँछन् ।
यस्ता घटनाको सूची बनाउने हो भने हजार नाघ्छ । सूचीभित्रका प्रत्येक बुँदाहरूलाई हेरेर निष्कर्ष निकाल्ने हो भने ठोकुवा गर्न सकिन्छ कि ‘१२ बुँदे’ इतिहासको सबैभन्दा डरलाग्दो देशद्रोही अपराध हो । ‘शान्तिप्रक्रिया’को नाटक नेपालको अस्तित्व पतन गराउने षड्यन्त्रबाट निर्माण गरिएको कथा हो, जसले आफूलाई ‘नयाँ नेपाल’ निर्माण गर्ने र जनताको ‘भाग्यको फैसला’ गर्नसक्ने ‘देवदूत’ बताइरहेका छन्, तिनीहरू जयन्तप्रसादको भारी लाद्ने गधाहरू मात्र हुन् । यिनीहरूका बीचको झगडा खानपिनको मात्र हो भन्ने तथ्य जयन्तप्रसादका अगाडि सबै रूप रङका कलाकारको उपस्थितिले प्रस्ट पार्छ । जनताका बीचमा पाँच वर्षसम्म गरिएको अभिनयबाट पीठ फर्काउनका लागि ‘राष्ट्रिय सहमति’को दृश्य देखाइएको हो भन्ने कुरा प्रत्येक नेपालीले बुझेका छन् । यो दृश्य, आफ्नो नियन्त्रणबाट बाहिर गएको जनमतमाथि दमन गर्ने तयारी हो भन्नेबारेमा पनि समयमै स्पष्ट हुनुपर्छ ।
वर्षौंसम्म एकले अर्कालाई निमिट्यान्न पार्न युद्धरत रहेका विजातीय तत्त्वहरूलाई एकठाउँमा उभ्याएर दिल्लीले पाँच वर्षसम्म एकअर्कालाई खेलाउँदै र नचाउँदै जसरी नेपाललाई लुट्यो र लुटायो, जेठ १४ पछिका लागि तयार पारिएको यस्तै प्रकारको अर्को रणनीतिका लागि दिल्लीले २० गते यिनीहरूको काँधमा अर्को भारी लादिदिएको छ । देश र जनताका लागि पाँच वर्षसम्म एकपटक नजुट्नेहरू जयन्तप्रसादको इसारामा निमेषभरमै जसरी जुटे र यसलाई सावधानीपूर्वक गुपचुप राख्ने प्रयास गरे, यस्ता पात्रहरूबाट ‘शान्ति र संविधान’को आशा गर्नु भनेको अर्को चरणको द्वन्द्व पर्खेर बस्नु मात्र हो ।
प्रतिक्रिया