‘तीन दल सहमति तर्फ उन्मुख’

काठमाडौं, २६ वैशाख । संविधानका विवादित विषय र सरकारमा एमालेको सहभागिताका बारेमा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमतिका लागि केही नजिक आएको दावी गरेका छन् ।
एमाले पार्टी कार्यालय बल्खुमा आज बसेको एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल भएको एमाले नेता भीम रावलले जानकारी दिए । उनले भने, ‘राज्य पुनर्संरचना र शाकीय स्वरुपमा छलफल भएको छ, सहमतिका लागि केही नजिक नजिक पुगेका छौं ।’
स्रोतका अनुसार राज्य पुनर्संरचनामा एमाओदी नौं प्रदेशसम्म लचिलो भएको छ । उता कांग्रेसले पनि सात प्रदेशमै सहमति गर्नका लागि प्रस्ताव गरेको छ ।
शासकीय स्वरुपमा भने दलहरुका वीच मिश्रित प्रणालीमा जानका लागि अघिल्ला बैठकमा भन्दा सहमति भएको नेताहरुको दाबी छ । राष्ट्रपति र प्रधानमन्त्रीमा अधिकार बाँडफाँट गरेर शासकीय स्वरुपमा कुरा मिलाउन प्रमुख तीन दल केही लचक भएको एमाले नेता रावलको भनाई छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा सहमति जुट्नेमा नेताहरुको दाबी छ ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बावुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली, तथा कांग्रेसबाट सभापति सुशील कोइराला, अजुर्ननरसिंह केसी, रामशरण महतलगायतका नेताहरुको सहभागिता थियो ।
शीर्ष बैठक पुनः बस्दै
यसैवीच, तीन दलका वीच राज्य पुनर्संरचना र शासकीय स्वरुपका विषयमा भएको छलफलका बारेमा छलफल गर्न पुनः प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । अहिले केही समय पछि विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बस्ने नेता रावलले बताए । बैठकमा मधेसी मोर्चालाई पनि बोलाईएको छ ।

प्रतिक्रिया