संगीतमा पनि रेखा

काठमाडौं, २६ वैशाख । नायिका रेखा थापाले अभिनयमार्फत राज जमाइरहँदा नेपाली चलचित्र उद्योगमा अर्की एक रेखाको पनि प्रवेश भएको छ । तर, पछिल्लोचोटि प्रवेश गरेकी रेखाचाहिँ नायिकाका रूपमा होइन, संगीतकारका रूपमा चलचित्रमा आएकी हुन् । उनी हुन्– रेखा पौडेल । उनले संगीत दिएको चलचित्र फूल यतिखेर प्रदर्शन भइरहेको छ ।

०६५ सालमा आकृति एल्बमका दुई गीतमा पहिलोपटक संगीत भरेर उनले सांगीतिक क्षेत्रमा व्यावसायिका पाइला बढाएकी थिइन् । अनुपम र अलंकार नामक एल्बममा एकल संगीत भरेकी उनको एउटा गीत बलिउड गायिका सञ्जीवनीले पनि गाएकी छन् । अन्जु पन्त, दीपक लिम्बू, आनन्द कार्की, माण्डवी त्रिपाठी, अञ्जना गुरुङ, राजेशपायल राईजस्ता चल्तीका गायकगायिकाका लागि संगीत भरेकी रेखा एल्बमको सफलतापछि चलचित्रतिर बढेकी हुन् ।
अब चलचित्र संगीतमै स्थापित हुने सोच रहेको उनले सुनाइन् । फूलमा उनले दिएको संगीतको चर्चा अहिले बजारमा राम्रै चलिरहेको छ । चलचित्रका ए फूल र पलपलमा बोलका दुई गीत श्रोताले मन पराएका छन् । पारिवारिक माहोल नै सांगीतिक रहेको र संगीतमै भविष्य देखेर यतातिर लागेको उनले सुनाइन् ।
विभिन्न स्कुलमा संगीत प्रशिक्षकका रूपमा समेत काम गर्दै आएकी उनी ०५९ सालमा आयोजित चितवन महोत्सवमा आफ्नै संगीत र स्वरको गीत प्रथम भएपछि थप प्रेरणा मिलेको बताउँछिन् । अहिले सुगम र चलचित्र संगीतलाई एकसाथ अगाडि बढाइरहेकीे रेखा आगामी दिनमा एल्बम र चलचित्र संगीत दुवैलाई निरन्तरता दिने बताउँछिन् ।

प्रतिक्रिया